+
Search

ताजा अपडेट +

पपुलर +

छापटारमा शिव मन्दिर बनाइने

छापटारमा शिव मन्दिर बनाइने
सरस्वती न्यौपाने
३ हप्ता अगाडी

गेर्खु । विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले वडा नं. ११ को छापटारमा शिव मन्दिर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नगरपालिका क्षेत्र रहे पनि भौगोलिक विकटताको दूरदराज क्षेत्रमा अवस्थित छापटारनिवासी छापटारे आमा गंगाकुमारी न्यौपानेको १२औँ तिथिका अवसरमा किरियापुत्री बोलाउन पुग्नुभएका नगर प्रमुख श्रेष्ठले छापटारका बासिन्दा विकासमा पछाडि परेको देखेपछि क्रमशः आधारभूत आवश्यकता परिपूर्ति गर्ने सोचका साथ पहिलो चरणमा छापटार चौतारामा शिवको मन्दिर निर्माण गरिदिने घोषणा गर्नुभयो । स्थानीयवासीसँग छलफल गर्दै उहाँले भन्नुभयो, ‘यहाँको टड्कारो आवश्यकता परिपूर्ति गर्न उपभोक्ताको संयुक्त निवेदन नगरपालिका कार्यालयमा लिएर आउनुहोला, आवश्यक प्रक्रिया अगाडि बढाउनेछु ।’

मन्दिर निर्माणका लागि छापटारका चोकप्रसाद न्यौपाने, कृष्णप्रसाद न्यौपाने, सानुकृष्ण न्यौपानेसमेतले नगरप्रमुखसँग त्यस क्षेत्रको समस्याबारे माग प्रस्तुत गर्नुभएको थियो । गेर्खु क्षेत्रका पुरोहित होमनाथ घिमिरे, माझगेर्खुका वरिष्ठ समाजसेवी जनार्दन न्यौपाने, विदुर-१० का वडाध्यक्ष गणेश नेपाल, नर्जाका तत्कालीन वरिष्ठ समाजसेवी स्वर्गीय कुलप्रसाद खनालका ज्येष्ठ सुपुत्र उत्तम खनालसमेत सहभागी छलफल कार्यक्रममा शिव मन्दिर बनाउने प्रतिबद्धता गरिएको थियो । उहाँले गेर्खुभञ्ज्याङ, केराघारी, बेत्रावती क्षेत्रमा सडकको ट्रयाक खोले पनि प्रयोगविहीन भइरहेकोले सडक सुधार एवम् मर्मत गरी यातायात नियमित गराउन सहयोग गर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल-तिब्वत युद्धको समयमा चिनियाँ फौजले छापटार इलाका क्षेत्रमा मुकाम लिई बसेको अवस्थामा नेपाली फौजले तिनलाई परास्त गर्न सफल भएको ऐतिहासिक स्थानलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नेछु ।’

छापटारमा बँदेल तथा बाँदरले अन्नबाली नोक्सान गरेर भित्र्याउन नपाएको गुनासो स्थानीयले नगरप्रमुखलाई गरेका थिए । बाघ मात्र बस्ने गेर्खु क्षेत्रको वन-जङ्गलका पाखामा बँदेल र बाँदर बस्न थालेपछि त्यस भेकका अन्नबाली दिन प्रतिदिन ठुलो परिमाणमा नोक्सान गरेकाले नियन्त्रणका लागि सहयोगको अपेक्षा स्थानीयवासीले राखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती न्यौपाने