+
Search

ताजा अपडेट +

पपुलर +

एमालेद्वारा नुवाकोट, रसुवासहित ७६ जिल्लामा शक्तिप्रदर्शन

एमालेद्वारा नुवाकोट, रसुवासहित ७६ जिल्लामा शक्तिप्रदर्शन
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

विदुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शनिबार नुवाकोट, रसुवासहित ७६ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत शनिबार जिल्लास्तरमा जनसभा गरेको जानकारी दिनुभयो । जिल्लामा भएको सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

नुवाकोटको विदुरमा मोटरसाइकल र्‍याली र बाजागाजासहित बट्टार हावाघर, गँगटे, हात्तीगौँडा, त्रिशूलीबाट आएको नेता/कार्यकर्ताको जनप्रदर्शन विदुर पार्टी कार्यालय चोकमा पुगेर सभामा परिणत भएको थियो । सो सभालाई एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले सम्बोधन गर्दै एमालेले भदौ २३ र २४ मा ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनस्थापनालगायत माग गर्नुभयो । सभालाई सम्बोधन गर्दै उहाँले पुनस्र्थापनापछि बन्ने सरकारले मात्रै निर्वाचन गराउनुपर्ने माग गर्नुभएको थियो । उपमहासचिव रिमालले भन्नुभयो, ‘वर्तमान सरकारले निर्वाचन गराउँछ भन्नेमा विश्वास छैन, अहिलेसम्म निर्वाचनको तयारी छैन, दलसँग गम्भीर रूपमा छलफल भएको छैन, यस्तो अवस्थामा कसरी निर्वाचन हुन सक्छ ?’ फागुन २१ गते अगाडि स्थापित दल र तिनका नेतालाई फसाउने षड्यन्त्र भइराखेको उहाँले आरोप लगाउनुभयो । ठुला र स्थापित दलका नेतालाई चुनावमा भाग लिन नपाउने गरी सरकारको तयारी भएको उहाँको भनाइ थियो ।

देशलाई दीर्घकालीन क्षति पार्ने तत्त्वको खोजी गरी कारबाही गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । विदेशी शक्तिले नेपालमा चलखेल गरिराखेको समयमा निर्वाचनको भुलभुलैमा पर्न नहुने उपमहासचिव रिमालको भनाइ छ । प्रचण्ड र माधव नेपालसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी १० कोठे टहरो मात्रै भएको भन्दै त्यसले उनीहरूको ओरालो यात्रा नरोकिने उहाँले बताउनुभयो । ‘निर्वाचनमा अस्तित्व जोगाउन मात्रै उनीहरूले १० कोठे टहरो हालेका हुन्, त्यसले पनि उनीहरूको ओरालो यात्रा रोकिँदैन, मूल घरमा फर्किए मात्रै केही जोगिन सक्छ,’ उहाँले भन्नुभयो । मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताउनुभयो । यसअघि एमालेले गत कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला सम्पन्न गरिसकेको समेत उहाँले बताउनुभयो ।

त्यसैगरी, एमाले जिल्ला कमिटी रसुवाले सदरमुकाम धुन्चेमा शनिबार जनप्रदर्शन गरेको छ । जिल्लास्तरीय कार्यक्रमअन्तर्गत रसुवाका पाँचवटै गाउँपालिकामा गरिएको भेला तथा र्‍यालीको समापन सदरमुकाम धुन्चेमा गरिएको सो पार्टीले जानकारी दिएको छ । धुन्चेको स्वागत गेटबाट सुरु भएको र्‍याली शिव मन्दिर हुँदै शङ्खपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पछिल्लो समय जेन-जी समूहको आन्दोलनको नाममा उब्जिएका गतिविधिले स्थिरता र लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘कसैले पनि संविधानको मर्म र मूल्यमा हस्तक्षेप गर्न पाइँदैन । जनताको बल र सडकबाट नै प्रतिगामी प्रयासलाई पराजित गर्न सकिन्छ ।’ कार्यक्रममा एमाले रसुवाका कार्यवाहक अध्यक्ष कैसाङनुर्पु तामाङले पार्टीको केन्द्रीय निर्देशनअनुसार लोकतन्त्र रक्षा अभियानको हिस्साका रूपमा रसुवामा पनि जनप्रदर्शन गरिएको बताउनुभभयो । संविधानविरोधी प्रवृत्ति र अराजक गतिविधिबाट देशलाई बचाउन जनस्तरबाट दबाब सिर्जना गर्नु आजको आवश्यकता भएको उहाँले बताउनुभयो । सभामा केन्द्रीय सदस्य प्रेम तामाङ, माधव अर्याल, बागमती प्रदेश कमिटी सदस्य कर्नेल तामाङलगायतका नेताले मन्तव्य राख्नुभएको थियो । जनप्रदर्शनमा युवा सङ्घ नेपाल, अनेरास्ववियु, महिला सङ्घ र एमालेका विभिन्न तहका कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह