+
Search

ताजा अपडेट +

पपुलर +

सभा, र्‍याली गर्न प्रशासनको अनुमति चाहिने

सभा, र्‍याली गर्न प्रशासनको अनुमति चाहिने
त्रिशूली प्रवाह
११ महिना अगाडी

धादिङबेँसी । धादिङ जिल्लाभित्र सार्वजनिक रूपमा आयोजना हुने र्‍याली, प्रदर्शन, सभालगायतका कार्यक्रम गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

जिल्लाको शान्तिसुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले गृह मन्त्रालयको निर्देशनअनुसार अनुमति प्रणाली लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेका अनुसार कुनै पनि व्यक्ति वा संस्था र्‍याली, सभा वा प्रदर्शन गर्न इच्छुक भए तोकिएको ढाँचामा निवेदन दिई प्रशासनको स्वीकृति प्राप्त गरेपछि मात्रै कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । प्रशासनले कार्यक्रम शान्तिपूर्ण र अहिंसात्मक हुनुपर्ने, सार्वजनिक शान्ति, सुव्यवस्था र नागरिक अधिकारमा बाधा नपुग्ने गरी सञ्चालन गर्नुपर्ने, सार्वजनिक यातायात वा आवागमनमा अवरोध सिर्जना गर्न नपाइने, भड्काउने वा उत्तेजनात्मक अभिव्यक्ति नदिनुपर्नेलगायतका सर्त तोकेको छ । त्यस्तै नाबालक, विद्यालय पोसाकमा रहेका विद्यार्थी र विदेशी नागरिकलाई कार्यक्रममा सहभागी गराउन नपाइने, हातहतियार वा विस्फोटक पदार्थको प्रदर्शन एवम् प्रयोग गर्न नपाइने, राष्ट्रिय झन्डाको दुरुपयोग गर्न नपाइने र सार्वजनिक वा निजी सम्पत्तिमा क्षति भए आयोजक स्वयम् जिम्मेवार हुने व्यवस्था गरिएको छ । कार्यक्रम आयोजना गर्नुभन्दा कम्तीमा तीन दिनअघि जिल्ला प्रशासनमा निवेदन पेस गर्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारीले तोकेको वा स्वीकृत स्थानमै मात्र कार्यक्रम गर्न पाइने बताइएको छ । निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न अनुमति नहुने प्रशासनले स्पष्ट पारेको छ । प्रशासन कार्यालयले सबै नागरिक, सङ्घ-संस्था र राजनीतिक दललाई तोकिएका कानुनी व्यवस्था र सर्तको पूर्ण पालना गर्न आग्रह गर्दै जिल्लाको शान्तिसुरक्षामा सहयोग पुर्याउन अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह