+
Search

ताजा अपडेट +

पपुलर +

गृह मन्त्रालयको मूल्याङ्कनमा जिप्रका नुवाकोट देशभरिमै तेस्रो

गृह मन्त्रालयको मूल्याङ्कनमा जिप्रका नुवाकोट देशभरिमै तेस्रो
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । गृह मन्त्रालयको वार्षिक मूल्याङ्कन प्रणालीमा नुवाकोट तेस्रो भएको छ । मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ को ७७ जिल्लाको कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै पहाडी संरचना रहेको नुवाकोट तेस्रो र पाँचथर कमजोर रहेको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले सम्बन्धित जिल्लाका प्रजिअसँग गरेको कार्यसम्पादन सम्झौताअनुसार झन्डै ८० वटा सूचकको मूल्याङ्कन प्रणालीमा कुल एक सय पूर्णाङ्कमा नुवाकोट ९५.३६८३ अङ्क प्राप्त गरी तेस्रो भएको हो । सय पूर्णाङ्कको नतिजामा नुवाकोट प्रशासनले पहिलो त्रैमासिकमा २८.६१८३, दोस्रोमा १६.७५, तेस्रोमा १८.१२५ र चौथोमा २९.८७५ अङ्क प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो । उक्त विवरणअनुसार उक्त आवमा चारवटै त्रैमासिकमा प्राप्त गरेको अङ्कका आधारमा नुवाकोट देशभरिमै कार्यसम्पादन मूल्याङ्कनमा तेस्रो भएको हो ।

प्राप्त अङ्कका आधारमा ७७ जिल्लामध्ये पर्वत जिल्ला प्रशासनले ९५.७१ अङ्क प्राप्त गरी पहिलो, भक्तपुर ९५.४६७५ अङ्क प्राप्त गरेर दोस्रो भएका छन् । हिमाली जिल्ला मनाङले ९५.२१२५ अङ्क प्राप्त गरेर चौथो तथा धनकुटा ९५.१९६ अङ्क प्राप्त गरेर पाँचौँ भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी, छैटौँमा पाल्पा, सातौँमा रूकुम (पूर्व), आठौँमा कास्की, नवौँमा चितवन र दशौँमा रामेछाप जिल्ला भएको छ । नुवाकोटको छिमेकी जिल्ला रसुवाले कार्यसम्पादन मूल्याङ्कनमा १३औँ स्थान ओगटेको छ ।

गत विसं २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्ममा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट भएका सेवा प्रवाह सुशासन, शान्तिसुरक्षा, विकास आयोजना व्यवस्थापन, विपत् व्यवस्थापन, समन्वयलगायत ८० सूचकको मूल्याङ्कन गर्दै उक्त नतिजा सार्वजनिक भएको हो । अघिल्लो आव २०८०/०८१ मा नुवाकोट ६६औँ स्थानमा रहेको थियो । नेतृत्वको कुशल व्यवस्थापन तथा सहकर्मी कर्मचारीको क्रियाशीलताको कारण उक्त नतिजा प्राप्त भएको नुवाकोटका सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंले ‘त्रिशूली प्रवाह साप्ताहिक’लाई जानकारी दिनुभयो । यसबाट आगामी दिनमा उच्च मनोबलका साथ जनतालाई सेवा प्रवाह गर्ने हौसला मिलेकोसमेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह