+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग दिवसमा ६ उद्यमी सम्मानित

दर्तादेखि कर तिर्नसम्म समस्या

उद्योग दिवसमा ६ उद्यमी सम्मानित
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

विदुर । उद्योग दर्तादेखि कर तिर्नसम्म हैरानी खेप्नुपरेको नुवाकोटका उद्योगी-व्यवसायीले बताएका छन् । मंगलबार ११औँ उद्योग दिवसका अवसरमा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रसँग संलग्न सरोकारवाला सङ्घ-संस्थाका प्रमुखले बताएका हुन् ।

यस वर्षको उद्योग दिवसको नारा ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने रहेको छ । सो नारालाई कार्यान्वयन गर्न सरकारी निकायले कार्यक्रम बनाउनुपर्ने दिवसमा सहभागीले जोड दिएका छन् । उद्योग वाणिज्य कार्यालयका प्रमुख सीताराम घिमिरेको सभापतित्व र प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको आतिथ्यमा भएको कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका सात उद्यमीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा आशाकुञ्ज कृषि केन्द्र विदुर-९ आँगापुटारका हरिबहादुर बस्नेत, जालपादेवी हस्तकला उद्योग विदुर-४ बट्टारकी गीता ढकाल थापा, सूर्यकुण्ड ट्राउट माछा फार्म दुप्चेश्वर-१ घ्याङफेदीका नन्दलाल तामाङ, हराभरा कृषि फार्म लिखु-१ ढिकुरेका इवकुमार ढकाल, लामिछाने पोल्ट्री फार्म बेलकोटगढी नगरपालिका-५ का पुरुषोत्तम लामिछाने र शुभलक्ष्मी सिलाइ तथा प्रशिक्षण केन्द्र विदुर-४ बट्टारकी लक्ष्मीकुमारी प्रधान रहेका छन् । दिवसको कार्यक्रममा प्रजिअ घिमिरे र उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रसहित व्यवसायीलाई सम्मानित गर्नुभएको थियो । दिवसको अवसरमा मंगलबार र बुधबार जिल्लाका उद्यमीले उत्पादन गरेको विभिन्न सामग्रीको बिक्री र प्रदर्शनीसमेत कार्यालयपरिसरमा गरिएको थियो ।

सो अवसर प्रजिअ घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगी-व्यवसायीलाई परेको समस्या र कानुनी अप्ठ्यारालाई सहजीकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा स्वदेशी उत्पादित वस्तुको प्रयोग गर्नुपर्ने नियम लागू गर्न जरुरी रहेकाले पहल गर्नेसमेत उहाँले बताउनुभयो । कार्यक्रममा कृषि तथा फलफूल उद्यमी गरबहादुर तामाङ, सम्मानित व्यवसायी बस्नेत र प्रधानले तीन तहको सरकारले कृषि उद्यमीलाई प्रोत्साहन र हौसल्ला दिन नसकेको गुनासो गर्नुभएको थियो । सो कार्यक्रममा जिल्ला लघु उद्यमी सङ्घका अध्यक्ष एवम् सम्मानित उद्यमी गीता थापा, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष रामकृष्ण राजभण्डारीलगायतले व्यवसायीलाई गरिखाने वातावरण नभएको बताउँदै उद्योग दर्ता गर्नेदेखि कर बुझाउन जाँदासम्म उद्यमीले सास्ती खेप्नुपरेको बताउनुभएको थियो । सोही कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले उद्योग सञ्चालन गर्न दर्ता प्रक्रिया सुरु भएदेखि नै व्यवसायीलाई हैरानी र सताउने काम सुरु हुने बताउनुभयो । तीन तहका सरकारका निकायबिच समन्वय भएर उद्यमी-व्यवसायीलाई सहजीकरण गर्न एकद्वार प्रणाली लागू गर्नुपर्ने मागसमेत राख्नुभयो । एकै प्रकारको कामका लागि पनि धेरै सरकारी संरचनाले गर्दा उद्योगी-व्यवसायीले झन्झट व्यहोर्नुपरेको बताउनुभयो । ‘हामीकहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्था धेरै भए । व्यावसायिक वातावरण सहज र सरल गर्र्नुपर्नेमा जटिलता र झन्झट थपिँदै गएको छ,’ उहाँले भन्नुभयो, ‘यो अवस्थामा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक संस्था कम गर्दै जानुुपर्छ ।’

कार्यालय प्रमुख घिमिरेले उद्यमी-व्यवसायीको गुनासो र समस्यालाई समाधान गर्न जिल्लाका उद्योग तथा वाणिज्य कार्यालय लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घ र प्रदेश सरकारको कतिपय कानुन तथा नियमावली आपसमा मेल नखाँदा सेवाग्राहीलाई सहज रूपमा सेवा दिन नसकेको हो,’ ‘सेवाग्राहीले सामना गरेको समस्याबारे सम्बन्धित निकायमा पत्राचार र सम्पर्क गरेर सहजीकरण गर्नेछु ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह