+
Search

ताजा अपडेट +

पपुलर +

खडेरी र वर्षाले धान उब्जनीमा ह्रास

खडेरी र वर्षाले धान उब्जनीमा ह्रास
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

यस वर्ष खडेरीका कारण नेपालको मुख्य खाद्यबाली धानमा ठुलो क्षति भएको छ । धान रोप्ने वेला लामो समयसम्म खडेरी र उत्पादन भित्र्याउने वेलाको वर्षा र बाढीपहिरोले यस वर्ष धान उत्पादनमा नसोचेको ह्रास आउने प्रारम्भिक तथ्याङ्क कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको छ । असोज र कात्तिकको वर्षाका कारण यस वर्ष धान पसाउने र भित्र्याउने वेला क्षति भएको छ ।

नेपालका सबैभन्दा बढी धान फल्ने जिल्ला झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी क्षति भएको छ । साथै पहाडी जिल्लामा पनि वर्षाले धानबालीमा उल्लेख्य क्षति पु¥याएको छ । अन्न भण्डार मधेश प्रदेशमा असोजको बाढीले मात्र रु. दुई अर्ब ६२ करोडभन्दा बढी मूल्यबराबरको २६ हजार नौ सय ६७ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । धान रोप्ने समयमा वर्षा नहुँदा समस्या झेलेका किसान भित्र्याउने समयमा झरी, बाढी र डुबानबाट पीडित बने । मधेशमा गत वर्षभन्दा ११ प्रतिशत कम खेतमा मात्रै रोपाइँ भएको थियो । कृषि विकास निर्देशनालयका अनुसार मधेशमा धानखेतीयोग्य तीन लाख ७० हजार हेक्टर क्षेत्रफलमध्ये यस वर्ष तीन लाख २९ हजार सात सय २५ हेक्टरमा मात्रै रोपाइँ भएको थियो । सिँचाइ अभावमा करिब ११ प्रतिशत खेत बाँझो रह्यो । भित्र्याउन वेलामा भएको बेमौसमी वर्षाले हजारौँ टन धानबाली नष्ट भएको छ । असारको खडेरी, असोजको वर्षा र कात्तिकमा आएको मोन्था चक्रवातका कारण नेपालमा धानबालीको उत्पादनमा नराम्रो असर परेको छ । सोका कारण गत वर्षका तुलनामा यस वर्ष धान उत्पादनमा करिब पाँचदेखि सात प्रतिशत अर्थात् आठ मेट्रिक टनले कमी आउने अनुमान गरिएको छ ।

कृषि मन्त्रालयका सहप्रवक्ता महानन्द जोशीका अनुसार गत वर्ष विगत वर्षभन्दा बढी धान उत्पादन भएको थियो । गत वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भयो । यस वर्ष पनि खडेरी र वर्षाका कारण उत्पादन घट्ने अनुमान गरिएको छ । खडेरीका कारण ढिलो रोपाइँ हुँदा देशभर ९४.९ प्रतिशत क्षेत्र अर्थात् १३ लाख ७६ हजार ४६६.९८ हेक्टर खेतीयोग्य जमिनमध्ये १३ लाख ६ हजार २९३ हेक्टरमा मात्र रोपाइँ भएको थियो । रोपाइँका समयमा किसानले रासायनिक मलको अभाव पनि झेले । धानबाली विज्ञ डा. रामवरण यादवले गत वर्षभन्दा २५ प्रतिशतसम्म धान उत्पादन घट्न सक्ने बताउनुभयो । उहाँले भनेअनुसार सुरुमा खडेरी र पछि अत्यधिक वर्षाका कारण यस वर्ष धान उत्पादनमा ठुलो ह्रास आउने देखिन्छ ।

मधेशसहित देशका अधिकांश क्षेत्रमा पाकेको धानबालीमा क्षति पुगेसँगै यस वर्ष धान र चामलको आयात बढ्ने देखिएको छ । गत वर्ष बर्खे र चैते गरी कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यसको अघिल्लो वर्ष ५७ लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष हालसम्मकै सर्वाधिक धेरै धान उत्पादन भएको थियो । नेपालमा हालका लागि करिब ६२ लाख मेट्रिक टन धानचामल चाहिने अनुमान छ । गत वर्ष रु.४० अर्ब १८ करोड ९७ लाख १५ हजारको धानचामल आयात गरिएको थियो । सोमध्ये रु.१८ अर्ब ६६ करोडको चामल मात्रै आयात गरिएको थियो । चालू आवको तीन महिनामा नेपालले रु. सात अर्ब ९७ करोड ४९ लाख ६ हजारबराबरको धानचामल आयात गरिसकेको छ । आयात दर यस वर्ष झन् बढ्ने बताइएको छ । विज्ञले भनेअनुसार यस वर्ष १५-१६ लाख मेट्रिक टन धान तथा चामल आयात गर्नुपर्ने हुन सक्छ । गत वर्ष भारतले चामल र धान निर्यातमा सहुलियत दिएकाले धेरै आयात भए पनि अब आयात बढ्न सक्नेछैन किनकि धेरैजसो व्यापारीसँग गत वर्षकै चामल मौज्दात छ । मनसुन बाहिरिने समय असोजमा भएको वर्षाले रु.साढे तीन अर्बभन्दा बढीको क्षति भएको तथ्याङ्क मन्त्रालयले सङ्कलन गरेको छ । बाली उठाउने वेला कात्तिक १३, १४ र १५ मा परेको पानीले पाकेको धानबालीमा क्षति पुगेको र काटेको धान भिजाएर नष्ट हुँदा देशको समग्र उत्पादनमा ह्रास आउनेछ । यस वर्ष मौसम अनुमान महाशाखाले गरेको अनुमान धान रोप्ने समयमा असफल भए पनि भित्र्याउने समयमा शतप्रतिशत सफल देखियो । तीनै तहका सरकारले कृषिमा हुने ठुलो क्षतिलाई कम गर्न समयमै योजना बनाएर किसानलाई प्रोत्साहन, राहत र क्षतिपूर्तिको प्रत्याभूति गराउनु आवश्यक छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह