धुन्चे । गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनको बहानामा केन्द्रीय कारागार तोडफोड गरी भागेका कैदीमध्ये नुवाकोट जिल्ला, विदुर-१३ घर भएकी एक महिला रसुवाको सदरमुकाम धुन्चेमा शनिबार साँझ पक्राउ परेकी छिन् ।
बालिका हत्याको आरोपलगायत विभिन्न कसुरमा कारागारमा आजीवन काराबासको सजाय भोग्दै आएकी २४ वर्षीया सपना तामाङलाई रसुवाको सदरमुकाम धुन्चेमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनी सदरमुकाम धुन्चे आएको खबर गाइँगुइँ सुन्नासाथ प्रहरीले निगरानी बढाएको थियो । स्थानीय युवाको सहयोगमा पक्राउ परेकी तामाङ स्थानीयको घरमा शनिबार साँझ ढोका फोरेर भित्र पस्ने क्रममा स्थानीय युवाले समाएर प्रहरीलाई खबर गरेका थिए । तत्कालै प्रहरीले उनलाई समाएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो । फरार भनिएकी तामाङलाई विसं २०७७ मा बालिकाको हत्या, चोरीलगायत मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरी जेल चलान गरिएको थियो । उनी त्यतिखेर नाबालिक भएका कारण अदालतले अब आइन्दा यस्तो गल्ती नगर्न भनेर रिहा गरेको थियो । पटक/पटक हत्यालगायतका अन्य गतिविधि दोहो¥याएपछि पुनः पक्राउ गरी उनलाई अदालतको आदेशअनुसार आजीवन कारागारका लागि केन्द्रीय कारागार काठमाडौँ पठाइएको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।




प्रतिक्रिया