धुन्चे । लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्डमा भ्रमण गर्न आउनेको सुरक्षाका लागि नेपाली सेनाले लाइफब्वाई ट्युब जडान गरेको छ । रसुवा जिल्लाको पवित्र धार्मिक तीर्थस्थलमा स्नान गर्ने र तस्बिर खिच्दा डुब्न सक्ने घटनामा सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले गोसाइँकुण्ड-५ स्थित कुण्डका किनारमा आपत्कालीन उद्धारका लागि शुक्रबार तीन स्थानमा डोरीसहितका ट्युब राखिएको छ ।
जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सेनाले स्थानीय सरोकार पक्षसँगको समन्वयमा सुरक्षा सामग्री जडान गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा जिल्ला सुरक्षाका लागि तैनाथ नेपाली सेना श्रीनाथ गणका गणपति प्रद्युम्न गौतमले जानकारी दिनुभयो । बर्सेनि धेरै भक्तजन तथा पर्यटक गोसाइँकुण्ड पुग्ने गरेका कारण त्यहाँ डुब्ने जोखिम उच्च हुने गरेको छ । गत वर्ष गोसाइँकुण्ड नुहाउने क्रममा दुईजनाको डुबेर मृत्यु भएको थियो । जडान गरिएका लाइफब्वाई ट्युब आकस्मिक रूपमा मानिस पानीमा डुब्ने अवस्था आएमा तुरुन्त प्रयोग गर्न सकिनेछ । सेनाको सो पहलले गोसाइँकुण्डमा तीर्थयात्रीको सुरक्षा थप मजबुत हुने विश्वास गोसाइँकुण्ड संरक्षण समितिका अध्यक्ष सञ्जीव डिएमले व्यक्त गर्नुभयो ।
चार हजार तीन सय ८० मिटर (१४ हजार तीन सय ७० फिट) उचाइमा अवस्थित कुण्डको सतह १३.८ हेक्टर (३४ एकड) र ताल परिसर एक हजार ३० हेक्टर (दुई हजार पाँच सय एकड) क्षेत्रफलमा छ । अठार वर्षअघि यसलाई रामसार तोकिएको थियो । ताल पग्लिएर त्रिशूली नदी बन्छ । हिउँदमा यो ६ महिनासम्म जम्छ । यसका वरपर एक सय आठ ताल छन् । चार हजार ६ सय १० मिटर (१५ हजार एक सय २० फिट) उचाइमा रहेको लौरीबिना भञ्ज्याङ यसको बाहिरी इलाकामा छ । सो अवसरमा निकुञ्ज कार्यालयका पदाधिकारी, स्थानीय होटेल व्यवसायी तथा गोसाइँकुण्ड मन्दिरका पुजारीको उपस्थिति थियो ।




प्रतिक्रिया