धुन्चे । गत असार २४ मा चिनियाँ क्षेत्र तिब्बतदेखि आएको ल्हेन्देखोलाको बाढीले रसुवागढी नाकामा रहेको अन्तर्राष्ट्रियस्तरको पक्की पुल बगाएपछि ठप्प रहेको रसुवागढी नाका नयाँ सालमा मात्र सञ्चालनमा आउने भएको छ । बगेको पुलसँगै चीन सरकारको सहयोगमा गत साउनदेखि नै अर्को बेलिब्रिज निर्माण सुरु भए पनि निर्माणमा भइरहेको ढिलाइले नाका सञ्चालन आगामी अङ्ग्रेजी पात्रोको नयाँ वर्ष २०२६ सँगै हुने भएको छ । नयाँ वर्षको सुरुमै सञ्चालनमा आउने चिनियाँ पक्षले जानकारी दिएको रसुवागढीका बासिन्दाले बताएका छन् ।
चिनियाँ प्राविधिकले दसैँअगाडि नै बेलिब्रिज निर्माण गर्ने गरी साउनमै काम सुरु गरेको भए पनि विकट भूगोल र पूर्वानुमान गरिएभन्दा असहज किसिमको मौसमका कारण निर्माण कार्यले तीव्रता पाउन सकेन । आवश्यक जनशक्तिको व्यवस्थासहित तीनवटा ‘जोमक्रेन’समेत परिचालन गरी समयसीमा किटान नगरीकन यथाशक्य छिटो बेलिब्रिज निर्माणमा चिनियाँ टोली दिनरात नभनी खटिरहेका छन् । नाका जोडिएको गोसाइँकुण्ड गाउँपालिका-२, रसुवागढीको अध्यक्ष कामीछिरिङ तामाङले बताएअनुसार उपकरणको व्यवस्थासहित बेलिब्रिज निर्माणमा भइरहेको प्रगति र चिनियाँ पक्षको कामको प्राथमिकतालाई हेर्दा अङ्ग्रेजी महिनाको नयाँ वर्ष सुरु हुनुभन्दा अगाडि नै मितेरी पुल सञ्चालन हुनेछ ।
नेपाल-चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिज निर्माणको तयारी कामले तीव्रता पाएको छ । दैनिक ३०-३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियामा जुटेसँगै मितेरी पुलका रूपमा परिचित सो बेलिब्रिज अब छिट्टै बन्ने अवस्थामा पुगेको हो । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी नाकास्थित अन्तर्राष्ट्रियस्तरको पक्की पुल बगाएपछि चीन सरकारको सहयोगमा निर्माण भइरहेको बेलिब्रिज अबको एक महिनाभित्र तयार भइसक्ने स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको भनाइ छ । चिनियाँ पक्षका अनुसार यसअघि नै तयार गरिसक्ने योजनाका साथ काम सुरु भए पनि लगातारको वर्षासहित नदी तथा खोलामा आएको बाढीका कारण कामले गति लिन नसक्दा निर्माण कार्य ढिलो हुन पुगेको हो । खोलामा पानीको बहाव नघट्दा, बिच्छ्याइएका ह्युमपाइप पटकपटक बगाउँदा र बेलिब्रिज निर्माणका क्रममा जडान गरिएको फलामका पत्ता एक्कासि लच्केपछि त्यसलाई निकालेर चार मिटर माथि अर्काे जडान गर्नुपर्दा अपेक्षा गरिएअनुसारको समयसीमाभित्र काम पूरा हुन नसकेको सम्बद्ध प्राविधिकको भनाइ छ । उच्च रफ्तारका साथ काम गरिरहेको चिनियाँ प्राविधिक टोलीले विकट भूगोल र पूर्वानुमान गरिएभन्दा असहज किसिमको मौसमका कारण काममा विलम्ब भएको स्पष्ट गर्दै समयसीमा किटान नगरीकन यथाशक्य छिटो बेलिब्रिज निर्माणमा आफूहरू खटिरहेको स्पष्ट गरेको छ ।
गत असारमा आएको बाढीका कारणले गर्दा रसुुवाको मितेरी पुुल बगाउँदा आयात-निर्यात ठप्प हुुँदा पाँच महिनामा रु. १८ अर्बबराबरको राजस्व गुुमेको रसुुवा भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प्रमुुख भन्सार अधिकृत तुुलसीप्रसाद भट्टराईले विगत पाँच महिनादेखि नाका बन्द भई आयात-निर्यात ठप्प हुुँदा राजस्व सङ्कलनसमेत बन्द रहेको जानकारी दिनुुभयो । चालू आर्थिक वर्ष २०८२/०८३ मा रसुुवा नाकाबाट रु.४० अर्ब १६ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । असार अन्तिम सातादेखि आयात-निर्यात बन्द हुुँदा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको प्रमुुख भन्सार अधिकृत भट्टराईले बताउनुभयो । हाल सो नाकामा पुुल निर्माणको काम भइरहेको छ । मितेरी पुल निर्माण नभएसम्म आयात-निर्यात नियमित हुुन नसक्ने उहाँको भनाइ छ ।
चिनियाँ पक्षले नाकामा बेलिब्रिज निर्माण गरिरहेकाले आगामी डिसेम्बर पहिलो सातासम्म प्राविधिक परीक्षण गरिने अनौपचारिक जानकारी गराएको उहाँले बताउनुुभयो । बेलिब्रिजको निर्माण सम्पन्न भई सञ्चालनमा आए आयात-निर्यात सुरु हुने उहाँले जानकारी दिनुुभयो । बेलिब्रिजको क्षमता ४९ मेट्रिक टन रहेकाले सोहीअनुसार सामान ल्याउन सकिने उहाँको भनाइ छ । गत आव २०८१/०८२ मा रसुुवा नाकाबाट ८८ अर्बको आयात र रु.तीन अर्बबराबरको निर्यात भएको कार्यालयले जनाएको छ । चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, विद्युुतीय सवारीसाधन, पार्टपुर्जा, लत्ताकपडालगायतका सामान आयात हुँदै आएको छ । यस्तै, तयारी कपडा, रबर, प्लास्टिकका जुत्ताचप्पल, हातेझोला, छालाका जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकलगायतका सामग्री आयात हुन्छन् । नेपालबाट निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा र कफी राखिएको छ । यस्तै, तरकारी तथा तरकारीको बिउ, फलपूmल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मुसुरो, जुटका झोला, छुर्पी निर्यात हुने वस्तु हुन् ।




प्रतिक्रिया