+
Search

ताजा अपडेट +

पपुलर +

चर्चामा नआएको ग्रुब्राकुण्ड

चर्चामा नआएको ग्रुब्राकुण्ड
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । रसुवा जिल्लामा गोसाइँकुण्ड, पार्वतीकुण्ड, भैरवकुण्ड, नागकुण्ड, सूर्यकुण्डसहित एक सय आठ कुण्ड रहेको भए पनि कति कुण्डको त नामै बाहिर आएको छैन । नामै बाहिर नआएका आमाछोदिङ्मो गाउँपालिका-५, टेताङ्चेमा रहेको ग्रुब्राकुण्डको अहिले चर्चा भइरहेको छ ।

हरेक वर्ष जनैपूर्णिमाको दिन मेला लाग्ने यस कुण्डबारे स्थानीय कमैलाई मात्र जानकारी रहेको बताइन्छ । प्रायः स्थानीय झाँक्री र केही स्थानीय समुदाय मात्रै जाने यस कुण्डबारे अधिकांश रसुवावासी अनभिज्ञ छन् । यो कुण्डमा झाँक्रीले घ्यु र गाईको दुधले मात्र पूजा गर्ने प्रचलन रहेको स्थानीय सोनाम तामाङले बताउनुभयो । महिनावारी भएको महिला र जुठो-सुतक परेको मानिस त्यस कुण्डमा गए तत्कालै बादल लाग्ने, अँध्यारो हुने भन्ने जनविश्वास रहिरहेकोसमेत उहाँले बताउनुभयो । यस कुण्डमा बोली नफुटेका बालबालिकालाई नुहाइदिएमा बोल्न सक्ने, कान नसुन्नेले कान सुन्ने, गानुगोला रोगीले नुहाएमा गानुगोलाको पीडा हराउने, छालासम्बन्धी रोग रहेकाले नुहाएमा छालासम्बन्धी रोग हराउने जनविश्वास रहेको छ । यो कुण्डलाई प्रचारप्रसारमा ल्याउन सके धार्मिक पर्यटकीयस्थलको रूपमा स्थापित हुन सक्ने रसुवा-नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले बताउनुभयो । जिल्लामा अनगिन्ती प्रकृति निर्मित तालकुण्डको खोजी र प्रचार-प्रसार जरुरी रहेकोसमेत उहाँले बताउनुभएको छ ।

ग्रुब्राकुण्ड तथा यस क्षेत्रका आकर्षण
– नेपालको उत्तराखण्डमा रहेको एक सय आठ कुण्डमध्ये यो ग्रुब्राकुण्ड पनि एक हो ।
– यो कुण्डमा स्नान र पूजा-आराधना गर्दा धार्मिक लाभ भई आफूले सोचेको सबै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।
– यस क्षेत्रको मुख्य विशेषता तामाङ संस्कृतिको वेशभूषा, नाचगान, हिमाली गाउँबस्ती ।

कसरी पुग्ने ?
– काठमाडौँबाट त्रिशूली, धुन्चे, स्याफ्रुबेँसी, गोल्जुङ, थाम्बुचेत, चिलिमे गाउँ हुँदै पुग्न सकिन्छ ।
– कुण्डनजिकैसम्म सडक सञ्जालमार्ग रहेकाले जोसुकै पनि सजिलै जान सकिन्छ ।

यसरी हाम्रो गाउँठाउँमा रहेको दैवी शक्ति ठाउँलाई पहिचान गरी संरक्षण र प्रचारप्रसार दिन सके आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुनेबित्तिकै त्यस ठाउँको जनजीवन उकालो लाग्नेमा दुईमत नभएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउनुहुन्छ । यस्तै, पर्यटनको क्षेत्रमा व्यापक रूपमा प्रचार गरी बाह्य पर्यटकलाई पनि प्रचार गरी देखाउने र आन्तरिकमाझ पनि लागिरहेको रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो । यस पर्यटन समाजले पनि आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सक्दो प्रयास भइरहेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह