धुन्चे । हिमालको काखमा अवस्थित लाङटाङ क्षेत्र नेपालकै प्रमुख पर्यटकीय गन्तव्य मात्रै नभई अद्वितीय संस्कार, संस्कृति र परम्पराले धनी मानिएको छ । प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको सङ्गम रहेको लाङटाङ क्षेत्र प्राचीन जीवनशैली र मौलिक परम्परा जोगाउन प्रयत्नशील छ । लाङटाङ क्षेत्रमा हिंसा, काटमार वा कुनै पनि प्रकारको अशुद्ध कार्य निषेध गरिएको छ ।
लाङटाङका बासिन्दाले सदियौँदेखि पालन गर्दै आएको जीवनशैली, धार्मिक विश्वास र परम्परागत अभ्यासले लाङटाङलाई भौगोलिक सुन्दरतासँगै सांस्कृतिक सम्पदाका रूपमा चिनाएको छ । विशेषगरी यहाँको अन्त्येस्टि संस्कार अन्य समुदायभन्दा फरक र विशिष्ट मानिन्छ । गोसाइँकुण्ड गाउँपालिका-४, लाङटाङका वडाध्यक्ष डिन्ढुज्याङ्वा तामाङका अनुसार लामा गुरुले पात्रो हेरेर मात्र मृत्युपश्चात् शरीर जलाउने वा ओडारमा दाहसंस्कार गरिने गरिएको छ । जलाउन नमिल्ने अवस्थामा शव ओडारमा विशेष विधिपूर्वक राखिन्छ । ‘यो हाम्रो परम्परा र धार्मिक विश्वाससँग गहिरो रूपमा जोडिएको अभ्यास हो,’ उहाँले बताउनुभयो । वडाध्यक्ष तामाङले लाङटाङ भगवान्को वासस्थानजस्तै पवित्र भूमिका रूपमा रहेको बताउनुभयो । ‘यहाँका परम्परालाई नकारात्मक दृष्टिले होइन, आस्थाका दृष्टिले बुझ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘लाङ भनेको गोरु र टाङ भनेको अँध्यारो घाँटी भन्ने तिब्बती शब्दबाट ‘लाङटाङ’ नाम रहेको हो । त्यहाँ गुरु पद्मसम्भव र रिनपोछेले भ्रमण गरेका पवित्र स्थल छन् ।’ उहाँका अनुसार लाङटाङ क्षेत्रमा हिंसा, काटमार वा कुनै पनि प्रकारको अशुद्ध कार्य निषेध गरिएको छ । त्यस्ता कार्यले अनिष्ट ल्याउने विश्वास रहँदै आएको छ । साथै पर्यटकलाई विनापथप्रदर्शक यात्रा नगर्न, राति ९ बजेपछि हिँडडुल नगर्न र प्लास्टिकजन्य फोहोर नफाल्न आग्रह गरिँदै आएको छ ।
तीन हजार नौ सय मिटर उचाइमा अवस्थित क्याङजिङ उपत्यका लाङटाङ क्षेत्रको मुटु मानिन्छ । यहाँ प्राचीन गुम्बा र नेपालकै पहिलो चिज कारखाना रहेको छ । सात हजार २४६ मिटर अग्लो लाङटाङ हिमालको छायामा रहेको यो उपत्यका बौद्ध तान्त्रिक गुरु पद्मसम्भवले आठौँ शताब्दीमा ध्यान र तपस्याका लागि तोकेका सात पवित्र ‘बेयुल’ मध्येको एक हो । आठ वर्षअघि अमेरिकाबाट प्रकाशित ‘न्युयोर्क टाइम्स’ पत्रिकाले लाङटाङलाई विश्वका महत्त्वपूर्ण ५२ गन्तव्य स्थलमध्येमा समावेश गरेको थियो । लाङटाङ जहाँ हिमालको चिसो हावा, बौद्ध दर्शनको गहिराइ र तामाङ संस्कृतिको आत्मा एकैसाथ महसुस गर्न सकिन्छ । यो केवल पर्यटन स्थल मात्रै होइन, संस्कृतिको जीवित धरोहर हो । यस क्षेत्रले नेपाललाई विश्वसामु आध्यात्मिक र सांस्कृतिक सन्देश दिइरहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।






प्रतिक्रिया