+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी नाका चार महिनादेखि ठप्प

नेपाल–चीन जोड्ने बेलिब्रिज मङ्सिरभित्र सञ्चालन हुने

रसुवागढी नाका चार महिनादेखि ठप्प
शरण उत्सुक
११ महिना अगाडी

धुन्चे । रसुवागढी भन्सार नाका ठप्प भएको चार महिना पुग्न लागेको छ । नाका जोड्ने बेलिब्रिज र सडक अझै बनिसकेका छैनन् । गत असार २३ गते ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएसँगै रसुवागढी नाका रोकिएको हो । नाका सञ्चालनमा आउन पहिला ल्हेन्दे खोलामा बेलिब्रिज बनेर रसुवागढीदेखि-स्याफ्रुबेँसी जोड्ने सडक सहज हुनुपर्छ । तर, न बेलिब्रिज बनिसकेको छ, न सडक खुलिसकेको छ । बेलिब्रिज निर्माणमा संलग्न चिनियाँ अधिकारीका अनुसार अहिले नेपाल–चीन जोड्ने बेलिब्रिजको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणका क्रममा बेलिब्रिज लच्केपछि नदीका बिचमा टेवा दिनुपरेको कारण निर्माणमा थप समय लागेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

रु. १५ अर्ब राजस्व गुम
पुल नलच्केको भए तिहारअगाडि सञ्चालनमा आइसक्ने उहाँको भनाइ छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थी भन्नुहुन्छ, ‘चिनियाँ अधिकारीसँग छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न हुने र पुनः बैठक बसी सञ्चालन मिति तय हुनेछ ।’ मितेरी पुल बगाएसँगै सो नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा कम्तीमा रु. १४ देखि १५ अर्ब राजस्व गुमाउनुपरेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा मात्रै सो अवधिमा रु. १४ अर्ब राजस्व सङ्कलन भएको थियो । ‘फिल्ड’मा कार्यरत प्राविधिकका अनुसार स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डको १६ किलोमिटर राजमार्ग मर्मत तथा निर्माण भइरहे पनि पहिरो र नदी कटानका कारण अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको अवस्था छ । टिमुरे र तातोपानीबिचको पाखोमा पहिरो गइरहने तथा लिङलिङ-कागतीबारीनजिकको भिर, घट्टेखोलाको दक्षिणी भागसहित कैयौँ स्थानमा नदीले सडक कटान गर्दा सोचेअनुसार मर्मतसम्भार चाँडो हुन नसकेको सडक विभागले जनाएको छ ।

Suzuki New Bike & Scooter

गुणस्तरीय ढङ्गबाट यथाशक्य चाँडो सो सडकखण्डको निर्माण सक्न विपत् व्यवस्थापन समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद रसुवागढीस्थित बेलिब्रिज निर्माणलाई प्राथमिकता दिइरहेको छ । निर्माणमा कुनै भयावह समस्या र अवरोध नआए आगामी मङ्सिर १५ गतेभित्र यातायात सञ्चालन हुने बताइएको छ । सुरुमा चिनियाँ पक्षले बडादसैँसम्म बेलिब्रिज बनाई सञ्चालन गर्ने बताएको थियो । बाढीपहिरो र वर्षात्को कारण दसैँसम्म बेलिब्रिज निर्माण हुन नसक्दा रसुवागढी नाकाबाट हुने व्यापार-व्यवसाय ठप्प छ । दसैँपछि काम भइरहे पनि अब नाका खुल्न कठिन रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भट्टराईले बताउनुभयो । ‘पुल बनिसकेको छैन, सक्दो छिटो बनाएर हस्तान्तरण गर्ने गरी काम भइरहेको बुझिएको छ,’ उहाँले भन्नुभयो, ‘तर, समय लागिरहेको छ, नेपालतर्फको सडक पनि बनिसकेको छैन ।’ चीनबाट तयारी वस्तु सो नाका हुँदै नेपाल आउँथ्यो । दिनको करिब एक सय कन्टेनर नाकाबाट ओहोरदोहोर गर्थे । चाडबाडमा बढी खपत हुने स्याउ पनि सो नाका भएर नेपाल आउँथ्यो । सबैभन्दा धेरै विद्युतीय सवारीसाधन सोही नाकाबाट भित्र्निे गरे पनि अहिले आयात बन्द छ । चाडबाडमा अटो व्यवसायीले विभिन्न अफर राखेर नयाँ-नयाँ सवारीसाधन भित्र्याउँथे । अहिले सो नाका ठप्प हुँदा मुस्ताङको कोरलाबाट विद्युतीय गाडी र लत्ताकपडा आइरहेको छ ।

रसुवा भन्सार कार्यालयले चालू आवमा राजस्व सङ्कलनको लक्ष्य रु. ४० अर्ब १६ करोड राखेको छ । ‘अहिलेसम्म रु. १२ अर्ब राजस्व उठाउने लक्ष्य थियो, तर नाका नखुल्दा सम्भव भएन,’ भट्टराईले भन्नुभयो, ‘नयाँ आर्थिक वर्ष सुरु भएयता राजस्व सङ्कलन शून्य छ ।’ नाका ठप्प बनेपछि अहिले भन्सारका कर्मचारी कार्यालय कुरेर बसिरहेका छन् । चाडबाडका वेला अघिपछिको तुलनामा झन् बढी राजस्व उठ्थ्यो, तर यसपटक त्यस्तो वातावरण नबनेको उहाँको भनाइ छ । यता स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्म १६ किलोमिटर सडकको विभिन्न खण्डमा पहिरो गएर समस्या भएको छ । पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । असार अन्तिम सातापछि यो सडक राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । खुल्दै बन्द हुँदै गर्नाले सवारी आवागमन प्रभावित बनेको छ । भौगोलिक बनावटले गर्दा पनि तत्काल पहिरो खुलाउन समस्या हुने गरेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो ।

‘स्याफ्रुबेँसीदेखि नाकासम्म नै कात्तिक महिनाभित्रमा एकतर्फी सवारीसाधन सञ्चालन गर्ने गरी काम भइरहेको छ,’ ओझाले भन्नुभयो, ‘टिमुरेबाट रसुवागढीसम्मको खण्डमा पहिरो खसेर चट्टान मात्र छ, यो स्थानको काम सके पनि मालवाहक सवारीसाधन गुडाउन जोखिम रहेको सवारीचालकले बताइरहेका छन् ।’ केही समय पूरै सडकखण्डमा एकतर्फी यातायात सञ्चालन हुने र बन्द हुने क्रम जारी रहेको स्थानीय होटेल व्यवसायी पदम रुम्बाले बताउनुभयो । अघिपछि चाडबाडका वेला कन्टेनर र व्यवसायीको भिडभाड हुने रसुवागढी नाका अहिले सुनसान छ । बेलिब्रिज बनेपछि नाकाबाट सामान भित्रिन थाल्नेछ । बेलिब्रिज निर्माणको अन्तिम चरणमा रहेकाले मङ्सिर अन्तिमतिरदेखि नाका सञ्चालनमा आउने अपेक्षा स्थानीयवासीले गरेका छन् । माथिबाट सडक खोल्ने र तलबाट भोटेकोशीले खोतलिरहँदा एकतर्फी सडक खुले पनि मालवाहक सवारी गुडाउन जोखिम नै छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शरण उत्सुक