+
Search

ताजा अपडेट +

पपुलर +

आकाशै बाँधूँ, जल बाँधूँ, थल बाँधूँ

आकाशै बाँधूँ, जल बाँधूँ, थल बाँधूँ
त्रिशूली प्रवाह
११ महिना अगाडी

धादिङबेँसी । फेरी लगाउने परम्परा अहिले पनि गाउँघरमा कायमै छ । धार्मिक आस्थासँग जोडिएको राति फेरी लगाउने प्रचलनलाई योगी तथा गिरी समुदायले निरन्तरता दिँदै आएका छन् । फेरी लगाएमा घरको रक्षा हुने र भूतप्रेत नआउने जनविश्वास रहिआएकाले वर्षमा दुईपटक फेरी लगाइने गरिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नीलकण्ठ-१२ का ६३ वर्षीय रामनाथ योगी पनि नौ वर्षको उमेरदेखि नै फेरी लगाउने कार्यमा सक्रिय हुनुहुन्छ । उहाँले शान्ति, सुरक्षा र नकारात्मक शक्तिबाट मुक्तिको कामनासहित कात्तिक र चैतमा गाउँगाउँमा गएर फेरी लगाउँदै आउनुभएको छ । ‘फेरी लगाउने काम मानिसलाई दुष्टात्मा र खराब ग्रहदशाबाट जोगाउने तान्त्रिक विधि हो,’ योगीले भन्नुभयो । नीलकण्ठ नगरपालिकाभित्रका गाउँ र बजार क्षेत्रका बासिन्दाले अहिले पनि फोनमार्फत आफ्ना घरमा फेरी लगाइदिन आग्रह गर्ने गरेका छन् । उहाँले भन्नुभयो, ‘धार्मिक आस्थासँग जोडिएको यो परम्परालाई हामीले वर्षौँदेखि जोगाइरहेका छौँ, तर युवापुस्ताले अब यो पेसाप्रति चासो नदेखाउँदा भविष्यमा यो परम्परा हराउने डर छ ।’ ‘हाम्रो पुख्र्यौली पेसा भनेकै ‘फेरी’ लगाउने हो,’ उहाँले भन्नुभयो, ‘आफ्नो परम्परादेखि चल्दै आएको पुख्र्यौली पेसालाई संरक्षण गर्नकै लागि भए पनि वर्षको दुईपटक गाउँगाउँमा पुगेर फेरी लगाउने गरेको छु ।’ फेरी लगाउने जोगीलाई घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घिउलगायत खाद्यान्न तथा पैसासमेत दान दिने प्रचलन छ । रातको समयमा बराँठको सिङबाट बनेको यन्त्र फुकेर शङ्खध्वनिजस्तै गरेर फेरी लगाउँदै गाउँसहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा सङ्कलन गरी योगी समुदायले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । फेरी लगाउनेले आकाशै बाँधूँ, जल बाँधूँ, थल बाँधूँ भनेर मन्त्र जाप गर्छन् । मन्त्र जाप गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने स्थानीयको जनविश्वास छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह