धुन्चे । गत असार २४ को बाढीले क्षतिग्रस्त रसुवागढी नाकामा नयाँ बेलिब्रिज जडान भएको छ । पुलको प्राविधिक परीक्षण चलिरहेको र समस्या नदेखिए अर्को सातासम्म नाका सञ्चालनको तयारी भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।
पुल निर्माणको काम सकिएको र प्राविधिक परीक्षण चलिरहेको जानकारी पाएको प्रजिअ पन्थीले बताउनुभयो । चिनियाँ पक्षले पुलबारे आधिकारिक जानकारी भने नेपाली पक्षलाई दिएको छैन । पुल निर्माणको काम सम्पन्न भएर प्राविधिक परीक्षण सुरु भएसँगै नेपाली पक्षले नाका सञ्चालनका लागि तयारी थालेको छ । रसुवागढी भन्सार कार्यालयले दैनिक ५०-६० वटा गाडी जाँचपास गर्न सकिने जानकारी गराएको छ । बाढीले पुलसँगै बगाएको भन्सारको यार्ड पनि बनाउने काम जारी छ । बाढीले पुलसँगै नेपालतर्फ सडकमा पनि ठुलो क्षति पुर्याएको छ । हाल ट्र्याक खोलेर सडक कामचलाउ रूपमा सञ्चालन भइरहेको छ । नाका खुलेपछि रसुवागढीदेखि स्याफ्रुबेँसीसम्म एकतर्फी रूपमा सडक सञ्चालन गर्ने योजना रहेको प्रजिअ पन्थीले बताउनुभयो । रसुवागढीदेखि स्याफ्रुबेँसीसम्म १६ किलोमिटर सडक पानी परेपछि सञ्चालन गर्न कठिन हुने अवस्था छ । सडक निर्माणको ठेक्का पनि गल्छी-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक सुधार आयोजनाले चिनियाँ ठेकेदार कम्पनीलाई नै दिइसकेको छ । सो कम्पनीले कामदार राख्न क्याम्प निर्माण गरिसकेको छ । नाका खुलेलगत्तै थप काम सुरु गर्ने उनीहरूले जानकारी गराएका छन् ।




प्रतिक्रिया