धुन्चे । गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखाले गर्भवती महिलाका लागि सञ्चालनमा ल्याएको निःशुल्क घुम्ती ग्रामीण भिडियो एक्सरे सेवाबाट पाँच सयभन्दा बढी गर्भवती महिला लाभान्वित भएका छन् ।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विमल घिमिरेका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि पालिकाभित्रका गर्भवतीलाई लक्ष्य गरी यो सेवा सुरु गरिएको थियो । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा २२ जना गर्भवती महिलाले सेवा लिइसकेका छन् भने सेवा सुरु भएदेखि हालसम्म पाँच सयभन्दा बढी गर्भवतीले सेवा लिइसकेको बताइएको छ । यो सेवा सुरु भएपछि दुर्गम दूरदराजमा रहेका गर्भवती महिलाले आफ्नो घरनजिकैको स्वास्थ्य संस्थामा आवश्यक परीक्षण गराउने सुविधा पुगेको छ । पालिकाले ६ वटै वडाबाट नियमित रूपमा सेवा सञ्चालन गरिरहेको छ । भौगोलिक जटिलता र यातायातको असुविधा रहेको दुुर्गम गाउँका गर्भवतीलाई भिडियो एक्सरे सेवा प्रभावकारी भएसँगै जिल्ला अस्पतालसम्म जानुपर्ने अवस्था अन्त्य भएको गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङले बताउनुभयो ।






प्रतिक्रिया