काठमाडौँ । पर्यटन तथा धार्मिक पर्यटनलाई सहयोग गर्ने गरी आराध्यदेव पशुपतिनाथ, बौँडेश्वर महादेव, दुप्चेश्वर महादेव, उत्तरगया हुँदै गोसाइँकुण्ड धामलाई जोड्ने पञ्चधाम सर्किट निर्माण गर्ने योजनामा जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । यो अभियान सञ्चालन गरिरहेको पञ्चधाम सेवा केन्द्रको प्रथम स्थापना दिवस तथा साधारणसभाको अवसरमा शनिबार टोखा नगरपालिका, विदुर नगरपालिका, दुप्चेश्वर गाउँपालिका, उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका प्रमुखले प्रतिबद्धता जनाउनुभएको हो । सो कार्यक्रममा उपस्थित हुन नसकेका विदुर नगरपालिकाका प्रमुखले लिखित प्रतिबद्धता पठाउनुभएको थियो ।
साधारणसभाको उद्घाटन टोखा नगरपालिका-१, झोरमहाँकालमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गर्नुभएको थियो । केन्द्रका अध्यक्ष रामहरि अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवम् पूर्वउपसभामुख राधिका तामाङ, बागमती प्रदेश सभा सदस्य अमन मास्के, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङलगायतले पञ्चधाम सेवा केन्द्रको पशुपतिदेखि गोसाइँकुण्डधाम जोड्ने अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्व बोकेका अनेकौँ धरोहरमध्ये आस्थाको शिखरका रूपमा रहेको सपनाको संसार रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्डधाम, भारतको गयालगायत विभिन्न धार्मिक स्थलको प्रतिस्थापित नुवाकोटको विदुर नगरपालिका र रसुवाको उत्तरगया गाउँपालिको सङ्गममा अवस्थित त्रिशूलगङ्गा, रुद्रगङ्गा र बेत्रगङ्गाको त्रिवेणी सङ्गमस्थल उत्तरगयाधाम, दोस्रो पशुपतिनाथ भनेर परिचित नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवस्थित दुप्चेश्वर महादेवधाम, प्राकृतिक सुन्दरताको अनुपम नमुना विशाल चट्टानको बिचमा रहेको गुफा र झरनाको सङ्गमस्थल काठमाडौँ जिल्लाको उत्तरी सिमाना टोखा नगरपालिकामा अवस्थित बौँडेश्वर महादेवधाम एवम् सम्पूर्ण जगत्को आस्थाको धरोहर आराध्यदेव पशुपतिनाथधाम मानव जातिमा शिवभक्तिको अति नै महत्त्वपूर्ण धाम रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । यिनै महत्त्वपूर्ण धामलाई एक-आपसमा जोड्दै यिनीहरूका महिमाको बिचमा रहेको अन्तर्तहलाई उजागर गर्ने उद्देश्यले केन्द्रले गत वर्ष २०८१ साउन महिनाबाट संस्था स्थापनाको अभियान चलाई ठुलो भूगोल समेट्ने महत्त्वाकाङ्क्षालाई चिर्दै गत वर्ष २०८१ कात्तिक १२ गते सोमबारको शुभमुहूर्तमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत् दर्ता भई तत्पश्चात् समाज कल्याण परिषद्बाट समेत औपचरिक अनुमति प्राप्त गरेको उहाँले बताउनुभयो । संस्थाको केन्द्रीय कार्यालय काठमाडौँ जिल्ला, टोखा नगरपालिका वडा नम्बर १, झोरमहाँकालमा रहेको छ भने तत्तत् धाम रहेको जिल्लामा शाखा कार्यालय रहने बताइएको छ । ऐतिहासिक सम्पदा र संस्कृतिको संरक्षण, मौलिक कला र धार्मिक पर्यटनको बृहत्तर प्रवद्र्धन गर्ने अभियानमा संस्था लागिरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । स्थापनाकालको पहिलो वार्षिक अवधिमै संस्थाले सम्पूर्ण धाममा लाग्ने विशेष मेला र पर्वका अवसर पारेर आफ्ना गतिविधि निकै प्रभावकारी ढङ्गबाट सञ्चालन गरिसकेको छ ।
राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्दै गोसाइँकुण्ड पुग्ने तीर्थालु पर्यटक स्नान गरिसकेपछि उत्तरगया बेत्रावतीमा श्राद्ध गरेर पितृ मोक्ष हुँदै दुप्चेश्वर महादेवको मन्दिरमा बेलपत्रसहित गाईको दूध अर्पण गर्दै बौँडेश्वर महादेवको गुफाभित्र भएको जलद्वारा आराध्यदेव पशुपतिनाथलाई अभिषेक सम्पन्न गरेपछि मात्र यी पाँच धामका धार्मिक यात्रा पूर्ण हुन्छ भन्ने मान्यता स्थापित गर्ने उद्देश्य केन्द्रको रहेको छ । यी धाममा आ-आफ्ना मौलिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व झल्किने गरी आश्रम, गुरुकुल र अध्ययन-अनुसन्धान केन्द्र स्थापना एवम् सञ्चालन गर्दै भविष्यमा पञ्चधाम सर्किट निर्माण गर्ने योजनामा विभिन्न तहका सरकारका साथै राज्यका अन्य निकायसँग आवश्यक समन्वय र साझेदारी गर्ने केन्द्रका महासचिव लक्ष्मणप्रसाद बिडारी बताउनुभयो ।




प्रतिक्रिया