धुन्चे । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, धुन्चेले रसुवा जिल्लाको भ्रमणमा आउने पदयात्रीलाई सावधानी र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले भीषण वर्षाका कारण जिल्लाको उच्च क्षेत्रमा हिमपात भएकाले जोखिम हुने हुँदा पदयात्रीलाई सतर्कता अपनाउन अनुरोध गरेको बताउनुभएको छ । उहाँले लाङटाङ क्षेत्रमा रहेका अग्ला पहाड, हिमाल, कुण्डलगायतले रोमाञ्चक पदयात्राको अनुभव दिलाए पनि प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै यात्रा गर्न आवश्यक भएको बताउनुभयो । निकुञ्जले प्रतिकूल मौसममा पदमार्ग चिप्लो हुने, ठाउँठाउँमा बाटो अवरुद्ध हुन सक्ने तथा उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्या देखा परेको जनाएको छ । कार्यालयले मौसममा सुधार नभएसम्म पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सावधानी अपनाएर मात्र यात्रा गर्न सूचना जारी गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष डिण्ढुज्याङबा तामाङ भन्नुहुन्छ, ‘आम आन्तरिक तथा बाह्य पर्यटकलाई सामान्य रूपमा लाङटाङ क्षेत्रलाई नलिन, यहाँको प्राकृतिक सौन्दर्य र संस्कृतिलाई नजिकबाट नियालेर हेर्नुहोस् ।’ तिब्बती भाषामा लाङ भनेको गोरु र टाङ भनेको अघाएर सुत्नु हो । यस ठाउँमा काटमार चल्दैन, काटमार गरे अनिष्ट हुन्छ । यो गुरु पद्मसम्भव र रिम्पोन्छे घुमेको ठाउँ पनि हो । त्यसैले यहाँको परम्परा छुट्टै विशिष्ट रहेको छ । यस्तो पवित्र ठाउँमा आफ्नै लापरबाहीले पनि नराम्रो बनिदिन्छ त्यसैले लाङटाङ ट्रेक हिँड्दा विनागाइड र पूर्वजानकारी लिएर मात्रै हिँड्नुपर्ने सुझाव वडाध्यक्ष तामाङको रहेको छ । यस ठाउँमा परम्परागत जीवन्त संस्कृति र आश्चर्यजनक प्राकृतिक भ्यु रहेको छ । सन् २०१७ मा न्युयोर्क टाइम्सले विश्वका घुम्नुपर्ने ५२ ठाउँमध्येमा लाङटाङलाई सूचीकृत गरेको थियो । बौद्ध दर्शन र स्थानीय तामाङ संस्कृतिले भरिपूर्ण लाङटाङको क्याङजिङ उपत्यका तीन हजार नौ सय मिटर र लाङटाङ हिमाल सात हजार दुई सय ४६ मिटरमा छन् । आठौँ शताब्दीमा बौद्ध तान्त्रिक गुरु पद्मसम्भवले अनुयायीका लागि व्यायाम र तपस्या गर्न हिमालनजिकै सात ठाउँ (बेयुल) तोकेका थिए । त्यसमध्ये लाङटाङ उपत्यका पनि एक रहेको वडाध्यक्ष तामाङले बताउनुभयो । लाङटाङ क्याङजिङ उपत्यकामा प्राचीन गुम्बा र नेपालकै पहिलो चिज कारखानासमेत छन् ।




प्रतिक्रिया