+
Search

ताजा अपडेट +

पपुलर +

१८ वर्षमाथिका ५०० बालबिज्याइँकर्तालाई केन्द्रीय कारागार नुवाकोटको एउटा ब्लकमा .

१८ वर्षमाथिका ५०० बालबिज्याइँकर्तालाई केन्द्रीय कारागार नुवाकोटको एउटा ब्लकमा .
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नुवाकोट जिल्ला, विदुर-५ मा निर्माण भएको केन्द्रीय कारागारको एउटा ब्लकमा बालबिज्याइँकर्ता राख्ने निर्णय सरकारले गरेसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले कारागारको स्थलगत अवलोकन गर्नुभएको छ ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय कारागारको एउटा ब्लकमा राख्ने निर्णय गरेको थियो । १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई नुवाकोटमा निर्माण भएको कारागारको ब्लकमा राख्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रस्ताव गरेको थियो । सो प्रस्ताव मन्त्रिपरिषद्ले अनुमोदन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । अहिले सबै बालबिज्याइँकर्ता किशोर र बालबालिकालाई सँगै राखिन्छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले सो उमेरभन्दा माथिकालाई छुट्टै राख्नुपर्ने व्यवस्था गरेको छ । तर, भौतिक संरचना नहुँदा देशभर सँगै राख्ने गरिएको थियो । वयस्क बालबालिका र नाबालकलाई सँगै राख्दा बाल सुधारगृहमा झडपका घटना बढेपछि मन्त्रालयले छुट्याएर राख्नुपर्ने प्रस्ताव गरेको थियो ।

यसअघिको मन्त्रिपरिषद्को निर्णयअनुसार बाँके जिल्लाको नौबस्ता कारागारको ब्लकमा १८ वर्ष माथिका बालबालिकालाई राख्न थालिएको छ । विराटनगर-३ स्थित बाल सुधार केन्द्रको क्षमता ५० जना भए पनि हाल दुई सय ५४ बालबिज्याइँकर्ता राखिएका छन् । क्षमताभन्दा पाँच गुणा बढी बालबिज्याइँकर्तालाई एउटै संरचनामा राख्नुपर्दा सुधारगृहको दैनिकी अस्तव्यस्त बनिरहेको छ । आवास, सुरक्षा, पुनस्र्थापना, मनोसामाजिक परामर्शदेखि आधारभूत सरसफाइसम्मका विषय गम्भीर समस्याका रूपमा देखापरेका छन् । अदालतको आदेश र फैसलाअनुसार कानुनी विवादमा मुछिएका बालकलाई सुधारगृहमा राख्ने गरिन्छ । तर, बालबिज्याइँकर्ताको चापले सुधारगृह थिचिएको छ जसको कारण कारागारमा अभाव र सङ्कट गहिरिँदै गएको छ । नुवाकोटको विदुरमा निर्माण भएको कारागारमा भक्तपुरको सानोठिमी र विराटनगरका बाल सुधारगृहका बालबिज्याइँकर्तालाई पठाउने तयार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जानकारी दिनुभयो ।

गृहमन्त्री अर्यालले नुवाकोटको केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधारगृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी भइरहेको स्थलगत अवलोकन क्रममा बताउनुभएको छ । मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले देशका विभिन्न बाल सुधारगृहमा रहेका र अवधि बाँकी रहेका बालबिज्याइँकर्तालाई राख्नका लागि नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको कुल चारवटा ब्लकमध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधारगृहको रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो । अवलोकनका क्रममा मन्त्री अर्यालले अब बालबिज्याइँकर्तालाई यहाँ खाली गरिएको बाल सुधारगृहमा छिट्टै स्थानान्तरण गरिने बताउनुभयो । सो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदीबन्दी र थुनुवासँग केहीबेर कुरा गर्दै उनीहरूको गुनासा र परेका समस्याबारे प्रत्यक्ष कुराकानी गरेर जानकारी लिनुभएको जिल्ला सुरक्षा समिति नुवाकोटका एक सदस्यले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । सोही क्रममा मन्त्री अर्यालले उनीहरूको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा-सुविधाबारे चासो राख्नुभएको थियो । यस्तै, अवलोकनपछि मन्त्री अर्यालले कैदीबन्दीको मानव अधिकारको उच्च ख्याल गर्दै कारागारभित्र हुने हरेक गतिविधि कानुनी र मानव अधिकारका दृष्टिकोणले मर्यादित हुनुपर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिनुभयो ।

निरीक्षणमा आएका मन्त्री अर्याललाई कैदीबन्दीका आफन्तले कारागारमा आफन्त भेट्न आउँदा कारागारसम्म पुग्ने सडकको पूर्वाधार निकै कमजोर भएको गुनासो गराएका थिए । उनीहरूको गुनासो सुनेपछि उहाँले भन्नुभयो, ‘यहाँको सडक पूर्वाधार छिट्टै सुधार गरिनेछ ।’ नुवाकोटमा स्थापना गरिने बाल सुधारगृहमा बढीमा पाँचसयजना बाल बालबिज्याइँकर्ता सहज तरिकाले राख्न सकिने क्षमता छ । नुवाकोटको तीनवटा ब्लकमा कात्तिक महिनाको मस्केबारीअनुसार आठ सय ७३ कैदीबन्दी र थुनुवा रहेका छन् भने खाली रहेको एउटा ब्लकमा बढीमा पाँच सय बालबिज्याइँ राख्ने सरकारको तयारी छ । देशका मुख्य गरी बाँकेको जयेन्दु बाल सुधारगृह, वीरगन्जको बिर्तास्थित बाल सुधारगृह र भक्तपुरको बाल सुधारगृहमा वेलावेलामा बालबिज्याइँकर्ताबिच झडप हुने गरेको छ । यसको मुख्य समस्याको रूपमा उनीहरूको बढ्दो उमेर नै रहेको सरोकारवालाको बुझाइ छ । हाल देशभर आठवटा सुधारगृह छन्, तीमध्ये चारवटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह