+
Search

ताजा अपडेट +

पपुलर +

भूगोलमा नखट्नेहरू प्रतिनिधि चाहियो भन्दै अनलाइन र सामाजिक सञ्जालमा पार्टीका विरुद्ध विष वमन गर्छन्

भूगोलमा नखट्नेहरू प्रतिनिधि चाहियो भन्दै अनलाइन र सामाजिक सञ्जालमा पार्टीका विरुद्ध विष वमन गर्छन्
त्रिशूली प्रवाह
६ महिना अगाडी

बद्री मैनाली
अध्यक्ष
नेकपा (एमाले) जिल्ला कमिटी नुवाकोट

Utsuk Books & Stationery

नेकपा एमाले नुवाकोटको अध्यक्ष रहेका बद्री मैनालीले पर्सि २७ गते, शनिबारदेखि हुन लागेको नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरी पठाइएको जानकारी दिनुभएको छ । उहाँले केन्द्रमा दुई समूह भए पनि जिल्लाबाट पुराना र निरन्तर पार्टीमा क्रियाशील नेतालाई चयन गरेको दाबी गर्नुभएको छ । उहाँको दाबीलाई पार्टीका एक पङ्क्तिले प्रतिनिधि चयन नेताका गोजीबाट आएको नाम भन्दै आलोचना पनि गरिरहेका छन् । पार्टी अध्यक्ष मैनालीसँग एमाले नुवाकोटको हालको गतिविधि र केन्द्रीय महाधिवेशनको सन्दर्भमा ‘त्रिशूली प्रवाह’ साप्ताहिकका लागि विष्णु तारुकेले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

अहिले नुवाकोटमा एमालेको गतिविधि कसरी चलिरहेको छ ?
हामीले भदौ २३ र २४ को जुन खालको एउटा विध्वंस घटनापछि नुवाकोटको गतिविधि, पार्टी गतिविधिलाई एक ढङ्गले गतिशील बनाइरहेका छौँ । केन्द्रीय कमिटी, प्रदेश कमिटीबाट प्राप्त निर्देशन नयाँ ढङ्गले पार्टी सङ्गठन विस्तार गर्दै जनतालाई गोलबन्द गरिरहेका छौँ । यो व्यवस्था र संविधान तथा मुलुकको अस्तित्व जोगाउनका लागि नुवाकोटमा एमालेले जुन खालको योगदान गर्नुपर्ने हो त्यो सशक्त ढङ्गले गरिरहेको छ । पार्टीले वडा तहसम्मको सङ्गठनलाई चलायमान बनाउँदै पार्टीको पक्षमा जनलहर आउने गरी कार्यकर्तालाई परिचालन गरिरहेका छौँ । पार्टीले जेन-जी विद्रोहको भावनाअनुसार युवालाई नेतृत्वमा ल्याउने गरी तयारी थालेको छ ।

नुवाकोटमा एमाले कमजोर हुँदै गएको विपक्षले भन्न थालेका छन् नि ?
त्यो गलत कुरा हो । विभिन्न कारणले परिणामको हिसाबले देख्दा कमजोर ठानिएको हो भने त्यो गलत छ । पार्टीको सङ्गठित सदस्य बढ्दो क्रममा छ । पार्टीप्रति जनताको आकर्षण बढेको छ । गत विसं. २०७९ को स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा नेपाली काङ्ग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (समाजवादी) लगायत दलहरूको गठबन्धनले निर्वाचन परिणाम हाम्रो पक्षमा नआएको सत्य हो । अहिले पनि एक्लाएक्लै चुनाव लड्ने हो भने हामी अन्य दलभन्दा अगाडि छौँ ।

निर्वाचनको परिणाम नआउँदा राज्यसत्तासँग टाढा हुने भइयो नि त ?
जनताको अपेक्षा पूरा गर्न राज्यसत्तामा पुग्नैपर्छ । राज्यसत्तामा नहुँदा जनताको पक्षमा काम गर्न सकिँदैन । संसदीय व्यवस्थामा जसरी पनि पार्टी राज्यसत्ता सञ्चालन गर्न नेतृत्वमा पुग्नैपर्छ । त्यसका लागि निर्वाचन जित्नुपर्छ । हाम्रो पार्टीले स्थानीय तह, प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्न नसक्दा कार्यकर्ता र जनतालाई पार्टीमा टिकाइराख्न मुस्किल परेको छ । विगतमा विपक्षी गठबन्धनको कारणले सिट देखाउन नसकेको हो । अब परिस्थिति बदलिएको छ । विपक्षीहरू गुट, फुट र नीतिको कारणले कमजोर बनिरहेका छन् । अब हुने चुनावमा हाम्रो उपस्थिति अरू दलका लागि फलामको चिउरा चपाउनुसरह हुनेछ ।

एमाले ११औँ महाधिवेशनको सम्मुखमा छ, कतिपय जिल्लामा चाहिँ चुनावै भयो, नुवाकोट त सर्वसम्मत प्रतिनिधि पठाउन सफल देखियो नि ?
केन्द्र, प्रदेश र जिल्ला तहका नेताको साथ र सहयोगले प्रतिनिधि सर्वसम्मत गराउन हामी सफल भयौँ । यसका लागि विभिन्न तहमा भएको नेताहरूको छलफल र संवादले सहज भयो । केन्द्रमा दुई समूहबिच प्रतिस्पर्धा हुने चर्चा भए पनि जिल्लामा पुराना तथा निरन्तर पार्टीमा सक्रिय भएका र वर्तमान नेतृत्वमा रहेकालाई प्राथमिकता दिएकोले सर्वसम्मत गर्न सकेको हौँ ।

महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षको एकलौटी प्रतिनिधि ल्याउनुभयो भन्ने पनि आरोप छ नि ?
होइन, हामीले सबै पक्षलाई मिलाएर ल्याएका छौँ । अरूले भनेजस्तो चाहिँ ओली पक्षमा शतप्रतिशत प्रतिनिधि छनोट भएको छैन । छनोट भएको नाम हेर्दा पनि त्यो आरोप पुष्टि हुँदैन । कसले के भन्छ, के गर्छ, त्यो हाम्रो सरोकारको विषय होइन । पार्टीलाई एकढिक्का बनाएर सबैको अस्तित्व स्विकार्दै अगाडि नबढे नेकपा (माओवादी केन्द्र) र नेकपा (समाजवादी) जस्तो पार्टी नै बिलाउने अवस्था आउनेछ । हामीले त्यो कुरालाई मनन गरेका छौँ ।

छनोट भएका महाधिवेशन प्रतिनिधिप्रति कतिपय साथीको विमति छ, एकलौटीको नाममा खेलोफड्को गरियो भन्ने खालका कुरा पनि आइराखेका छन्, उक्त आवाजलाई कसरी मत्थर पार्नुहुन्छ ?
बाहिर चलेको हल्ला सबै सत्य हुँदैन । प्रतिनिधि छनोटका लागि कमिटीमा घनीभूत छलफल भएको छ । त्यो छलफलमा जिम्मेवार नेता कमरेड सहभागी हुनुहुन्छ । सबैको सल्लाह र सुझावअनुसार आकाङ्क्षीहरूमध्ये पुराना र निरन्तर सक्रिय भएकामध्येबाट क्षेत्र, भूगोल, युवा, दलित, महिला, सबैलाई मिलाएर प्रतिनिधि छानिएका छन् । अधिकांश समय काठमाडौँमा बस्ने, जिल्ला नफर्कने अनि प्रतिनिधि चाहियो भन्दै अनलाइन र सामाजिक सञ्जालमा पार्टीका विरूद्ध भ्रम सिर्जना गर्दै के-के लेखाउँछन्, के-के बोल्छन्, त्यसलाई आधिकारिकता मान्नुहुँदैन । पार्टी नीति, विधि र पद्धतिले चल्छ । नेतृत्वमा बस्नेले झिनामसिना कुरालाई सुनेर अलमलियो भने त पार्टी सखाप हुन्छ । नुवाकोटमा पार्टी सञ्चालनका लागि सबै नेता र कार्यकर्ताको साथ रहेको छ । पार्टीप्रति गुनासो गर्न पाइन्छ । ती गुनासो सम्बन्धित निकायमा गर्नुपर्छ । प्रक्रियागत आएका सबै गुनासोलाई सम्बोधन गर्दै अहिलेको नेतृत्व अगाडि बढिरहेको छ ।

तपाईं केन्द्रमा जाने चर्चा पनि चलिराछ, के हो वास्तविकता ?
अहिले राष्ट्रमा जुन जटिल परिस्थिति छ, त्यो परिस्थितिमा महाधिवेशन हुन लागेकाले पार्टी एकतालाई कायम गर्दै सर्वसम्मत सबै नेताहरूलाई मिलाएर नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा म छु । अब त्यति हुँदाहुँदा पनि हामीले टुङ्ग्याउन, मिलाउन सकेनौँ भने हाम्रो विधि-विधानले व्यवस्था गरेको, संविधानले व्यवस्था गरेको जुन लोकतान्त्रिक पद्धति छ, त्यसमा त टुङ्ग्याएर जानैपर्छ । मेरो जोड के रहन्छ भने अब यो सबै अहिलेको परिस्थितिमा खासगरी संविधानको रक्षाका लागि, यो मुलुकको रक्षाका लागि, राष्ट्र-राष्ट्रियता कमजोर भइरहेको, देशी-विदेशी शक्तिले खेलिरहेको अवस्थामा यसलाई परास्त गर्न सक्षम नेतृत्व चयन गर्न मेरोतर्फबाट सक्दो पहल हुनेछ । सबै प्रतिनिधिलाई मेरो आग्रह छ-पार्टी कमजोर हुने गरी समूहसमूहमा विभाजित नहोऔँ ।

फागुन २१ गते हुने निर्वाचनको तयारी जिल्लामा कसरी भइरहेको छ । क्षेत्र नं १ र २ बाट को-को उठ्दै छन् ?
हाम्रो पार्टी महाधिवेशन सकिनासाथ फागुन २१ गते हुने निर्वाचनमा केन्द्रित हुनेछ । पार्टीको निर्देशनअनुसार गर्नुपर्ने गतिविधि ८८ वटै वडा र १२ वटै पालिका तथा चार प्रदेश र दुई सङ्घीय क्षेत्रमा गरिरहेका छौँ । निष्पक्ष र सुरक्षित निर्वाचनको पक्षमा हाम्रो पार्टी रहेको छ । वर्तमान सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेकाले निर्वाचन हुनेमा सर्वत्र आशङ्का व्यक्त भइरहेको छ । यो अवस्थामा पनि नुवाकोटमा एमालेको गतिविधि अरू प्रतिस्पर्धी पार्टीको भन्दा सशक्त ढङ्गले भइरहेको छ । निर्वाचनको तयारी सँगसँगै सम्भावित उम्मेदवारको तल्लो पार्टी कमिटीबाट नामावली सङ्कलन गरिरहेका छौँ । निर्वाचनका लागि उम्मेदवार बन्न मलगायत केशव पाण्डे, बिन्दा ढुङ्गाना, नारायणप्रसाद खतिवडा, काशी अधिकारी, सुशील खड्का, ठाकुरप्रसाद गजुरेल, केपी उप्रेती, विष्णु रिमाल, बिन्दा पाण्डेको नाम चर्चामा रहेको छ । यी नाममध्येबाटै निर्वाचन क्षेत्र १ र २ मा उम्मेदवार तय हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह