+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा सेयर सदस्य वृद्धि

त्रिशूलीमा सेयर सदस्य वृद्धि
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

त्रिशूलीबजार । नुवाकोट जिल्लाभर कार्यक्षेत्र रहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्थामा सेयर सदस्य वृद्धि भएको छ । आव २०८०/०८१ मा भन्दा आव २०८१/०८२ मा ४३ सेयर सदस्य थपिएको शनिबार सम्पन्न २५औँ वार्षिक साधारणसभामा जानकारी गराइएको थियो ।

विसं २०५६ पुस ९ गते विदुर-१, त्रिशूलीबजारमा कार्यालय सञ्चालन गरेको सहकारीमा गत आवको असार मसान्तसम्म महिला पाँच सय ७५, पुरुष १२ सय ५२, संस्थागत २५ गरी एक हजार आठ सय ५२ सेयर सदस्य रहेका छन् । यो सेयर सङ्ख्या अघिल्लो आवको भन्दा गत आवमा २.३७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष रु.चार करोड १७ लाख ९७ हजार चार सय सेयरपुँजी रहेको सहकारीमा गत वर्ष रु.तीन लाख चार हजार थप, रु.एक लाख ४८ हजार ६ सय फिर्ता हुँदा रु.चार करोड १९ लाख ५२ हजार आठ सय सेयरपुँजी रहेको छ । अघिल्लो वर्षको तुलनामा ०.७३ प्रतिशत सेयरपुँजी वृद्धि भएको छ । सहकारीको स्थिरपुँजी अघिल्लो वर्षको अन्त्यसम्ममा रु. ५७ लाख ९९ हजार एक सय ६७ थियो भने गत वर्षको अन्त्यसम्ममा रु.५४ लाख ५७ हजार एक सय ५१ रह्यो । सहकारीको कुल आम्दानी गत वर्ष रु.चार करोड ६३ लाख ६७ हजार आठ सय ७८ थियो भने कुल खर्च रु.चार करोड ५७ लाख १७ हजार चार सय ७९ भएको छ । गत आवको अन्त्यसम्ममा रु.३४ करोड ४० लाख ५० हजार ६ सय ९५ ऋण लगानी र ऋणीको सङ्ख्या तीन सय ९८ रहेको छ ।

अध्यक्ष हरिलाल श्रेष्ठको सभापतित्वमा जिल्ला सहकारी सङ्घका अध्यक्ष शिव अधिकारीले उद्घाटन गर्नुभएको साधारणसभामा नुवाकोट बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष नारायण श्रेष्ठ, नुवाकोट जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष इन्द्रमणि गैरेलगायतको उपस्थितिमा ७१ वर्ष नाघेका सेयर सदस्यलाई नगद रु.पाँच हजार पाँच सय र लौरोसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित हुनेमा नाथलाल डङ्गोल, सुमित्रा अमात्य, दुर्गादेवी खड्गे, पुण्यबहादुर भण्डारी, सूर्यबहादुर गुरुङ रहनुभएको छ । सहकारीले हरेक वर्ष ज्येष्ठ नागरिक सेयर सदस्यलाई सम्मान गर्दै आएको छ । यस वर्षको समेत गरी सहकारीले ९६ जना ज्येष्ठ सेयर सदस्यलाई सम्मानित गरिसकेको छ । सहकारीले विगत वर्षदेखि दिँदै आएको छात्रवृत्तिलाई यस वर्ष पनि निरन्तरता दिएको छ । यस वर्ष त्रिभुवन त्रिशूली बहुमुखी कलेजमा अध्ययनरत सुशान्तसिंह बिएड पहिलो वर्ष र युसिवा तामाङ बिबिएस दोस्रो वर्र्षका विद्यार्थीलाई रु.१२ हजार ६ सय, पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सुजन डङ्गोल र शोभा श्रेष्ठलाई रु.सात हजार पाँच सय छात्रवृत्ति रकम सो अवसरमा प्रदान गरिएको उपाध्यक्ष राजेन्द्र अमात्यले जानकारी दिनुभयो ।

त्यसैगरी, बेलकोटगढी नगरपालिकाको सिफारिसमा सामुदायिक विद्यालयमध्येबाट जेहेन्दार विद्यार्थी लक्ष्मीश्वरी मावि बेलकोटगढी नपा-३, कुमरीका राजेश पुडासैनी र महादेव मावि बेलकोटगढी नपा-७ की मनीषा तामाङलाई रु.पाँच हजार पाँच सय पाँच नगद रकम प्रदान गरिएको थियो । सो सभामा सेयर सदस्यका छोराछोरीमध्ये गत वर्षको एसइईमा उत्कृष्ट अङ्क ल्याउने छात्रा अमृता श्रेष्ठ, सेयर सदस्यद्वय राजनमान श्रेष्ठ र सविना राजभण्डारीकी छोरी र छात्रतर्फ सुजन डङ्गोल सेयर सदस्य सन्तमाया श्रेष्ठको छोरालाई नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह