देश राजनीति गुन्डागर्दी र भ्रष्टाचारको दलदलमा भासिँदै जानु र हरेक गतिविधि बिचौलियाकै खटनपटनमा चल्न थालेसि जेन-जी अहिले आफ्नो चकनाचुर भएको सपना हेर्दै कविता लेख्दै होला, ओके छ त ! जुन सर्खार आएनि खानेपिउने मात्र, जुन जोगी आए नि कानै चिरेसरह, कसो ? बिचौलियाले राजनीतिक, आर्थिक, प्रशासनिक क्षेत्र त क्वाप्पै बनाएको नेताकै बलमा हो क्यारे, ओके छ त ! अदुअआले विमानस्थल भ्रष्टाचार काण्डमा एकैपटक पाँच पूर्वमन्त्रीसहित ६ दर्जनलाई मुद्दा दायर गरेसि सकिगोनि । हाहाहुहुका बलमा बनेको सर्खारले परिवर्तन गर्छन् कि भन्ने आसमा रहेकालाई सुशीला आमैले कारबाहीका सट्टा संरक्षण पो गरिन्, ओके छ त ! किसानको खेतबारीदेखि उपभोक्ताका भान्सासम्म बिचौलियाको रजगज देख्दा महँगीलाई नागरिकले स्वागत नगरी भो ? किसान र उपभोक्तामाथि दिनदहाडै चरणबद्ध शोषण हुँदानि टुलुटुलु हेर्ने सर्खार हुनुभन्दा नभएकै बेस । शोषित उपभोक्ताको हकहितका नाममा खुलेका अधिकारकर्मी पनि डलर कुम्ल्याउँदै बिचौलियाको चास्नीमा चुर्लुम्मै, ओके छ त ! जताततै ब्रह्मलुट चलिरहँदानि सबै चुपचुप पो छन् । देसाँ बिचौलियालाई पशुपतिनाथकै साथ छ जस्तो छ, ओके छ त !




प्रतिक्रिया