+
Search

ताजा अपडेट +

पपुलर +

बट्टारमा प्याब्सन शिक्षा मन्दिर निर्माण

बट्टारमा प्याब्सन शिक्षा मन्दिर निर्माण
त्रिशूली प्रवाह
१० घण्टा अगाडी

बट्टार । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको नवनिर्मित भवन (प्याब्सन शिक्षा मन्दिर)को आइतबार उद्घाटन भएको छ । सो भवनको उद्घाटन प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीबाट विशेष समारोहबिच भयो । विदुर–४ बट्टार, बसपार्कस्थित ६ आना जग्गामा निर्मित उक्त भवन निर्माणमा करिब रु. ७५ लाख खर्च भएको र त्यसको व्यवस्थापन सदस्य विद्यालय, विभिन्न सहयोगी सङ्घसंस्था (पुस्तक प्रकाशन गृह)को आर्थिक सहयोग रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रममा २०८१ सालमा एसइई परीक्षामा जिल्लामै उत्कृष्टसहित शतप्रतिशत नतिजा प्राप्त गर्दै नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल प्रथम, नर्थ स्टार बोर्डिङ स्कुल द्वितीय, गणेश भ्यु बाटिका तृतीय र नेसनल बेथेल एकेडेमी चौथो भएकामा सम्मान गरिएको थियो । त्यसैगरी जिल्लाभरिका विद्यालयमध्ये विभिन्न विधामा भएका प्रतिस्पर्धा तथा शैक्षिक क्रियाकलापको नतिजाको आधारमा छनोट हुने सर्वाेत्कृष्ट विद्यालय २०८१ को विधामा माध्यमिक तहतर्फ नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल सूर्यगढी-५ र आधारभूततर्फ सामुदायिक विद्या मन्दिर देवीघाट पुरस्कृत भएका छन् । यी दुवै विद्यालय अघिल्लो शैक्षिक सत्रमा समेत सर्वाेत्कृष्ट भएका थिए । उक्त कार्यक्रममा प्याब्सन नुवाकोटले मासिक रूपमा सञ्चालन गर्दै आएको अतिरिक्त क्रियाकलापअन्तर्गत यसपटक नृत्य र गायन प्रतियोगितासमेत सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा दुवै विधामा प्रथम र द्वितीय स्थान गणेश भ्यु बाटिका र गुडविल एकेडेमीले हासिल गरेका छन् भने नृत्यमा तृतीय स्थानमा नुवाकोट ग्लोरी तथा सान्त्वनामा सुभेनियर बोर्डिङ स्कुल र त्रिशूली सामुदायिक स्कुल सफल भएको आयोजकले जनाएको छ । गायनमा तृतीय सुभेनियर बोर्डिङ स्कुल र सान्त्वनामा सेई बोर्डिङ स्कुल रहेकोसमेत बताइएको छ ।

प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सहअध्यक्ष गोपालप्रसाद आचार्य, बागमती प्रदेश अध्यक्ष मुरारीप्रकाश सञ्जेल, विदुर-१ र ४ का वडाध्यक्ष लेनिन रञ्जित र निलमबाबु ढुङ्गेल, प्याब्सन नुवाकोटका पूर्वअध्यक्ष ठाकुरप्रसाद पुडासैनी, रामहरि रिमाल, विजय श्रेष्ठ, बुद्धिसागर रिजाल, प्रकाश कुइँकेल र ताराबहादुर कार्कीको उपस्थिति थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह