पञ्चकन्या । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको लिखु गाउँपालिका-५ मा निर्मित सहिद स्मृति केन्द्र भवन तथा पञ्चकन्या-३, घलेगाउँस्थित सांस्कृतिक भवनको आइतबार उद्घाटन गर्नुभएको छ ।
सांस्कृतिक भवनको उद्घाटनपश्चात् सोही दिन संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले स्मृति केन्द्र भवनको समेत उद्घाटन गर्नुभयो । उहाँले उद्घाटन कार्यक्रममा जाने र फर्कने क्रममा लिखु, शिवपुरी र पञ्चकन्याका विभिन्न स्थानमा पार्टीका स्थानीय नेता/कार्यकर्ताको स्वागत लिँदै भेटघाट गर्नुभएको थियो । नेकपाका नेता दीपशिखाका अनुसार शनिबार काठमाडौँमा जेन-जीसँग भेटघाट सकेर संयोजक प्रचण्ड राति अबेर नुवाकोटको पञ्चकन्या पुग्नुभएको थियो । उहाँले ‘जनताको घरमा वास, जनताको चुलोको गाँस’ गरेकोसमेत बताइएको छ । त्यसक्रममा प्रचण्डले स्थानीयसँग भलाकुसारी गरिरहेका तस्बिर र भिडियो उहाँले सार्वजनिक गर्नुभएको छ ।

पञ्चकन्या-३ मा नवनिर्मित सांस्कृतिक भवन आव २०८१/०८२ मा सङ्घीय अनुदान रु. ६३ लाखबाट साढे दुई सयजनाभन्दा बढी क्षमताको हलसहित छुट्टै शौचालय निर्माण भएको स्थानीय समाजसेवी छिरिङ तामाङले जानकारी दिनुभयो । सङ्घीय सरकारको बजेटले भवन बनाउने जग्गासमेत खरिद गरिएको केन्द्रका अध्यक्ष लालबहादुर तामाङले बताउनुभयो । गाउँको बिचमा बनेको उक्त भवन गाउँलेले विवाह, व्रतबन्धलगायत अन्य सामाजिक कार्यका साथै सभा-सम्मेलन र दैवी प्रकोपमा प्रयोग गर्न सकिने बताइएको छ । पहिले घले राजाले राज्य गरेको उक्त गाउँमा अधिकांश तामाङ जातिको बसोबास अहिले रहेको छ ।
लिखु-५ मा सङ्घीय बजेटबाट गत आव २०८१/०८२ मा प्राप्त रु.९० लाख बजेटबाट जग्गा खरिद गरी निर्माण गरिएको सहिद स्मृति केन्द्रको भवनसहित पार्कको उद्घाटन भएको हो । केन्द्रको हल र शौचालयसहितको निर्मित भवनमा ६ कोठा रहेको छ । विगतको सशस्त्र सङ्घर्ष (२०५१ देखि २०६० सम्म) को क्रममा त्यस क्षेत्रका ११ जना सहिद र एकजना बेपत्ताको सालिक भवन परिसरमा निर्माण गरिएको केन्द्रका अध्यक्ष रोशन भण्डारीले जानकारी दिनुभयो । शनिबार साँझ नुवाकोटको शिवपुरी हुँदै प्रचण्ड पञ्चकन्याको घलेगाउँ पुग्नुभएको थियो । घलेगाउँमा रात बिताउनुभएका प्रचण्डले आइतबार बिहान सांस्कृतिक भवन र दिउँसो स्मृति भवनको उद्घाटन गर्नुभएको प्रतिनिधिसभाका पूर्वसांसद एवम् पूर्वमन्त्री हितबहादुर तामाङले जानकारी दिनुभयो ।






प्रतिक्रिया