- गत आवमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा विदुर उत्कृष्ट
- स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्व
- शारीरिक एवम् मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाई महत्त्व
- १२ वटै स्थानीय तहबाट स्वास्थ्य सूचकाङ्कको प्रगतिका आधारमा विदुर ७०.७८ प्रतिशत अङ्क प्राप्त गरी प्रथम, दुप्चेश्वर ६७.१० अङ्क प्राप्त गरी द्वितीय र पञ्चकन्या गाउँपालिका ६६.४० अङ्क प्राप्त गरी तृतीय ।
त्रिशूली । नुवाकोट जिल्लाका १२ स्थानीय तहमध्ये विदुर नगरपालिकाको स्वास्थ्य सेवासुविधा उत्कृष्ट घोषित भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा विदुर नगरपालिका उत्कृष्ट भएको हो । स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्वको विषय भएको नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो । उहाँले यो उत्कृष्टताले नगरवासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरीय सेवा दिन प्रोत्साहन गर्ने बताउनुभयो । नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाको साथै नगरवासीको शारीरिक एवम् मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाई समेत उच्च महत्त्व दिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले जिल्लाका सबै स्थानीय तहबाट स्वास्थ्य सूचकाङ्कको प्रगतिको आधारमा विदुरले ७०.७८ प्रतिशत अङ्क प्राप्त गरी प्रथम, दुप्चेश्वर गाउँपालिकाले ६७.१० अङ्क प्राप्त गरी द्वितीय र पञ्चकन्या गाउँपालिकाले ६६.४० अङ्क प्राप्त गरी तृतीय भएको जानकारी दिनुभयो । गत हप्ता जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको उपस्थितिमा गत आवको सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा र चालू आवको कार्ययोजना पारित भएको छ । कार्यक्रममा १२ वटै पालिकाका स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुखको सहभागिता थियो ।






प्रतिक्रिया