बट्टार । लायन्स क्लब अफ नुवाकोट त्रिशूलीको पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीको प्रमुख आतिथ्यता तथा डिस्ट्रिक्ट गभर्नर लायन मिलनबाबु मल्लको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालअन्तर्गत रहेको यो क्लबको स्थापना २६ वर्षअघि भएको हो । पदस्थापन कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले लायन्स क्लब अफ नुवाकोट त्रिशूलीले गरेका विभिन्न सामाजिक कार्यको चर्चा र प्रशंसा गर्दै लायन्ससँग जोडिएर काम गर्न नगरपालिका आतुर रहेको बताउनुभयो । सो कार्यक्रममा पदस्थापन अधिकृत तथा डिस्ट्रिक्ट गभर्नर लायन मल्लले लायन्स क्लब अफ नुवाकोट त्रिशूलीले खोलेको नयाँ क्लब लायन्स क्लब अफ नुवाकोट दरबारको चार्टर हस्तान्तरण गर्नुभएको थियो । साथै, सबै नयाँ सदस्यको शपथ र लायन वर्ष २०२५/२०२६ का लागि निर्वाचित क्लबका पदाधिकारीलाई पदस्थापन गराउनुभएको हो ।
लायन वर्ष २०२५/२०२६ का लागि लायन्स क्लब अफ नुवाकोट त्रिशूलीको अध्यक्षमा गोमा मिश्रसहितको टिम र लायन्स क्लब अफ नुवाकोट दरबारको अध्यक्ष यादव अधिकारीको टिमलाई पदस्थापनासहित शपथग्रहण गराइएको थियो । डिस्ट्रिक्ट गभर्नर मल्लले लायन्स क्लब अफ नुवाकोट त्रिशूलीले मोडल भिलेजमार्फत सामाजिक सेवाका कार्यहरू गरिरहेको बताउँदै लायन्स सेवा केन्द्रबाट धेरैले सुविधा लिएको स्मरण गर्नुभयो । डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन पुरुषोत्तम बस्नेतले त्रिशूलीको पानी नसुकुन्जेल र दरबार रहुन्जेल यी दुवै क्लब सक्रिय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा डिस्ट्रिक्ट चिफ एडभाइज लायन कृष्णप्रसाद शर्मा, चिफ एडमिनिस्ट्रेटर लायन रामराजा थापाले दुवै क्लबका नयाँ सदस्यलाई बधाई दिँदै सामाजिक कार्यमा सक्रिय हुन आग्रह गर्नुभयो । वरिष्ठ पत्रकार तथा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाले स्थापनाकालदेखि नै लायन्स क्लब अफ नुवाकोट त्रिशूलीले राम्रो काम गरिरहेको बताउँदै आगामी दिनमा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । लायन्स क्लब अफ नुवाकोट त्रिशूलीका संस्थापक अध्यक्ष लायन श्रीकृष्ण रिजालले स्वागत मन्तव्य राख्दै आपूmहरूले सकेको सामाजिक कार्य गरिरहेको बताउनुभयो । नुवाकोटमा रहेका डिस्ट्रिक्ट ३२५ जे नेपालअन्तर्गतका यी क्लब रिजन चियरपर्सन लायन विशाल रिजाल र जोन चियरपर्सन लायन सरस्वती श्रेष्ठअन्तर्गत पर्दछन् ।

क्लबको आयोजनामा गत कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म त्रिशूली अस्पताल नुवाकोटमा सम्पन्न भएको बृहत् प्लास्टिक सर्जरी शिविरमा दुई सय १४ जनाले सेवा पाएका छन् । तीनदिने निःशुल्क प्लास्टिक शल्यक्रिया शिविरमा ५० जना बिरामीको निःशुल्क प्लास्टिक शल्यक्रिया गरिएको सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल निर्देशक तथा प्लास्टिक सर्जन डा.सन्तोषविक्रम भण्डारीले जानकारी दिनुभयो । शिविरमा उपचार गरिएका जटिल र थप उपचार आवश्यक रहेका बिरामीका लागि ६९ जनालाई निःशुल्क प्लास्टिक शल्यक्रियाका लागि आयोजक अस्पताल काठमाडौंमा पठाइएको उहाँले जानकारी दिनुभयो । डा.भण्डारीले भन्नुभयो, ‘नागरिकमा स्वास्थ्य सचतेना, आधुनिक जीवनशैलीलगायतको कारण जलन, दुर्घटना, जन्मजात विकृति तथा क्यान्सरसम्बन्धी जटिल अवस्था बिरामी नुवाकोटका कमी देखिएकोमा खुसी छु ।’ करिब १० वर्षपछि नुवाकोट जिल्ला सञ्चालन गरिएको शिविरमा एकमहिने जन्मजात शिशुदेखि ८२ वर्षीय वृद्धले स्वास्थ्य सेवा लिएको लायन्स क्लब अफ नुवाकोट त्रिशूलीका पूर्वअध्यक्ष श्रीकृष्ण रिजालले जानकारी दिनुभयो । विदुर नगरपालिका, त्रिशूली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो । सो शिविरमा त्रिशूली अस्पतालका चिकित्सक र विदुर नगरपालिकाका स्वास्थ्यकर्मीले सहजीकरण गर्नुभएको थियो ।






प्रतिक्रिया