+
Search

ताजा अपडेट +

पपुलर +

एमाले महाधिवेशनको प्रतीक चिह्न सार्वजनिक

एमाले महाधिवेशनको प्रतीक चिह्न सार्वजनिक
त्रिशूली प्रवाह
३ दिन अगाडी

काठमाडौँ । नेपाल कम्युनिस्ट पाार्टी (एमाले) ले ११औँ महाधिवेशनको प्रतीक चिह्न (लोगो) आइतबार सार्वजनिक गरेको छ । महाधिवेशनका लागि गठित प्रचार समितिले तयार गरेको लोगो पार्टी कार्यालय, च्यासलमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावरण गर्नुभएको हो ।

एमालेको ११औँ महाधिवेशन उद्घाटन मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा र काठमाडौँको भृकुटीमण्डपमा २८ र २९ गते बन्दसत्र गरिने महाधिवेशनको लोगोमा काठमाडौँ उपत्यकाकै चिनारी झल्काइएको छ । भक्तपुरको कलाकृति, धरहरा र बौद्ध स्तुप महाधिवेशन लोगोमा समेटिएको छ । लोगो सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने दाबी गर्नुभयो । ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताउनुभयो । उहाँले अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रूपान्तरण र पुस्तान्तरणका लागि केन्द्रित हुने स्पष्ट गर्नुभयो । ‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा डेमोक्रेसी छैन, चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनुपर्दैन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘चुनाव लड्न पाइन्छ, तर अध्यक्षका रूपमा मेरो आग्रह छ – एकताबद्ध भएर जाऔँ, एक-अर्कामा नकारात्मक टीका–टिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्नेजस्ता काम कसैले नगरौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह