धुन्चे । गृह मन्त्रालयले प्रकाशित गरेको कार्यसम्पादन सम्झौताअन्तर्गतको वार्षिक मूल्याङ्कन नतिजाअनुसार जिल्ला प्रशासन कार्यालय रसुवा ९३.४८ अङ्क प्राप्त गरी १३औँ स्थान कायम गर्न सफल भएको छ ।
मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग चालू आर्थिक वर्षको सुरुमा भएको कार्यसम्पादन मूल्याङ्कनको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले प्रकाशित गरेको कार्यसम्पादन सम्झौताअन्तर्गतको वार्षिक मूल्याङ्कन नतिजाअनुसार रसुवाको प्रदर्शन ‘सर्वोत्कृष्ट’ श्रेणीमा परेको हो । मन्त्रालयले देशभरका ७७ वटा जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा कार्यालयको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको थियो । नतिजाअनुसार शान्ति-सुरक्षा, अपराध नियन्त्रण, सुशासन तथा सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण र व्यवस्थापन, मुआब्जा वितरण, विकास-निर्माणमा समन्वय र आर्थिक प्रशासनजस्ता सूचकलाई मूल्याङ्कनको आधार बनाइएको हो । नतिजाअनुसार जिल्ला प्रशासन कार्यालय पर्वतले ९५.७१ अङ्कसहित पहिलो स्थान हासिल गरेको छ । रसुवाको यो नतिजाले जिल्लाको प्रशासनिक कार्यक्षमता, सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा निरन्तर सुधार भएको सङ्केत गरेको स्थानीय प्रशासनले जनाएको छ ।






प्रतिक्रिया