विदुर । नुवाकोट निर्माण व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभा शनिबार वनभोज कार्यक्रमसहित सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिका-८, सिसौघारी, त्रिशूलीबगरमा बृहत् वनभोजसहितको सभाको उद्घाटन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङले गर्नुभएको थियो ।

सो कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष आशाबहादुर तामाङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश (तेज) बहादुर तामाङ, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति जगतबहादुर तामाङ, सङ्घका पूर्वअध्यक्ष एवम् सल्लाहकार फैसिंह तामाङ, बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहाल, सङ्घका निवर्तमान अध्यक्ष सुमन अधिकारी, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटालगायत व्यवसायीले हाल निर्माण व्यवसायीको रुग्ण अवस्था र अबको भावी चुनौतीको विषयमा प्रस्ट्याउनुभएको थियो ।

कार्यक्रममा जिल्लास्थित बैंकका प्रमुख एवम् प्रतिनिधि र निर्माण व्यवसायीको उपस्थिति रहेको थियो । सभामा निर्माण व्यवसायीले भोगिरहेका समस्याबारे बृहत् छलफल भएको, उक्त छलफलमा उठाइएका विषयलाई सम्बन्धित निकायमा जानकारी गराउने निर्णय भएको सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले बताउनुभयो । सभामा कोषाध्यक्ष श्यामबहादुर तामाङले आय-व्यय र महासचिव सुशील फुयाँलले सङ्घको गतिविधि प्रस्तुत गर्नुभएको थियो ।




प्रतिक्रिया