धुन्चे । रसुवा जिल्ला, आमाछोदिङ्गो गाउँपालिका-५, तातोपानीमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तातोपानीको मूल सुकेपछि चिन्ता व्यक्त हुँदै आएकोमा पुनः पलाउन थालेको छ । वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सुकेको तातोपानी कहिले सुक्ने र कहिले पलाउने अवस्थामा थियो । अहिले पुनः स्थिर रूपमा पानी बग्न थालेपछि स्थानीय हर्षित भएका छन् ।

तातोपानीका स्थानीय नोर्चेल तामाङका अनुसार अहिले सबै ६ वटै धाराबाट नियमित घटबढ नभई तातोपानी बग्न थालेको छ । करिब एक महिनादेखि तातोपानीको मूल निरन्तर बग्दै गरेको हो । पानी दिनप्रतिदिन अझै तातो बन्दै गएको तामाङले जानकारी दिनुभयो । भूकम्पपछि पटकपटक सुक्दै आएको तातोपानी अब स्थायी रूपमा रहने आशा गरिएको छ । पारम्परिक विश्वासअनुसार तातोपानीमा स्नान गर्दा शरीरको खटिरा, दम, बाथ, चर्मरोग, गानोगोलालगायतका समस्या निको हुने विश्वास गरिन्छ । मुहान सुकेपछि धार्मिक पर्यटनसँगै स्थानीयको व्यापार पनि प्रभावित भएको थियो । अहिले फेरि तातोपानी बग्न थालेपछि पर्यटक तथा भक्तजन आउने क्रम बढ्ने अपेक्षा गर्दै स्थानीय उत्साहित छन् । दुई हजार ६ सय ४५ मिटर उचाइमा अवस्थित तातोपानी प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्त्वका कारण परिचित गन्तव्य हो । तातोपानी पुनः सक्रिय भएपछि यसको संरक्षण, व्यवस्थापन र प्रचारप्रसारमा स्थानीय निकाय र सरोकारवालाले विशेष ध्यान दिनुपर्ने देखिएको छ । तातोपानी नुहाउन पुगेको रसुवा मावि धुन्चेनिवासी शिक्षक विना लामाको टोली गत महिना नुहाएर फर्किएको छ । उहाँले बताएअनुसार विगतमा बनाएको ६ वटा धाराबाट सफा र निरन्तर तातोपानी आइरहेको, दैनिक ४०-५० जना नुहाउन आइरहेका छन् ।






प्रतिक्रिया