+
Search

ताजा अपडेट +

पपुलर +

प्लास्टिक सर्जरी शिविर कात्तिक-मङ्सिरमा

एकै स्थानमा १३ प्रकारको शल्यक्रिया हुने

प्लास्टिक सर्जरी शिविर कात्तिक-मङ्सिरमा
त्रिशूली प्रवाह
११ महिना अगाडी

विदुर । बिरामीको सुविधाका लागि नुवाकोटको एकै स्थानमा १३ प्रकारका प्लास्टिक सर्जरी हुने भएको छ । त्रिशूली अस्पतालमा हुने बृहत् प्लास्टिक सर्जरी शिविरमा १३ प्रकारको सर्जरी हुने आयोजकले जानकारी दिएको छ । विदुर नगरपालिका, त्रिशूली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा तीनदिने निःशुल्क प्लास्टिक सर्जरी शिविर हुन लागेको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

शिविरबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले बृहत् र विशेषज्ञ रूपमा आयोजित उक्त शिविर प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिविरमा प्लास्टिक सर्जरी गर्न आवश्यक भएका बिरामीलाई सुविधा लिन अनुरोधसमेत गर्नुभएको छ । शिविर यही कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म प्रत्येक दिन बिहान ८ देखि ३ बजेसम्म सञ्चालन हुने विदुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिविरमा जलन, दुर्घटना, जन्मजात विकृति तथा छालासम्बन्धी बिरामीले स्वास्थ्य सेवा लिन सक्नेछन् ।’ आयोजकसँग बिरामीले परामर्श गरेर आफूलाई चाहिएको उपचार सेवाका सम्बन्धमा शिविरअगाडि जानकारी लिन सक्नेसमेत उहाँले बताउनुभयो । आयोजकमध्येका लायन्स क्लब अफ नुवाकोट त्रिशूलीका लायन्स सेवा केन्द्रका अध्यक्ष श्रीकृष्ण रिजालका अनुसार त्रिशूली अस्पतालमा गरिने शिविरमा डा.सन्तोषविक्रम भण्डारी र डा.राजु भण्डारीसहितको विशेषज्ञ चिकित्सक टोलीले शल्यक्रियामा उपचार सेवा दिनेछ ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, विदुर नगरपालिकाका विभिन्न स्वास्थ्य इकाइका साथै अस्पतालका स्वास्थ्यकर्मीले उक्त बृहत् प्लास्टिक सर्जरी शिविरबाट भरपूर रूपमा सेवा लिन बिरामीलाई अनुरोध गर्नुभएको थियो । शिविरमा विशेषतः आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको, आगलागीबाट कपाल गुमाएका, आगोले पोलेर वा जन्मजात हातका औँला टाँसिएको, हात-खुट्टामा जन्मजात पाँचभन्दा बढी औँला भएको, ओठ वा तालु फुटेको, मांसपेशी खुम्चिएर नचल्ने अङ्ग, विस्फोटनबाट क्षतिग्रस्त भई शल्यक्रिया आवश्यक रहेको अवस्थामा पुगेका, खुट्टाको पैताला भित्र फर्किएको, काटिएको अङ्ग पुनः अप्रेसन आवश्यक परेका, कान-नाक चिरिएको समस्या, शरीरका मुसा, कोठी, दाग, गाँठाहरू, स्तन क्यान्सरसँग सम्बन्धित शल्यक्रिया आवश्यक परेका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भई खाँटे घाउ बनेका बिरामीको उपचार हुने बताइएको छ । यसका साथै स्तनको आकार मिलाउनुपर्ने तथा अर्बुदरोग उपचारपछि गुमेको स्तन पुनः बनाउनुपर्ने अवस्थाका बिरामीलाई समेत शिविरमा सेवा उपलब्ध गराइने, जटिल शल्यक्रिया गर्न आवश्यक भएका बिरामीको थप उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल पठाइने डा.सन्तोषविक्रमले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह