+
Search

ताजा अपडेट +

पपुलर +

रसुवा अस्पतालमा बिरामीको चाप

रसुवा अस्पतालमा बिरामीको चाप
त्रिशूली प्रवाह
११ महिना अगाडी

धुन्चे । गत वर्षसम्म पनि सामान्य बिरामी हँुदा रसुवावासीलाई नुवाकोटको त्रिशूली र काठमाडौँका अस्पताल रिफर गर्ने रसुवा अस्पतालमा अहिले बिरामीको भिड लाग्ने गरेको छ । अस्पतालमा अहिले दक्ष जनशक्ति र पर्याप्त स्रोत–साधनको व्यवस्था भएसँगै अस्पतालमा सेवा लिन आउनेको सङ्ख्या बढिरहेको छ । अस्पतालले दैनिक जटिल रोगका बिरामीको उपचार गर्ने भएपछि बिरामीको चाप बढ्न थालेको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

रसुवावासी नाम मात्रको अस्पताल हुँदा उपचारका लागि गाउँघरमा नै झारफुकमा विश्वास गर्थे । अस्पताल पुगेकालाई पनि अस्पतालले भर्ना गरेर उपचार गर्नुभन्दा रिफर गर्ने परिपाटीले जिल्लावासीले अस्पताललाई विश्वास गर्दैन थिए । हाल त्यो परिपाटीलाई अन्त्य गरी सीमित स्रोत–साधन र दक्ष जनशक्तिले जटिलभन्दा जटिल रोगका बिरामीको उपचार जिल्लामा नै गर्ने भएपछि झारफुकभन्दा उपचार यहीँ हुन्छ भन्ने विश्वास बढेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । हिमाली जिल्ला रसुवाको माथिल्लो भेग ठुलोभार्खु, सानोभार्खु, स्याफ्रुबेँसी, ठुलोस्याफ्रु, टिमुरे, वृद्धिम, गोल्जुङ, गत्लाङलगायतका बासिन्दाले अस्पतालमा नै राम्रो उपचार पाएपछि राहत महसुस गरेका छन् ।

अस्पतालका डाक्टर सुनीलकुमार दासका अनुसार जटिल बिरामी एकै दिनमा आठवटासम्म उपचार गरेको रेकर्ड पनि छ । उपचारमा एपेन्डिक्स, बच्चा खेर गएको र अन्य बिरामीको उपचार सफलतापूर्वक गरिएको छ । ‘विगतमा रसुवामा डाक्टर बस्दैनथे, डाक्टर भए स्रोत–साधन हुँदैन थियो र स्रोत–साधन भए डाक्टर बस्दैन थिए भन्ने मैले पनि यही अस्पतालमा आएर र अरूले कुरा गरेको सुनेको हुँ,’ डाक्टर दासले भन्नुभयो । उहाँ भन्नुहुन्छ, ‘अहिले त्यो परिपाटीको अन्त्य भई मलगायत मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अच्युत पौडेल, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारी, नर्सको उच्च निगरानी र समन्वयमा नियमित फलोअप र सीमित स्रोत–साधनबाट उपचार गरिएको छ ।’

अस्पतालको सेवाबारे ठुलोभार्खुनिवासी बिबिरानी तामाङ भन्नुहुन्छ, ‘मेरो एपेन्डिक्सको अप्रेसन यहीँ भयो र म काठमाडौँ वा त्रिशूली जान परेको भए दुःख हुने थियो, यता भएपछि खर्च कम स्वस्थ वातावरणले गर्दा रोग चाँडै निको भयो ।’ यो अस्पतालमा सामान्य बिरामीभन्दा जटिल बिरामीको उपचार हुनाले धेरै राहतको महसुस हुने विश्वास रसुवावासीले गरेका छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह