+
Search

ताजा अपडेट +

पपुलर +

विज्ञान प्रदर्शनी : नुवाकोटमा क्षेत्रपाल मावि

विज्ञान प्रदर्शनी : नुवाकोटमा क्षेत्रपाल मावि
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

त्रिशूली । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको सहयोगमा शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले आयोजना गरेको जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा क्षेत्रपाल मावि, लिखु-४ चौघडा पहिलो भएको छ । उक्त विद्यालयका विद्यार्थीले निर्माण गरेका विज्ञान सामग्री प्रदर्शनीमा उत्कृष्ट ठहरियो ।

त्रिभुवन त्रिशूली मावि, विदुर-१, त्रिशूलीपरिसरमा शुक्रबार सम्पन्न एकदिने विज्ञान प्रदर्शनीमा जिल्लाका १२ पालिकाबाट सिफारिस भएका १२ विद्यालयको सहभागिता रहने भनिए पनि तारकेश्वर गाउँपालिकाबाट सहभागिता रहेन । प्रदर्शनीमा पञ्चकन्या-१, बानियाँटारमा रहेको इन्द्रायणी प्राविधिक मावि द्वितीय र म्यागङ-३, गोगने देउरालीमा रहेको भूमेदेवी मावि तृतीय भएका समन्वय इकाइ नुवाकोटकी सम्झना थपलियाले जानकारी दिनुभयो । पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद रु.६ हजार, रु.पाँच हजार र रु. चार हजार प्रदान गरिएको थियो । गाउँपालिकाभित्र छनोट भएका विद्यालयको विज्ञान प्रदर्शनी गरिएको थियो । नुवाकोटका १२ पालिकामध्ये ११ पालिकाबाट छनोट भएका ११ विद्यालयका विद्यार्थी मात्र विज्ञान प्रदर्शनीमा सहभागी भएका थिए । उक्त कार्यक्रममा विद्यार्थीले निर्माण तथा तयार गरेका विज्ञान सामग्री प्रदर्शनीमा राखिएको थियो । सोही दिन त्रिभुवन त्रिशूली माविले भने खानाका परिकारसहित ३३ प्रकारका स्टल राखेको थियो । उक्त दिन खानाको परिकार एकैछिनमा सकिएको र डेढ लाख रुपैयाँभन्दा बढीको बिक्री भएको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताउनुभयो ।

त्यसैगरी, रसुवा जिल्लाका माध्यमिक विद्यालयस्तरीय एकदिने विज्ञान प्रदर्शनीमा नमुना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुल धुन्चे पहिलो भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ रसुवाकाको आयोजनामा पुस २ गते बुधबार सम्पन्न भएको प्रदर्शनीमा पाँचवटा पालिकाबाट छानिएर आएका पाँच विद्यालयको सहभागिता रहेको थियो । एकाइका सूचना अधिकारी जीवन दाहालका अनुसार प्रदर्शनीमा आमाछोदिङ्मो गाउँपालिकाबाट ग्रे मावि ग्रे, उत्तरगया गाउँपालिकाबाट नवविजयी महेन्द्र मावि भलायडाँडा, कालिका गाउँपालिकाबाट कालिका हिमालयन मावि कालिकास्थान, गोसाइँकुण्ड गाउँपालिकाबाट नमुना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुल धुन्चे, नौकुण्ड गाउँपालिकाबाट निर्कुभुमे मावि सहभागिता रहेको थियो । तीनजना निर्णायकमण्डलले पाँच विद्यालयले गरेका प्रदर्शन मूल्याङ्कन गर्नुभएको थियो । निर्णायकमण्डलले नमुना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुल पहिलो, कालिका हिमालयन मावि दोस्रो र नवविजयी महेन्द्र मावि तेस्रो भएको घोषणा गर्नुभएको थियो । तीनवटै विद्यालयलाई नगदसहित प्रशंसापत्र कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे र शिक्षा विकास निर्देशनालयका इन्जिनियर यसव खड्काले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो । उक्त पदर्शनीमा पहिलो हुने विद्यालय प्रदेशस्तरीय प्रदर्शनीमा भाग लिन पाउने इकाइका इकाइ प्रमुख दुर्गा सिलवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह