विदुर । लिखु-६ थानसिंस्थित महेन्द्र महेशदेव माविले भन्सार छुटमा खरिद गरेको बस मङ्सिर १४ गते आइतबारदेखि पूजापाठ गरी सञ्चालन भएको छ ।
चन्दा सहयोग सङ्कलन गरेको रकममध्ये रु.२८ लाख ८० हजारबाट नेपाल सरकारबाट भन्सार छुटमा सिप्रदी ट्रेडर्स प्रा.लि.मार्फत भारतमा बनेको टाटा कम्पनीको चालकसहित ४१ सिट रहेको बस खरिद गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रचण्डभक्त श्रेष्ठले बताउनुभयो । बस खरिदका लागि अघिल्लो व्यवस्थापन समितिको अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा चन्दा सहयोग सङ्कलन भएको विद्यालयले जानकारी दिएको छ । विद्यालयमा नेपाल सरकारको एक निर्वाचन क्षेत्र एक प्राविधिक तथा व्यावसायिक विद्यालय कार्यक्रममा छनोट भई विद्यालयमा कक्षा नौदेखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषयको प्राविधिक तथा व्यावसायिक कार्यक्रम सञ्चालन भइरहेको छ । विसं २०६४ देखि साधारणधारतर्फ कक्षा ११ र १२ मा कम्प्युटरको कक्षासमेत सञ्चालन भइरहेको छ । बस सञ्चालन भएपछि टाढाटाढादेखि अध्ययन गर्न आउने विद्यार्थीलाई सुविधा पुगेको प्रधानाध्यापक मदन श्रेष्ठले बताउनुभयो । विद्यालयमा लिखुसहित ककनी, शिवपुरी, पञ्चकन्यालगायतका छिमेकी गाउँपालिकाबाट विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । गत शैक्षिक सत्र २०८२ को एसइईमा सहभागी प्राविधिक धारतर्फका परीक्षार्थी शत-प्रतिशत उत्तीर्ण भएको विद्यालयले जानकारी दिएको छ । बसको पूजा तथा सञ्चालनको कार्यक्रमको शुभारम्भ पालिका अध्यक्ष धुव्र श्रेष्ठले सोही दिन गर्नुभएको विद्यालयका शैक्षिक विकास समितिका संयोजक सुदर्शन भण्डारीले बताउनुभयो ।




प्रतिक्रिया