बानियाँटार । नुवाकोट जिल्ला, पञ्चकन्या-१, बानियाँटारस्थित इन्द्रायणी माध्यमिक विद्यालयको ३७औँ वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको जग्गा खरिद गर्न सञ्चालन गरिएको चन्दा अभियानका चन्दादाता र वार्षिक गतिविधिमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीसहित दुई सय १० जना सम्मानित भएका छन् ।
गाउँपालिका अध्यक्ष तेजबहादुर (रमेश) तामाङले उद्घाटन गर्नुभएको वार्षिकोत्सव कार्यक्रममा उपाध्यक्ष विमला पाठक केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, वडा नम्बर १ का अध्यक्ष माहानन्द ढकाललगायतको उपस्थिति रहेको थियो । अध्यक्ष तामाङले सो कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘सङ्घीयतापछि इन्द्रायणीलाई नमुना बनाउने लक्ष्यसहित कार्य गरेकोमा लगानीअनुसार विद्यालयले हासिल गरेको उपलब्धि सन्तोषजनक रहेकाले अन्य विद्यालयले पनि यसको सिको गर्नुपर्छ ।’ विद्यालयले स्थानीय कृषकमा आय-आर्जनका लागि विविध गतिविधि गरेको तथा आगामी दिनमा पनि थप विस्तार गर्न सुझाव दिँदै विद्यार्थीको चाप बढ्दै गएमा प्राविधिकतर्फका थप विषय अध्यापन थप गराउन पालिकाले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानाध्यापक राम्रो र सक्षम भए मात्र विद्यालय राम्रो हुनेरहेछ भन्ने प्रमाणित भएको र युवा (जेन-जी) प्रधानाध्यापक कुमार पाठकले व्यक्तिगत स्वार्थ त्यागेर आफूलाई विद्यालयमा समर्पित गरेकोमा खुसी लागेको र आवश्यक सहयोग गर्नेछु ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम पाठकको सभापतित्वमा भएको सो कार्यक्रममा प्रधानाध्यापक पाठकले वार्षिक गतिविधि, विश्लेषण र आय-यय, आगामी योजना प्रस्तुत गर्नुभएको थियो । स्थानीय कलाकार अर्जुन भुसाल र सविता ढुङ्गानाको साङ्गीतिक प्रस्तुति रहेको सो कार्यक्रममा विज्ञान तथा कृषि प्रविधि प्रदर्शनी र विद्यार्थी तथा शिक्षकको कला, नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयको जग्गा खरिद गर्न सञ्चालन गरिएको चन्दा अभियानका चन्दादाता र वार्षिक गतिविधिमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत हिराधन राईले विद्यालयबारे धेरै सुनेको, आफू पञ्चकन्या आएको धेरै नभएकाले आउन रहर भएको, आउँदा धेरै राम्रो वातावरण र समयानुकूल युवा प्रधानाध्यापक, विव्यस अध्यक्ष, वडाध्यक्ष, अभिभावक सबै मिलेर गरे सम्भव हुनेरहेछ भन्ने उदाहरण बन्न सफल भएको र अरूलाई पनि देखाउन लायक विद्यालय बनाएकोमा शिक्षक, विद्यार्थी, अभिभावक, समिति र सबैलाई बधाई दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम पाठकले सो कार्यक्रममा भन्नुभयो, ‘सबैको साथ, सहयोगका लागि धन्यवाद र प्रशंसाका शब्दले अझै हौसला मिलेको, सहकार्यले धेरै उपलब्धि हासिल गर्न सकिन्छ र विद्यालयलाई यो अवस्थासम्म पुर्याउन महत्त्वपूर्ण योगदानको स्मरण गर्छु ।’




प्रतिक्रिया