लिखु । ‘विद्यालय आँखाजाँच कार्यक्रम’ अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान, लिखु ग्रामीण आँखा केन्द्रले द फ्रेड होलोज फाउन्डेसनको सहयोग र लिखु गाउँपालिकाको सहकार्यमा लिखु गाउँपालिकाभित्र रहेका १३ विद्यालयका एक हजार दुई सय १६ विद्यार्थीको दृष्टि स्वास्थ्य परीक्षण गर्ने लक्ष्यसहित आँखाजाँच अभियान सुरु गरेको छ ।

कात्तिक २८ गतेबाट थालिएको स्कुल आई हेल्थ स्क्रिनिङ कार्यक्रम मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा विद्यार्थीमा दृष्टिदोष, आँखारोग, दृष्टि विकाससम्बन्धी समस्या, चस्माको आवश्यकता तथा अन्य आँखासम्बन्धी जटिलता पहिचान गरी आवश्यक परामर्श, उपचार तथा चस्मा वितरण गरिने जनाएको छ ।

कार्यक्रमबाट महेन्द्र जनसेवा आधारभूत विद्यालय, बच्छलादेवी माध्यमिक विद्यालय, रतनदेउ आधारभूत विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, नारायणीदेवी माध्यमिक विद्यालय, महेन्द्र महेशदेव माध्यमिक विद्यालय, निरञ्जना आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, गणेश सूर्य आधारभूत विद्यालय, नवप्रकाश आधारभूत विद्यालय, सिद्धिगणेश आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय तथा क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन् ।

शैक्षिक वातावरणमै नियमित आँखा जाँचमार्फत बालबालिकाको दृष्टि स्वास्थ्य संरक्षण, सिकाइ क्षमता वृद्धि र दीर्घकालीन नेत्ररोग नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ ।




प्रतिक्रिया