+
Search

ताजा अपडेट +

पपुलर +

३३३ सैन्य शिक्षार्थी दीक्षित

३३३ सैन्य शिक्षार्थी दीक्षित
त्रिशूली प्रवाह
९ महिना अगाडी
  •  विदुर-४ स्थित त्रिशूली ब्यारेकमा रहेको नेपाली सेनाको श्री नं. १ सैन्य तालिम केन्द्रमा १९४ पुरुष र १३९ महिला सैन्य शिक्षार्थी नौ महिनाको आधार तालिमपछि दीक्षित भए ।
    उपरथी ध्रुवप्रकाश शाहले अन्तिम दलेल कवाजको निरीक्षण गर्दै सलामी ग्रहण गर्नाका साथै नवनियुक्त सिपाहीलाई सफल सैनिक जीवनको शुभकामना दिनुभयो ।
  •  पुरुषतर्फ गुल्मीका विमल बलाल र महिलातर्फ दार्चुलाकी प्रतिमा बडाल तालिममा उत्कृष्ट भई उपरथी शाहबाट सम्मानित हुनुभयो ।
  • तालिम विसं २०८१ मङ्सिर १६ गते सुरु भई असोज २७ गते सम्पन्न भएको थियो । स्थापनायता केन्द्रले ७२,४०० सिपाही उत्पादन गरिसकेको छ ।

विदुर । नेपाली सेनाको सबैभन्दा ठुलो र पुरानो सैन्य तालिम केन्द्र विदुर-४, मैथली क्याम्प त्रिशूली ब्यारेकमा सोमबार तीन सय ३३ सैन्य शिक्षार्थी दीक्षित भएका छन् । सेनाको श्री नं. १ सैन्य तालिम केन्द्र्रमा सि.सं. ८२ सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको सैनिक तालिम महानिर्देशक उपरथी  धुव्रप्रकाश शाहले निरीक्षण गरी सलामी ग्रहण गर्नुभएको थियो ।

Utsuk Books & Stationery

सो अवसरमा उपरथी शाहले नवनियुक्त तालिमे सिपाहीलाई सम्बोधन गर्दै नौ महिनाको कठोर परिश्रम, लगनशीलता र मिहिनेतपश्चात् गौरवमय इतिहास बोकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्वच्छ छवि बनाएको नेपाली सेनाजस्तो गरिमामय संस्थाको सिपाही दर्जामा नियुक्त हुनुभएकोमा बधाई दिँदै आउँदो दिनमा सफल सैनिक जीवनको शुभकामना दिनुभयो । सैन्य आधार तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षक, अधिकृत, पदिक तथा बिल्लादार र केन्द्रका केन्द्रपतिलगायत सम्पूर्ण सक्कल दर्जालाई धन्यवादसमेत दिनुभएको छ । वि.सं. २०८१ मङ्सिर १६ गतेबाट सञ्चालन भएको तालिम असोज २७ गते सम्पन्न भएको केन्द्रपति प्रमुख सेनानी देवराज भट्टले जानकारी दिनुभयो । उहाँले बताएअनुसार तालिम पूरा गर्नेमा पुरुष सैन्य एक सय ९४ र महिला सैन्य एक सय ३९ गरी तीन सय ३३ सैन्य शिक्षार्थीमध्ये गुल्मी जिल्ला छत्रकोट-५ निवासी पिता नेत्रबहादुर बलाल र माता मीना बलालको सुपुत्र सैन्य विमल बलाल सर्वप्रथम हुनुभएको थियो भने महिला शिक्षार्थीतर्फ  दार्चुला जिल्ला महाकाली नगरपालिका-१ निवासी पिता नरेन्द्रसिंह बडाल र माता लालमतिदेवी बालकी सुपुत्री सैन्य प्रतिमा बडाल प्रथम हुनुभएको छ । उत्कृष्ट शिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथि उपरथी शाहले सम्मान गर्नुभएको थियो । सेनाको पहिलो तालिम केन्द्र मैथलीले स्थापनादेखि अहिलेसम्म ७२ हजार चार सयलाई सैन्य आधार तालिम प्रदान गरी सिपाही तयार गरिसकेको केन्द्रपति प्रसे भट्टले ‘त्रिशूली प्रवाह साप्ताहिक’लाई जानकारी दिनुभयो ।

तालिमको अन्तिम दलेल कवाज समारोहमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिका प्रमुख राजनलाल श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नेपाली सैनिक प्रतिष्ठानका शिक्षाधिकृत सहायकरथी प्रकाशबहादुर चन्द, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला सुरक्षा निकायका प्रमुखलगायत जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायी, समाजसेवी र नवनियुक्त तालिमे सिपाहीका अभिभावकको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह