+
Search

ताजा अपडेट +

पपुलर +

टोलमै स्वास्थ्य सेवा

टोलमै स्वास्थ्य सेवा
त्रिशूली प्रवाह
१ महिना अगाडी

धादिङबेँसी । धादिङ जिल्ला, नीलकण्ठ नगरपालिकामा ‘जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन भइरहेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी हरेक तीन महिनामा टोलटोलमा पुग्ने गरेका छन् । आफ्नै टोलमा स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गराउन पाउँदा स्थानीय लाभान्वित भएका हुन् ।

नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य परीक्षण कार्यक्रमले धेरै राम्रो भएको नीलकण्ठ-७ का ऋषिबहादुर श्रेष्ठले बताउनुभयो । ‘पहिले के रोग लागेको हो भन्ने थाहा नै हुँदैनथ्यो, बिरामी परेपछि मात्रै अस्पताल पुगिन्थ्यो,’ श्रेष्ठले भन्नुभयो, ‘अब स्वास्थ्यकर्मी आफैँ टोलमा आउनुहुन्छ, समयमै रोग पहिचान भएको छ, हामीलाई सजिलो छ ।’ यस्तै खुसी र सहजता अहिले नीलकण्ठ नगरपालिकाका हरेक टोलमा देख्न सकिन्छ । नगरपालिकाले सुरु गरेको ‘जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम’मार्फत गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउने सफल अभियान बनेको छ । गत वर्षको चैत महिनादेखि सुरु भएको यो कार्यक्रम अहिले नगरपालिकाका १४ वटै वडामा नियमित सञ्चालन भइरहेको छ । हरेक तीन महिनामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ पुगेर नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । रक्तचाप, मधुमेह, कुपोषण र अन्य प्रारम्भिक रोग परीक्षणदेखि स्वास्थ्य सल्लाहसम्मका सेवा टोलमै उपलब्ध हुन थालेका छन् । नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव राना भन्नुहुन्छ, ‘३० वर्षमाथिका नागरिकलाई लक्षित गरिएको यस अभियानले प्रारम्भिक चरणमै रोग पहिचान गर्न र सचेतना बढाउन ठुलो मद्दत गरेको छ ।’ उहाँका अनुसार स्वास्थ्य सेवा लिने निरन्तर बढिरहेका छन् । यो कार्यक्रम विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त समुदायका लागि वरदान साबित भएको सुनौलाबजार स्वास्थ्य चौकीका प्रमुख रोशन आलेमगरले बताउनुभयो । ‘टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप र मधुमेहजस्ता समस्या प्रारम्भिक चरणमै पत्ता लगाएर उपचार गर्न सकिने भएको छ,’ उहाँले भन्नुभयो । नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले भन्नुभयो, ‘यो कार्यक्रमलाई दीर्घकालीन रूपमा विस्तार गर्दै अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य रहेको छ ।’ नगरपालिकाको यो अभियानले खास गरी दुर्गम बस्तीकालाई अस्पताल पुग्नुपर्ने दूरी घटाइदिएको छ भने स्वास्थ्यप्रति जागरुकता पनि बढाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह