विदुर । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन सुरु गरेको छ । जेन-जी आन्दोलनको बलमा गठित पूर्वप्रधानान्यायधीश सुशीला कार्की नेतृत्व सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै आयोगले नामावली सङ्कलन पुनः सञ्चालन गरेको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगको नुवाकोट कार्यालयले नामावली सङ्कलन कार्य सुरु गरेको सूचना अधिकारी नायवसुब्बा दीपक दुलालले जानकारी दिनुभयो । उहाँले असोज १० देखि सुरु भएको यो काममा नयाँ मतदाताले उत्साहका साथ सहभागिता जनाएको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार नयाँ मतदाता नामावली दर्ताका साथै अद्यावधिक र त्रुटि सच्याउनका लागि आवेदन आएको छ । नुवाकोटमा प्रतिनिधिसभाको दुईवटा क्षेत्र रहेको छ । नुवाकोटमा प्रतिनिधिसभा निर्वाचनका लागि आगामी कात्तिक १६ गतेसम्म पुरुष एक लाख २४ हजार चार सय १६ र महिला एक लाख १५ हजार आठ सय ८३ सहित जम्मा दुई लाख ४० हजार तीन सय दुई मतदाता रहेको छ । नयाँ दर्ता गर्नेको सङ्ख्या लगभग तीन सय नाघिसकेको कार्यालयले जानकारी दिएको छ । आयोगले नामावलीका लागि विसं २०८२ कात्तिक ३० गतेसम्म समयसीमा तोकेको छ ।
सरकारले कात्तिक ३० गतेसम्मका लागि मतदाता नयाँ दर्ता एवम् अद्यावधिक खुलाएकाले सो कार्य उत्साहजनक रूपमा भइरहेको सूचना अधिकारी दुलालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भर्खर दसैँ सकिएकाले मतदाता नयाँ दर्ता एवम् अद्यावधिक गर्न आउने दैनिक बढिरहेका छन् । दसैँपछि दुई सय जनाभन्दा बढीले फोटो खिचाइसकेका छन् र दैनिक ३०-४० जना दर्ताका लागि आइरहेका छन् ।’ आफ्नो नाम दर्ता गर्न आउने नयाँ मतदातामा अधिकांश युवा रहेको उहाँले सुनाउनुभयो । सार्वजनिक बिदाको दिन र शनिबारबाहेक अरू सबै दिन बिहान आठ बजेदेखि बेलुका ६ बजेसम्म नयाँ मतदाताको फोटो खिच्ने र दर्ता गर्ने कार्यालयमा व्यवस्था गरिएको उहाँको भनाइ छ ।






प्रतिक्रिया