विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घले नुवाकोट महोत्सव २०८२ आगामी माघमा आयोजना गर्ने भएको छ । माघ ७ देखि १७ गतेसम्म नुवाकोटको विदुरमा महोत्सव हुने जानकारी सङ्घले दिएको छ ।
विगतको नेपालकै आर्थिक, सांस्कृतिक तथा ऐतिहासिक केन्द्रका रूपमा रहेको नुवाकोटको पहिचानलाई थप सबल बनाउन र उजागर गर्न स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटकीयस्थल र व्यवसायलाई राष्ट्रियस्तरमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न तथा उद्यमशीलता घरेलु तथा साना उद्योगलाई बजार र अवसर प्रदान गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । करिब दुई सय अत्याधुनिक र व्यवस्थित व्यावसायिक स्टलको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रदर्शन तथा बिक्री, खाना उत्सव, कला, संस्कृतिका विभिन्न रूपका प्रदर्शन, विषयगत झाँक्री, पर्यटन प्रवद्र्धन कार्यक्रमलगायत आकर्षक तथा उपयोगी गतिविधि समावेश गराइने बताइएको छ । महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, जिल्लाका प्रमुख पर्यटकीय स्थलको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यावसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमीलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा जिल्ला र देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ ।
सङ्घले नुवाकोटमा विसं २०६३ मा पहिलो महोत्सव गरेको थियो । त्यसपछि विसं २०६६, २०७०, २०७३, २०७६, २०७९, २०८० मा सम्पन्न गरिसकेको छ । जिल्लामा पहिलो महोत्सव २०६३ मा सङ्घका अध्यक्ष शरणउत्सुक सापकोटाका नेतृत्वमा भएको थियो भने यो आठौँ महोत्सव आगामी माघ ७ देखि गर्ने तयारीमा सङ्घ जुटेको छ । महोत्सवलाई विगतको भन्दा फरक र जिल्लाका कृषि तथा घरेलु उत्पादन, कला, सिर्जना र रैथाने खानाको प्रदर्शनीलाई प्राथमिकता दिइएको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनुभयो । महोत्सव सफल बनाउन कार्यविभाजन गरी सङ्घका पूर्वाध्यक्ष, पदाधिकारी, कार्यसमितिका सदस्य र वस्तुगत सदस्य सङ्घलाई जिम्मेवारी दिइएको महासचिव उपेन्द्र बुढाथोकीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।




प्रतिक्रिया