+
Search

ताजा अपडेट +

पपुलर +

नर्सिङ कलेज सञ्चालन गरिँदै

नर्सिङ कलेज सञ्चालन गरिँदै
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । नेपाल अस्पताल प्रालि विदुर-१, ढुङ्गे नुवाकोटले सय शय्यामा स्तरोन्नति हुँदै नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरिरहेको छ । अस्पतालले यही कात्तिक २ गते विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा उक्त जानकारी दिएको हो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष एवम् बागमती प्रदेशका पूर्वसदस्य हिरानाथ खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले नुवाकोटलाई शिक्षा-स्वास्थ्यको केन्द्र बनाउन सकिने बताउनुभयो । सरकारको मात्र शिक्षा स्वास्थ्य क्षेत्रमा लगानी अपुग भएकाले निजी क्षेत्रलाई लगानी गर्न उत्प्रेरित गर्नुपर्ने बताउनुभयो । विसं २०८१ माघदेखि विशेषज्ञ डाक्टरद्वारा आवश्यक सम्पूर्ण उपकरणसहित सञ्चालनमा रहेको अस्पताल सय शय्यामा स्तरोन्नतिको प्रक्रियामा रहेको अध्यक्ष खतिवडाले बताउनुभयो । अस्पतालले नर्सिङ कलेज सञ्चालनका लागि आवश्यक तयारी पूरा गरे यसै चालू आवमै सुरु गर्नेसमेत उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख राजनलाल श्रेष्ठ, विदुर-१ वडाध्यक्ष लेनिन रञ्जित, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलगायतले निजीस्तरबाट स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षाको अभाव पूर्ति गर्ने उद्देश्यले सञ्चालन हुने नर्सिङ कलेजलाई शुभकामना दिँदै मापदण्ड पूरा गर्न सुझाव दिनुभयो । अस्पतालका पूर्वअध्यक्ष डा. धर्मदत्त सुवेदी, राजुबाबु श्रेष्ठ र सञ्चालक हरि श्रेष्ठ, राजु अमात्यले जिल्लावासीको साथ र सहयोग भएमा नुवाकोटलाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह