+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट र धादिङका धेरै कर तिर्ने दुई करदाता सम्मानित

नुवाकोट र धादिङका धेरै कर तिर्ने दुई करदाता सम्मानित
त्रिशूली प्रवाह
३ महिना अगाडी

गल्छी । राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय गल्छी धादिङले गत आव २०८०/०८१ मा नुवाकोट र धादिङ जिल्लाबाट सबैभन्दा धेरै कर तिर्ने दुई करदातालाई सम्मान गरेको छ । सम्मानित हुनेमा नुवाकोटमा सबैभन्दा बढी आयकर तिर्ने त्रिशूली ब्रिडिङ एन्ड रिसर्च फार्म प्रा.लि.का सञ्चालक विष्णुप्रसाद रिमाल र धादिङका आर्जित कन्स्ट्रक्सनकी अम्बिका खड्का रहेका छन् ।

सबैभन्दा बढी कर तिर्ने नुवाकोटका व्यवसायी रिमाल र धादिङकी व्यवसायी खड्कालाई दिवसको अवसरमा सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय गल्छीका प्रमुख प्रेमप्रकाश शाहीले जानकारी दिनुभयो । कार्यालयले सोमबार विशेष कार्यक्रमसहित दुई जिल्लाबाट गत आवमा धेरै कर तिर्ने एक-एकजना करदातालाई सम्मान गरेको हो । नुवाकोट, धादिङ र रसुवाको करदातासम्बन्धी कार्य आन्तरिक राजस्व कार्यालय गल्छीमार्फत हुँदै आएको छ । कर प्रणालीको सार, लगानीको आधार भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवसको अवसरमा गरिएको सम्मान कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार डल्लाकोटीलगायतले कर तिर्नेलाई राज्यले हौसला र प्रोत्साहन गर्ने नीतिलाई फराकिलो र पारदर्शी बनाउनुपर्ने बताउनुभएको थियो । सम्मानित दुवै व्यवसायीलाई कार्यालयले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । कर तिरेर सभ्य करदाताको रूपमा प्रस्तुत हुनु करदाताको कर्तव्यसमेत भएको कार्यक्रमका विशेष अतिथि नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताउनुभयो । सो कार्यक्रममा धादिङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले करदाताले कर तिरेअनुसार प्रभावकारी सुविधा पाउन नसकेको गुनासो गर्नुभयो ।

आयकर तिर्नु सरकारको अभियानमा साथ दिनु र कानुनअनुसार सफल व्यवसाय गरेको जनाउँदै गत वर्ष धेरै कर दाखिला गरेका रिमाल र खड्कालाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय गल्छीले जानकारी दिएको छ । सरकारले हरेक वर्ष कर दिवसका अवसरमा बढी कर तिर्ने करदातालाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह