बद्री मैनाली
अध्यक्ष
नेकपा (एमाले) जिल्ला कमिटी नुवाकोट
नेकपा एमाले नुवाकोटको अध्यक्ष रहेका बद्री मैनालीले पर्सि २७ गते, शनिबारदेखि हुन लागेको नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरी पठाइएको जानकारी दिनुभएको छ । उहाँले केन्द्रमा दुई समूह भए पनि जिल्लाबाट पुराना र निरन्तर पार्टीमा क्रियाशील नेतालाई चयन गरेको दाबी गर्नुभएको छ । उहाँको दाबीलाई पार्टीका एक पङ्क्तिले प्रतिनिधि चयन नेताका गोजीबाट आएको नाम भन्दै आलोचना पनि गरिरहेका छन् । पार्टी अध्यक्ष मैनालीसँग एमाले नुवाकोटको हालको गतिविधि र केन्द्रीय महाधिवेशनको सन्दर्भमा ‘त्रिशूली प्रवाह’ साप्ताहिकका लागि विष्णु तारुकेले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
अहिले नुवाकोटमा एमालेको गतिविधि कसरी चलिरहेको छ ?
हामीले भदौ २३ र २४ को जुन खालको एउटा विध्वंस घटनापछि नुवाकोटको गतिविधि, पार्टी गतिविधिलाई एक ढङ्गले गतिशील बनाइरहेका छौँ । केन्द्रीय कमिटी, प्रदेश कमिटीबाट प्राप्त निर्देशन नयाँ ढङ्गले पार्टी सङ्गठन विस्तार गर्दै जनतालाई गोलबन्द गरिरहेका छौँ । यो व्यवस्था र संविधान तथा मुलुकको अस्तित्व जोगाउनका लागि नुवाकोटमा एमालेले जुन खालको योगदान गर्नुपर्ने हो त्यो सशक्त ढङ्गले गरिरहेको छ । पार्टीले वडा तहसम्मको सङ्गठनलाई चलायमान बनाउँदै पार्टीको पक्षमा जनलहर आउने गरी कार्यकर्तालाई परिचालन गरिरहेका छौँ । पार्टीले जेन-जी विद्रोहको भावनाअनुसार युवालाई नेतृत्वमा ल्याउने गरी तयारी थालेको छ ।
नुवाकोटमा एमाले कमजोर हुँदै गएको विपक्षले भन्न थालेका छन् नि ?
त्यो गलत कुरा हो । विभिन्न कारणले परिणामको हिसाबले देख्दा कमजोर ठानिएको हो भने त्यो गलत छ । पार्टीको सङ्गठित सदस्य बढ्दो क्रममा छ । पार्टीप्रति जनताको आकर्षण बढेको छ । गत विसं. २०७९ को स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा नेपाली काङ्ग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (समाजवादी) लगायत दलहरूको गठबन्धनले निर्वाचन परिणाम हाम्रो पक्षमा नआएको सत्य हो । अहिले पनि एक्लाएक्लै चुनाव लड्ने हो भने हामी अन्य दलभन्दा अगाडि छौँ ।
निर्वाचनको परिणाम नआउँदा राज्यसत्तासँग टाढा हुने भइयो नि त ?
जनताको अपेक्षा पूरा गर्न राज्यसत्तामा पुग्नैपर्छ । राज्यसत्तामा नहुँदा जनताको पक्षमा काम गर्न सकिँदैन । संसदीय व्यवस्थामा जसरी पनि पार्टी राज्यसत्ता सञ्चालन गर्न नेतृत्वमा पुग्नैपर्छ । त्यसका लागि निर्वाचन जित्नुपर्छ । हाम्रो पार्टीले स्थानीय तह, प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्न नसक्दा कार्यकर्ता र जनतालाई पार्टीमा टिकाइराख्न मुस्किल परेको छ । विगतमा विपक्षी गठबन्धनको कारणले सिट देखाउन नसकेको हो । अब परिस्थिति बदलिएको छ । विपक्षीहरू गुट, फुट र नीतिको कारणले कमजोर बनिरहेका छन् । अब हुने चुनावमा हाम्रो उपस्थिति अरू दलका लागि फलामको चिउरा चपाउनुसरह हुनेछ ।
एमाले ११औँ महाधिवेशनको सम्मुखमा छ, कतिपय जिल्लामा चाहिँ चुनावै भयो, नुवाकोट त सर्वसम्मत प्रतिनिधि पठाउन सफल देखियो नि ?
केन्द्र, प्रदेश र जिल्ला तहका नेताको साथ र सहयोगले प्रतिनिधि सर्वसम्मत गराउन हामी सफल भयौँ । यसका लागि विभिन्न तहमा भएको नेताहरूको छलफल र संवादले सहज भयो । केन्द्रमा दुई समूहबिच प्रतिस्पर्धा हुने चर्चा भए पनि जिल्लामा पुराना तथा निरन्तर पार्टीमा सक्रिय भएका र वर्तमान नेतृत्वमा रहेकालाई प्राथमिकता दिएकोले सर्वसम्मत गर्न सकेको हौँ ।
महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षको एकलौटी प्रतिनिधि ल्याउनुभयो भन्ने पनि आरोप छ नि ?
होइन, हामीले सबै पक्षलाई मिलाएर ल्याएका छौँ । अरूले भनेजस्तो चाहिँ ओली पक्षमा शतप्रतिशत प्रतिनिधि छनोट भएको छैन । छनोट भएको नाम हेर्दा पनि त्यो आरोप पुष्टि हुँदैन । कसले के भन्छ, के गर्छ, त्यो हाम्रो सरोकारको विषय होइन । पार्टीलाई एकढिक्का बनाएर सबैको अस्तित्व स्विकार्दै अगाडि नबढे नेकपा (माओवादी केन्द्र) र नेकपा (समाजवादी) जस्तो पार्टी नै बिलाउने अवस्था आउनेछ । हामीले त्यो कुरालाई मनन गरेका छौँ ।
छनोट भएका महाधिवेशन प्रतिनिधिप्रति कतिपय साथीको विमति छ, एकलौटीको नाममा खेलोफड्को गरियो भन्ने खालका कुरा पनि आइराखेका छन्, उक्त आवाजलाई कसरी मत्थर पार्नुहुन्छ ?
बाहिर चलेको हल्ला सबै सत्य हुँदैन । प्रतिनिधि छनोटका लागि कमिटीमा घनीभूत छलफल भएको छ । त्यो छलफलमा जिम्मेवार नेता कमरेड सहभागी हुनुहुन्छ । सबैको सल्लाह र सुझावअनुसार आकाङ्क्षीहरूमध्ये पुराना र निरन्तर सक्रिय भएकामध्येबाट क्षेत्र, भूगोल, युवा, दलित, महिला, सबैलाई मिलाएर प्रतिनिधि छानिएका छन् । अधिकांश समय काठमाडौँमा बस्ने, जिल्ला नफर्कने अनि प्रतिनिधि चाहियो भन्दै अनलाइन र सामाजिक सञ्जालमा पार्टीका विरूद्ध भ्रम सिर्जना गर्दै के-के लेखाउँछन्, के-के बोल्छन्, त्यसलाई आधिकारिकता मान्नुहुँदैन । पार्टी नीति, विधि र पद्धतिले चल्छ । नेतृत्वमा बस्नेले झिनामसिना कुरालाई सुनेर अलमलियो भने त पार्टी सखाप हुन्छ । नुवाकोटमा पार्टी सञ्चालनका लागि सबै नेता र कार्यकर्ताको साथ रहेको छ । पार्टीप्रति गुनासो गर्न पाइन्छ । ती गुनासो सम्बन्धित निकायमा गर्नुपर्छ । प्रक्रियागत आएका सबै गुनासोलाई सम्बोधन गर्दै अहिलेको नेतृत्व अगाडि बढिरहेको छ ।
तपाईं केन्द्रमा जाने चर्चा पनि चलिराछ, के हो वास्तविकता ?
अहिले राष्ट्रमा जुन जटिल परिस्थिति छ, त्यो परिस्थितिमा महाधिवेशन हुन लागेकाले पार्टी एकतालाई कायम गर्दै सर्वसम्मत सबै नेताहरूलाई मिलाएर नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा म छु । अब त्यति हुँदाहुँदा पनि हामीले टुङ्ग्याउन, मिलाउन सकेनौँ भने हाम्रो विधि-विधानले व्यवस्था गरेको, संविधानले व्यवस्था गरेको जुन लोकतान्त्रिक पद्धति छ, त्यसमा त टुङ्ग्याएर जानैपर्छ । मेरो जोड के रहन्छ भने अब यो सबै अहिलेको परिस्थितिमा खासगरी संविधानको रक्षाका लागि, यो मुलुकको रक्षाका लागि, राष्ट्र-राष्ट्रियता कमजोर भइरहेको, देशी-विदेशी शक्तिले खेलिरहेको अवस्थामा यसलाई परास्त गर्न सक्षम नेतृत्व चयन गर्न मेरोतर्फबाट सक्दो पहल हुनेछ । सबै प्रतिनिधिलाई मेरो आग्रह छ-पार्टी कमजोर हुने गरी समूहसमूहमा विभाजित नहोऔँ ।
फागुन २१ गते हुने निर्वाचनको तयारी जिल्लामा कसरी भइरहेको छ । क्षेत्र नं १ र २ बाट को-को उठ्दै छन् ?
हाम्रो पार्टी महाधिवेशन सकिनासाथ फागुन २१ गते हुने निर्वाचनमा केन्द्रित हुनेछ । पार्टीको निर्देशनअनुसार गर्नुपर्ने गतिविधि ८८ वटै वडा र १२ वटै पालिका तथा चार प्रदेश र दुई सङ्घीय क्षेत्रमा गरिरहेका छौँ । निष्पक्ष र सुरक्षित निर्वाचनको पक्षमा हाम्रो पार्टी रहेको छ । वर्तमान सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेकाले निर्वाचन हुनेमा सर्वत्र आशङ्का व्यक्त भइरहेको छ । यो अवस्थामा पनि नुवाकोटमा एमालेको गतिविधि अरू प्रतिस्पर्धी पार्टीको भन्दा सशक्त ढङ्गले भइरहेको छ । निर्वाचनको तयारी सँगसँगै सम्भावित उम्मेदवारको तल्लो पार्टी कमिटीबाट नामावली सङ्कलन गरिरहेका छौँ । निर्वाचनका लागि उम्मेदवार बन्न मलगायत केशव पाण्डे, बिन्दा ढुङ्गाना, नारायणप्रसाद खतिवडा, काशी अधिकारी, सुशील खड्का, ठाकुरप्रसाद गजुरेल, केपी उप्रेती, विष्णु रिमाल, बिन्दा पाण्डेको नाम चर्चामा रहेको छ । यी नाममध्येबाटै निर्वाचन क्षेत्र १ र २ मा उम्मेदवार तय हुनेछ ।




प्रतिक्रिया