+
Search

ताजा अपडेट +

पपुलर +

सकसमा रसुवागढी नाका

सकसमा रसुवागढी नाका
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

गत असार २४ देखि ठप्प रसुवागढी नाका सञ्चालनको प्रयास भइरहेको छ । चीन-नेपाल सामान आयात-निर्यात हुने प्रमुख स्थलमार्ग रसुवागढीस्थित मितेरी पुल बगाएको साढे पाँच महिना भएको छ । पुल बगेपछि चीन सरकारले सोही स्थानमा बेलिब्रिज निर्माण सुरु गरेको पनि पाँच महिना पुगिसकेको छ ।

विकट भूगोल र पूर्वानुमान गरिएभन्दा असहज किसिमको मौसमका कारण पुल समयमा निर्माण हुन सकेन । पुलसँगै नेपालतर्फको बाढीले बगाएको १६ किलोमिटर सडकमार्ग दुईतर्फी खुलाउन नेपाल सरकारलाई सास्ती भइरहेको छ । पुल बगेको स्थानमै बेलिब्रिज निर्माण गर्दागर्दै बगेपछि सोही स्थानभन्दा केही माथि अहिले पुल निर्माण भई प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । चीनसँगको स्थलमार्गबाट सबैभन्दा बढी आयात–निर्यात हुने रसुवागढीमा निर्मित पुलको क्षमता ४९ मेट्रिक टन रहेकाले सामान ल्याउन, लान समस्या नहुने बताइएको छ । पुल निर्माण भइसक्दा पनि नेपालतर्फ स्याफ्रुबेँसीदेखि गढीसम्म बाढीले नामोनिसान नरहने गरी बगाएको सडक पाँच महिनापछि एकतर्फी मात्र सञ्चालनमा आएको छ । सो सडकको साधारण मार्ग खोलेर सञ्चालनमा आए पनि मालवाहक ट्रक–कन्टेनर गुडाउन जोखिम रहेकाले पुल बने पनि सामान आयात–निर्यात तत्काल हुन नसक्ने अवस्था रहेको व्यवसायीले बताइरहेका छन् । सडकमार्ग सहज नहुँदासम्म नाका सञ्चालन भए पनि व्यावसायिक कारोबार नहुने अवस्था छ । गत आवको सोही अवधिमा रु.१५ अर्ब राजस्व उठाएको सो नाका साढे पाँच महिनादेखि ठप्प रहँदा राजस्व उठ्न सकेको छैन । चीनको लगानीमा स्याफ्रुबेँसी–रसुवागढी सडक दुई लेनको बनाउने गरी सन् २०१९ मा ठेक्का भए पनि अझै काम सुरु नहुँदा नाका सहज रूपमा सञ्चालन हुने अवस्था छैन । पाँच वर्षपछि बल्ल चिनियाँ ठेकेदार कार्यक्षेत्रमा फर्केकिएका छन् । सडक मर्मत गरी सञ्चालन गर्न अझै महिनौँ लाग्नेछ भने स्तरोन्नतिको काम छिटोमा दुई वर्ष लाग्न सक्ने भएकाले यो नाका सहज सञ्चालन गर्न अझै केही वर्ष कुर्नुपर्नेछ । सरकारले पटक–पटक प्राथमिकतामा नाकालाई राखेको भनिरहे पनि कार्यप्रगति सन्तोषजनक नदेखिँदा राज्यको अर्बौँ राजस्व गुमेको छ । यो नाकाबाट सामान आयात गर्दा छिटो र कम लागतमा आउने भएकाले व्यवसायीको पहिलो रोजाइमा विगतदेखि नै यो नाका पर्ने गरेको थियो ।

भन्सार विभागको विगतदेखिको तथ्याङ्कले रसुवागढी नाका नेपाल–चीनबिच सामान सबैभन्दा बढी आयात-निर्यात हुने प्रमुख व्यापारिक नाका प्रमाणित गरेको छ । झन्डै आधा वर्षदेखि पूर्ण रूपले नाका ठप्प रहँदा बजारमा दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, जुत्ता, शृङ्गारिक सामान, विद्युतीय सामग्री, विद्युतीय सवारीसाधन, सवारीसाधनका पार्टपुर्जा बजारमा महँगो भइरहेको छ । छिटो र ढुवानी लागत कम पर्ने हुँदा व्यापारीले यो नाकाबाट सामान आयात गर्दै आएका थिए । पुल बने पनि नेपालतर्फका पूर्वाधारको मजबुतीकरण, वैकल्पिक मार्गहरूको विकास र दु्रत पुनर्निर्माणमा सरकारले स्पष्ट कार्ययोजना ल्याउन जरुरी छ ।

रसुवागढी मात्र नभई अन्य नाकाको पनि पूर्वतयारीमा सरकारले ध्यान नदिँदा चीनसँगको आयात-निर्यात सधैँ असहज भइरहनेछ । तिब्बतको कैलाश मानसरोवर जाने नेपाली तथा विदेशीको रोजाइमा परेको रसुवागढी मार्ग गत असारको बाढीले ध्वस्त पार्दा नेपालको पर्यटन क्षेत्रमा पनि असर पुर्याएको छ । नेपाल-चीन व्यापारिक सम्बन्धमा रणनीतिक महत्त्व राख्ने केरुङ नाका बन्द हुँदा सरकार, व्यापारी र उपभोक्ता सबैलाई असर पारिरहेको छ । चीन र नेपालबिच सामान आयात-निर्यातका लागि पटक-पटक गरी चीन सरकारले रसुवागढीसहित १४ नाका सञ्चालन गरेको छ । नेपाल–चीनबिच सञ्चालनमा रहेका नाका मौसमबाट प्रभावित हुने कारणले वेलावेलामा विगतदेखि नै बन्द हुने र खुल्ने क्रम चलिरहेको थियो । चीनसँग जोडिएका नाका र नाकासम्म पुग्ने भरपर्दो सडकमार्गलगायत पूर्वाधार नहुँदा दुई देशबिचको व्यापार प्रभावित हुने गरेको छ । वर्षाका समयमा चीन–नेपालका दुवैतर्फ बाढीपहिरोको जोखिम धेरै छ । वर्षात् अवधिभरि सडक अवरुद्ध भइरहन्छ । हिउँदका समयमा भने चीनतर्फ धेरै हिउँ परेर ढुवानीमा समस्या हुँदै आएको छ ।

मितेरी पुल बगाएको ठाउँमा चीन सरकारको सहयोगमा बेलिब्रिज निर्माण भई प्राविधिक परीक्षण सम्पन्न भई आइतबारदेखि सञ्चालन हुने र नाका खुलेपनि सवारी साधन सञ्चालन पौष १७ गते (जनवरी १) देखि मात्र हुने तयारी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह