- सरकारी कार्यालयको वार्षिक कामको प्रगति प्रस्तुत गरिएको भए पनि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक सुधार आयोजनाको कार्यप्रगति प्रस्तुत हुन नसकेको गुनासो
- विपद्को समस्या समयमै समाधानका लागि विपद् व्यवस्थापन समितिको बैठकमा बोलाउँदा जिल्ला बाहिर रहेका सरकारी कार्यालयका प्रमुख अनुपस्थित
- चिलिमे जलविद्युत् केन्द्रले जिल्लालाई प्रदान गर्ने रोयल्टी शुल्कबाट कुनै प्रतिफल नपाइएको
- नेविप्राबाट निर्मित थाम्बुचेत-काठमाडौँ राष्ट्रिय प्रसारण विद्युत् लाइन निर्माण गर्दा टावर वरपर उत्खनन गरी दायाँबायाँका ग्रामीण बस्ती जोखिममा पारी लथालिङ्ग छाडिएको
- स्याफ्रुबेँसी पारि गन्धक भिरमा सुख्खा पहिरो आएका कारण नदी थुनिएको
- नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, उत्तरगया गापाका छैटौँ अधिकृतस्तरका कर्मचारी रामकृष्ण न्यौपाने, नौकुण्ड-४ का सचिव छैटौँ तहका पूर्णबहादुर बुलुन, आमाछोदिङ्मो-३ का वडा सचिव छोवाङ्दोर्जे तामाङ र जिल्ला समन्वय समितिका कार्यालय सहयोगीस्तरका जयराम देवकोटा, गोसाईँकुण्ड-६ कार्यालयमा कार्यरत नुर्पु घले सम्मानित
- संस्थातर्फ सम्मानित हुनेमा २० मेगावाटको चिलिमे जलविद्युत् केन्द्र र १४ दशमलव तिन मेगावाटको माथिल्लो मैलुङ जलविद्युत् केन्द्र
- सभामा हाल जिल्लामा सञ्चालित इभी माइक्रो बसले सरकारले तोकेको भन्दा दोब्बर भाडा असुलेको भन्दै विरोध
धुन्चे । ग्रामीण क्षेत्रका नागरिकलाई बामती प्रदेश सरकारले रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । जिल्ला समन्वय समिति रसुवाले यही मङ्सिर १ गते आयोजना गरेको दशौँ जिल्लासभालाई सम्बोधन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले ‘एक घर, दुई भैंसी’ खरिदका लागि सरकारले निब्र्याजी रकम उपलब्ध गराउने जनाउनुभयो ।
मिल्क डेरी खोल्न तथा दाना र मलखादको व्यवस्थापन गर्नेसमेतका लागि प्रदेश सरकारले कार्ययोजना बनाई पूर्वाधार तयारका लागि निब्र्याजी रकम उपलब्ध गराउनेसमेत जानकारी उहाँले दिनुभयो ।
विभिन्न विषयगत कार्यालयबाट जिल्लासभामा प्रस्तुत भएका कार्यप्रगति स्पष्ट नभएकाले जनताले बुझ्नेगरी सरल भाषामा प्रस्तुत गर्न कार्यालय प्रमुखसँग अनुरोध गर्दै उहाँले यस्ता किसिमका तालिम आवश्यक परेमा प्रदेश सरकारले तालिम दिई लोकसेवा आयोगको परीक्षासमेत उत्तीर्ण कर्मचारीको क्षमता अभिवृद्धि गराउन सकिने बताउनुभयो ।
सभामा जिल्लाका सबै सरकारी कार्यालयको वार्षिक कामको प्रगति प्रस्तुत गरिए पनि राष्ट्रिय गौरवको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक सुधार आयोजनाको कार्यप्रगति प्रस्तुत हुन नसक्दा आलोचनासमेत भएको थियो । चीनसँग जोडिएको अन्तरराष्ट्रिय नाका भएका कारण सडकको कार्यप्रगति प्रस्तुत हुनुपर्नेमा सहभागीले जोड दिएका थिए । हाल जिल्लामा सञ्चालित विद्युतीय माइक्रोबसले सरकारले तोकेको भन्दा बढी भाडा असुलेको भन्दै विरोध जनाउँदै यातायात कार्यालयले तोकेको भाडा रू चारसय कायम हुनुपर्ने माग पनि गरिएको थियो ।
चिलिमेको रोयल्टी खोज्न माग
कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले रसुवाको विकासमा समन्वयात्मक भूमिका निर्वाह गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्लामा बाढिपहिरो जस्ता विपद् समय समयमा आइरहने तर समयमै समाधानका लागि विपद् व्यवस्थापन समितिका बैठकमा बोलाउँदा जिल्ला बाहिर रहेका सरकारी कार्यालयका प्रमुख अनुपस्थित रहने गरेको गुनासो व्यक्त गर्नुभयो । जिसस नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले सीमा क्षेत्रमा गरिने विकास समन्वयात्मक तवरले अगाडि बढाउनाका साथै रसुवा र नुवाकोटको विकासमा हातेमालो गर्नुपर्नेमा जोड दिँदै जनताबाट छानिएका योजनानुरूप अगाडि बढ्न सुझाव दिनुभयो ।
नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङले चिलिमे जलविद्युत् केन्द्रले जिल्लालाई प्रदान गर्ने रोयल्टीबाट कुनै प्रतिफल नपाइएकाले सो रकम खोजी गरी प्रभावित बासिन्दामाझ ल्याउन, पर्यटन प्रवद्र्धनका कार्य अगाडि बढाउन र रसुवागढी नाका व्यवस्थित र मर्यादित बनाउन आग्रह गर्नुभयो । नेकपा (एमाले) का पूर्वजिल्लाध्यक्ष कर्णेल लामाले ल्हेन्दे खोलामा गत आसार २४ र साउन १४ गते आएको बाढीले स्याफ्रुबेँसीको नदी तटीय क्षेत्रमा असर परेको र केही दिनअघि स्याफ्रुबेँसी पारि गन्धक भिरमा सुख्खा पहिरो आएका कारण नदी थुनिएको र ठुल्ठुला ढुङ्गा बसेकाले फुटाई पानीको धार साबिक स्थानमै लान जरूरी भएको बताउनुभयो । उहाँले स्याफ्रुबेँसीको जोखिम बस्ती सुरक्षाका लागि तटबन्धको काम छिटो अगाडि बढाइदिन आग्रह गर्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि पुष्पराज न्यौपानेले समग्र रसुवाली जनताको हितमा टड्कारो आवश्यकता परिपूर्ति गर्ने र जेनजीका मागसमेत समावेश भएको कार्यक्रम ल्याउन सुझाव दिनुभयो । रसुवाका पाँच गाउँपालिकाका तर्फबाट गोसाईँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तमाङले पर्यटन प्रवद्र्धन, गुम्बा व्यवस्थापन, खानेपानी निर्माण, ग्रामीण सडक सुधार, वातावरण संरक्षण, भूक्षय नियन्त्रण, ज्येष्ठ नागरिकलाई चिकित्सकको सिफारिसअनुरूपको निःशुल्क औषधि वितरण जस्ता कार्यक्रम सञ्चालन गरी स्थानीय सरकारले समुन्नत रसुवा निर्माणमा योगदान पुर्याइरहेको जिकिर गर्नुभयो । उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङले नेपाल विद्युत् प्राधिकरणबाट निर्मित थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारणको विद्युत् लाइन निर्माण गर्दा टावर वरपर उत्खनन गरी दायाँबायाँका ग्रामीण बस्ती जोखिममा पारी लथालिङ्ग छाडिएको बारे ध्यानाकर्षण गराउनुभयो ।
सभामा जिल्लामा राम्रो काम गर्ने १० व्यक्ति/संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, उत्तरगया गापाका कर्मचारी रामकृष्ण न्यौपाने, नौकुण्ड-४ का सचिव पूर्णबहादुर बुलुन, आमाछोदिङ्मो-३ का वडा सचिव छोवाङ्दोर्जे तामाङ तथा जिल्ला समन्वय समितिका कर्मचारी जयराम देवकोटा र गोसाईँकुण्ड-६ का कर्मचारी नुर्पु घले हुनुहुन्छ । संस्थातर्फ सम्मानित हुनेमा चिलिमे जलविद्युत् केन्द्र र माथिल्लो मैलुङ जलविद्युत् केन्द्र छन् । यातायात भाडा समुचित कायम गराइने आशा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले व्यक्त गर्नुभयो हाल काठमाडौँ-धुन्चेको भाडा रु आठ सय असुलिएको छ ।




प्रतिक्रिया