- विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको दसौँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा नयाँ नेतृत्व चयन गरिनेछ ।
- राजनीतिक दल, सल्लाहकार, पूर्वअध्यक्ष तथा सरोकार पक्ष सबैले निर्वाचनभन्दा सर्वसम्मत नेतृत्व चयन गर्ने पहल गर्न सहमति जनाएका छन् ।
- संस्थाले उपभोक्तालाई मङ्सिर ३० गतेसम्म पानी महसुलको बक्यौता तिर्न, सदस्यता नवीकरण गर्न, धारा नामसारी गर्न र सदस्यता परिचयपत्र लिन आग्रह गरेको छ ।
- हाल संस्थाले करिब २५ हजार नगरवासीलाई पानी वितरण गरिरहेको छ । शुल्क रु.तीन सयबाट घटाएर रु.दुई सय ५० गरिएको छ र न्यूनतम १० युनिट निःशुल्क पानी वितरण गर्ने तयारी छ ।
- सर्वसम्मत नेतृत्व चयनमा सफलता नपाए मङ्सिर ९ देखि निर्वाचन प्रक्रिया सुरु हुनेछ र १३ गते मतदान हुने तालिका तय गरिएको छ ।
विदुर । सदरमुकामसहित विदुर नगरपालिकाका सात वडाका चार हजार आठ सय घरधुरीमा पानी वितरण गरिरहेको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको दसौँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन यही मङ्सिर ८ देखि १३ गतेसम्म हुने भएको छ । नयाँ नेतृत्व चयन गर्ने अधिवेशन भएकाले राजनीतिक दलदेखि उपभोक्ता सबैको ध्यान नेतृत्व चयनतर्फ गएको छ ।
अधिवेशनको तयारीमा जुटिरहेको संस्थाका पदाधिकारी, कार्यसमितिसहित सल्लाहकार, राजनीतिक दल र अन्य सरोकारवालासँग छलफल र बैठकमा केन्द्रित भइरहेको नागरिक समाजका अध्यक्ष बद्रीप्रसाद तिवारीले बताउनुभयो । विषम परिस्थिति रहेकाले निर्वाचन गरेर जानुभन्दा सबैको प्रतिनिधित्व हुने गरी कार्यसमिति सर्वसम्मत चयनका लागि पहल गर्न सबैले सुझाव दिएको अध्यक्ष सञ्जीव श्रेष्ठले बताउनुभयो । अन्य क्षेत्रमा जस्तो खानेपानीमा राजनीति नगर्ने प्रतिबद्धतासहित राजनीतिक दलका प्रतिनिधिले सबैको प्रतिनिधित्व हुने गरी मिलाएर अब नेतृत्व सर्वसम्मत चयनका लागि सहयोग गर्ने बताएका छन् । संस्थाका सल्लाहकार, पूर्वअध्यक्ष एवम् पदाधिकारीहरूले पनि अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिँदै पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको संस्थाका सचिव राजेन्द्र पाण्डेले बताउनुभयो ।
उपभोक्ताहरूलाई आ-आफ्नो पानी महसुलको बक्यौता रकम तिर्न संस्थाले आग्रह गरेको छ । साधारणसभा र अधिवेशनमा सहभागी हुनलाई सदस्यता नवीकरण गर्न र नियमअनुसार धाराको नामसारी गर्न संस्थाले उपभोक्तासमक्ष आह्वान गरेको छ । उपभोक्ता सदस्यता परिचयपत्रका लागि हालसालै खिचिएको फोटो एक प्रति उपलब्ध गराएर परिचयपत्र लिन पनि संस्थाले उपभोक्ता सदस्यहरूलाई आग्रह गरेको छ । यही कात्तिक ३० गतेसम्म महसुलको बक्यौता तिर्न, सदस्यता नवीकरण गर्न, धारा नामसारी गर्न र परिचयपत्र लिनलाई संस्थाका सचिव पाण्डेले आग्रह गर्नुभएको छ । अध्यक्ष श्रेष्ठका अनुसार २५ हजारभन्दा बढी नगरवासीले संस्थाले उपलब्ध गराएको खानेपानीको उपभोग गरिरहेका छन् । नगरपालिकासँग सहकार्य गरेर उपभोक्तालाई न्यूनतम १० युनिटसम्मको खानेपानी निःशुल्क उपलब्ध गराउन संस्था तयार रहे पनि नगरपालिका तयार नरहेको गुनासो अध्यक्ष श्रेष्ठले गर्नुभएको छ ।
‘निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवारले आ-आफ्नो घोषणापत्रमा खानेपानी र प्रयोग हुने बिजुलीलाई निःशुल्क गराउने भनेर तयार पार्नुहुन्छ । तर, निर्वाचनपछि कार्यान्वयनमा आउँदैन,’ गत हप्ता आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनमा न्यूनतम युनिट खानेपानी निःशुल्क हुनेछ भन्ने आस राखेको छु । गत भदौ महिनादेखि खानेपानी शुल्क घटाएर तीन सयबाट दुई सय ५० मा झारेका छौँ ।’ संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न प्रयास गरिने र प्रयास सफल नभए मङ्सिर ९ देखि निर्वाचनको प्रक्रियामा जाने कार्यतालिका रहेको छ । मङ्सिर १३ गते निर्वाचनको मिति तय भएको संस्थाले जनाएको छ । संस्थालाई शुद्ध सामाजिक संस्था बनाउन सबै सरोकारवाला निकाय जिम्मेवार भएर सर्वसम्मतमार्पmत नयाँ नेतृत्व चयन हुनु आवश्यक रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।




प्रतिक्रिया