– नारायणी पाउरोटी उद्योग ३२ वर्षअघिको सानो लगानी र परम्परागत प्रविधिबाट सुरु भई आज करोडौँको लगानीसहित आधुनिक बेकरी र रोजगारीको स्रोत बनेको छ ।
– भूकम्प र कोभिड महामारीजस्ता चुनौतीहरूका बाबजुद उद्योगले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै निरन्तर सेवा र उत्पादनलाई कायम राख्यो ।
– आधुनिक उपकरण र प्रविधिको प्रयोगसहित गुणस्तरीय उत्पादन र दक्ष व्यवस्थापनमार्फत व्यवसायलाई नयाँ उचाइमा पुर्याइएको छ ।
– युवा पुस्ताको सहभागितासँगै नारायणी बेकरी क्याफे र नारायणी बारजस्ता नयाँ शाखा सञ्चालनमा ल्याई ग्राहकअनुकूल सेवा विस्तार गरिएको छ ।
– पानी उद्योग स्थापना, विपत्मा खाद्य तथा पानी आपूर्ति र डिजिटल मार्केटिङजस्ता प्रयासले नारायणीलाई सामाजिक, व्यावसायिक र सांस्कृतिक रूपमा उदाहरणीय बनाएको छ ।
३२ वर्षअघि नुवाकोटको हरियाली गाउँका गल्लीमा एउटा साइकल गुड्थ्यो, जसको पछाडि टोकरीमा तातो पाउरोटी हुन्थ्यो र मुस्कान थियो मिठो । यहीँबाट सुरु भयो श्री नारायणी पाउरोटी उद्योगको यात्रा, जसलाई कृष्ण (खिल) बहादुर अधिकारीले निरन्तरता र लगनका साथ तीन दशकभन्दा बढी समयदेखि अगाडि बढाउँदै आउनुभएको छ । सुरुमा केवल रु. ६० हजार लगानी र तीनजनाको सहयोगमा काठको चुलोमा हातले पाउरोटी बनाउने कार्यबाट थालनी भएको यो उद्योग, आज करोडौँको लगानीसहित ३० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने प्रमुख उद्योग बनिसकेको छ । पहिले औजार नहुने, पसल सामान्य हुने र कुनै ब्रान्ड नहुने अवस्थामा पनि कृष्ण दाइको श्रम, इमान र स्वादप्रतिको विश्वासले नारायणीलाई नुवाकोट, रसुवा, धादिङसम्म चिनाएको छ ।
वि.सं. २०५० मा सुरु भएको यो उद्योगको यात्रा सजिलो थिएन । भूकम्पले खासै प्रभाव नपारे पनि कोभिड महामारीले व्यवसायलाई ठुलो असर पुर्यायो । एक हजार किलो मैदाबाट दैनिक पाउरोटी बनाउने उद्योगले कोभिडपछि उत्पादन घटाएर चार सय किलोमै सीमित गर्नुपर्यो । त्यसवेला ५० जनाको रोजगारी घटेर ३० मा सीमित भयो । कृष्ण दाइको सेवाभाव कहिल्यै घटेन । भूकम्पपछिको राहतमा खाद्य आपूर्ति गरेर, विपत्को समयमा व्यवसायभन्दा अघि समुदायलाई राखेर, नारायणीले सामाजिक उत्तरदायित्वमा आफुलाई प्रमाणित गर्यो । भूकम्पपछि उद्योगमा आधुनिक उपकरण थपियो, जसले उत्पादन क्षमता मात्र होइन, गुणस्तर र कर्मचारीको आत्मबल पनि बढायो । परम्परागत स्वादलाई आधुनिक प्रविधिसँग मिलाउँदै, नारायणीले नयाँ मोड लिन थाल्यो । उहाँका छोरा सुसन अधिकारी विदेशबाट फर्किएपछि नयाँ सोच र प्रविधिसहित नारायणीमा सक्रिय भए । युवा पुस्ताको व्यवस्थापन शैली, डिजिटल मार्केटिङ, ग्राहककेन्द्रित सोचले नारायणीलाई ब्रान्डको रूपमा स्थापित गर्यो । त्यही सोचले जन्म दियो– नारायणी बेकरी क्याफे । यहाँ पिज्जा, ब्रेड रोल्स, क्रोसन्ट, केक, स्यान्डविचजस्ता ताजा बेकरी आइटम आधुनिक ओभनमा पकाएर आकर्षक वातावरणमा तयार पारिन्छ । सफा, पारिवारिक शैलीको क्याफेले सबै उमेर समूहका ग्राहकलाई नयाँ अनुभव दिन्छ । क्याफे व्यवस्थापनमा साप्ताहिक कार्यतालिका, स्टक व्यवस्थापन, ग्राहक प्रतिक्रिया र पिओएस सिस्टम प्रयोग गरिन्छ, जसले पारदर्शिता र दक्षता बढाएको छ । दोस्रो क्याफे पनि विदुर–४, बट्टार हावाघरमा खोल्ने तयारी भइरहेको छ ।
सन् २०७५ मा नारायणी शुद्ध पानी उद्योग स्थापना भई जनस्वास्थ्यप्रति समर्पित भएर सञ्चालनमा आयो । कोभिडको समयमा पनि यसले निरन्तर सेवा दिँदै पानी र खाद्य आपूर्तिमा अग्रपङ्क्तिमा रहेर उदाहरणीय काम गर्यो । यसबाहेक, युवापुस्ताको रुचिलाई ध्यानमा राख्दै नारायणी बार स्थापना गरिएको छ, जहाँ गुणस्तरीय पेयपदार्थ आधुनिक शैलीमा उपलब्ध छन् । आज नारायणी ब्रान्डले आफुलाईनयाँ लोगो, प्याकेजिङ, अनलाइन र डिजिटल मार्केटिङमार्फत प्रस्तुत गर्दै आएको छ । परम्परागत मूल्य र आधुनिक दृष्टिकोणको समायोजनले नारायणी पाउरोटी उद्योग नुवाकोटको मात्र नभई, नेपालकै एक प्रेरणादायी उद्यम बनिसकेको छ– जहाँ स्वाद, सेवा र संस्कृतिको मिठास मिसिएको छ ।
नारायणी बेकरी बट्टारमा
विगत ३२ वर्षदेखि सञ्चालित नारायणी बेकरीले गत हप्तादेखि बट्टारमा शाखा खोलेको छ । नुवाकोटको बट्टार शाखामा बेकरीका सबै परिकारका साथ क्याफेसहित रेस्टुरेन्ट एन्ड बार रहेको सञ्चालक खिलबहादुर अधिकारीले जानकारी दिनुभयो । सञ्चालक अधिकारीकी ९३ वर्षीया आमा देवमायाले गमलामा पानी सिञ्चित गरेर उद्घाटन गरेको सो कार्यक्रममा कम्पनीको विकासमा अहोरात्र खटिरहेका सकिल मियाँ, वासु खड्का, टेकबहादुर रुचाल मगर, श्रीकृष्ण लामिछाने, विपलाल श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको प्रबन्ध–निर्देशक सुशान अधिकारीले बताउनुभयो ।
सो अवसरमा कम्पनी स्थापनादेखि हालसम्म सल्लाह, सुझावसहित हौसला दिँदै आउनुभएका शुक्रमान श्रेष्ठ र वीरबहादुर अधिकारी तथा कम्पनीको स्थापनादेखि २५ वर्षसम्म निरन्तर सेवा गरी निवृत्त पूर्वकर्मचारी सोमबहादुर माझीलाई सो अवसरमा रु. ५० हजारसहित सम्मान गरिएको थियो । बेकरी, मिनरल वाटर उत्पादन गरेको नारायणी ग्रुपले विदुर– ९ कोलनी अस्पताल चोकमा बेकरी सोरुमसहित क्याफे एन्ड रेस्टुरेन्ट सञ्चालनमा गरेको छ ।
प्रतिक्रिया