विदुर । नेपाल बैंक लिमिटेड स्थापनाको ८९औँ वर्षमा प्रवेश गरेका अवसरमा नुवाकोट शाखा प्रमुख लक्ष्मी पण्डितसहित ५३ जना कर्मचारी सम्मानित भएका छन् ।
स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालयसहित देशभरिका शाखाले विविध कार्यक्रम गरी मनाएका छन् । नुवाकोट शाखाले सो अवसरमा केक काटेर सेवाग्राहीसँग अन्तक्रिया गर्यो। कार्यक्रममा शाखाका सहायक प्रबन्धक शिवराम ढकालले सेवा र सुविधाबारे जानकारी दिनुभएको थियो । नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बैंकले समयसापेक्ष सेवासुविधा दिनुपर्ने जोड दिनुभएको थियो । नुवाकोट औषधि व्यवसायी सङ्घका अध्यक्ष टलकमान श्रेष्ठले बैंकले जिल्लाको उद्योग-व्यवसायको विकास र विस्तारमा लगानी गरेको बताउनुभयो ।
विसं १९९४ कात्तिक ३० गते स्थापना भएको बैंकको २६औँ शाखा नुवाकोटमा वि.सं. २०२७ मा खुलेको थियो । अहिले बैंकको दुई सय ३१ शाखा रहेका छन् । सशस्त्र द्वन्द्वको अवधि विसं २०५१ देखि २०६० सम्म नुवाकोटमा विदुर, रानीपौवा, चोगदे, ढिकुरे, देउरालीमा बैंकको शाखा रहेकामा अहिले विदुरमा मात्र शाखा सीमित छ । केन्द्रीय कार्यालयमा २५ वर्ष अटुट सेवा गर्ने तीन र २० वर्ष सेवा गर्ने नुवाकोट शाखा प्रबन्धक पण्डितसहित ५३ कर्मचारीलाई पदक तथा प्रशंसापत्रसहित सम्मान गरिएको बैंकले जनाएको छ । कार्यक्रममा नुउवा सङ्घका पूर्वाध्यक्ष शरण उत्सुक, प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठसहित उद्योगी, व्यवसायी र सेवाग्राहीको उपस्थिति थियो ।




प्रतिक्रिया