नुवाकोट । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सोमबार साधारणसभा सम्पन्न भएको छ । संस्थाको साधारणसभालगत्तै अधिवेशनको प्रक्रिया सुरु गरेर नेतृत्व सर्वसम्मत गर्ने प्रयास असफल भएपछि जिल्लामा क्रियाशील राजनीतिक दलहरू टिम बनाएर शक्ति र जनमत परीक्षण गर्न निर्वाचनमा होमिएका छन् ।
शनिबार निर्वाचनको कार्यक्रम रहेको संस्थाका कार्यालय प्रमुख राजकुमार तिमिल्सनाले जानकारी दिनुभएको छ । निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले)को एउटा टिम र नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत स्वतन्त्र समूह र अन्य दलको अर्को टिम निर्वाचनको मैदानमा उत्रेको छ । काङ्ग्रेस-एमालेको गठबन्धन टिमको अध्यक्षमा सञ्जीवबहादुर श्रेष्ठ, उपाध्यक्षमा नवीन प्रधान, सचिवमा अच्युतराज महन्त गिरी, कोषाध्यक्षमा अम्बिका चित्रकार खनाल, महिला सदस्यमा विन्दाकुमारी सडौला, सीता अधिकारी र सदस्यमा शंकर पाण्डे, दीपकबहादुर तिमिल्सिना, गोविन्दबहादुर अधिकारी रहेका छन् । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीसहितको स्वतन्त्र टिमको अध्यक्षमा हरिशरण गजुरेल, उपाध्यक्षमा राजेन्द्र पाण्डे, सचिवमा रघुनाथ रिमाल, कोषाध्यक्षमा संगीता कोइराला, महिला सदस्यमा सरस्वती न्यौपाने, चिरिग्याल लामा तामाङ र सदस्यमा सुमन अधिकारी, मुरारी नेपाल, दीपक कुमाल रहेका छन् । दुवै टिमलाई जिताउन राजनीतिक दलले सम्पूर्ण शक्ति र सामाथ्र्य प्रयोग गरिरहेका छन् ।
यो निर्वाचनको मतपरिणामले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मत सर्वेक्षण गर्न सकिने नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठीले बताउनुभयो । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिमा हुन लागेको यो निर्वाचनले राजनीतिक दलहरूको जनमतसमेत परीक्षण गर्ने भएकाले यसलाई सबै दलले गम्भीरताका साथ लिएका छन् ।




प्रतिक्रिया