बट्टार । विदुर नगरपालिका-२, बट्टारमा सञ्चालन भइरहेको सौगात बचत तथा ऋण सहकारी संस्था लि.को कर्जा लगानी अघिल्लो आवमा भन्दा गत आवमा बढेको छ । सहकारीले आव २०८०/०८१ मा रू. आठ करोड ४१ लाख एक हजार तीन सय कर्जा लगानी गरेकोमा गत आव २०८१/०८२ मा वृद्धि भई रू.१० करोड ८९ लाख १३ हजार तीन सय पुगेको छ ।
सहकारीको आव २०८२ असार मसान्तसम्म सेयर सदस्य सात सय ४१ रहेको शनिबार १६औँ वार्षिक साधारणसभामा जानकारी गराइएको थियो । जिल्ला सहकारी सङ्घका अध्यक्ष शिवप्रसाद अधिकारीले उद्घाटन गर्नुभएको सभामा संस्थापक अध्यक्ष एवम् विदुर-९ का वडाध्यक्ष हरिराम भण्डारी, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् सञ्चार उद्यमी शरणउत्सुक सापकोटा, लेखापरीक्षक एवम् जनमुखी बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्रमणि गैरे, मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक माधवप्रसाद अधिकारीलगायतले सौगात सहकारी जिल्लाकै अब्बल सहकारी बनिरहेकोमा शुभकामना दिनुभएको थियो । सहकारीका अध्यक्ष रामप्रसाद अधिकारीले चालू आवमा कृषि क्षेत्रको प्रवद्र्धनका लागि सहुलियत ब्याजदरमा कर्जा लगानी गर्ने योजना रहेको सभामा जानकारी दिनुभयो । सहकारीले आव २०८१/०८२ मा रू.एक करोड ४७ लाख पाँच सय ८० आम्दानी गरी रू.एक करोड तीन लाख ४२ हजार तीन सय ६५ खर्च गरेको विवरण सभामा अध्यक्ष अधिकारीले प्रस्तुत गर्नुभएको थियो । सभामा अध्यक्षले प्रस्तुत गर्नुभएको आम्दानी बढाउने र खर्च घटाउने प्रस्ताव बृहत् छलफल गरी पारित भएको छ । लेखा समितिका संयोजक दीपकराज प्याकुरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्न सुझाव दिनुभयो । सो साधारणसभामा कोषाध्यक्ष रामप्रसाद रिमालले सहकारीको गत आव र अघिल्लो आवको आम्दानी र खर्चको विस्तृत विवरणसहित आव २०८२/०८३ मा अनुमानित आय-व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो । सहकारीको गत वर्ष सम्पन्न अधिवेशनबाट अध्यक्षमा रामप्रसाद अधिकारी, उपाध्यक्षमा सञ्जु तिमिल्सना, सचिवमा दीपकप्रसाद अधिकारी, कोषाध्यक्षमा रामप्रसाद रिमाल र सञ्चालक सदस्यमा रमादेवी न्यौपाने, केशवप्रसाद अधिकारी, कृष्णप्रसाद अधिकारी, रामजी भट्ट, नवराज कोइराला, रुकबहादुर ठकुरी हमाल, रमेश अधिकारी निर्वाचित हुनुभएको थियो । लेखा तथा सुपरिवेक्षण समितिका संयोजकमा दीपकप्रसाद प्याकुरेल र सदस्यमा किरण डङ्गोल, बन्दना रिमाल चयन हुनुभएको हो ।
माता मनकामनाको रू.साढे २८ लाख आम्दानी विदुर-१ ढुङ्गेमा विसं २०७० मा स्थापित माता मनकामना बचत तथा ऋण सहकारी संस्था लि. ले आव २०८१/०८२ मा ऋण लगानीबाट रू.२४ लाख ९० हजार तीन सय ३६ ब्याज आम्दानी गर्न सफल भएको छ । सहकारीले सोही वर्ष बैंकबाट रू.९३ हजार ७२ र अन्य आम्दानी रू.दुई लाख ६९ हजार चार सय ५७ सहित कुल रू.२८ लाख ५२ हजार आठ सय ६५ आम्दानी गरेको अध्यक्ष नवीनकृष्ण राजभण्डारीले अघिल्लो हप्ता सम्पन्न १२औँ वार्षिक साधारणसभामा जानकारी गराउनुभएको थियो । सहकारीले सेयरपुँजी रू.तीन करोड पुर्याउने नीति अघिल्लो वर्षको साधारणसभाबाट पारित गरेको भए पनि गत आव २०८२ असार मसान्तसम्म सेयरपुँजी रू.एक करोड २४ लाख ७५ हजार तीन सय पुर्याइएकोसमेत जानकारी गराइएको थियो । गत आवमा सहकारीको कारोबार रू.दुई करोड ९१ लाख चार हजार नौ सय २६ भएकोसमेत सभामा जानकारी गराइएको थियो । सहकारी ऐन, २०७४ को व्यवस्थाअनुसार राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभासम्बन्धी निर्देशनअनुसार साधारणसभा गत मङ्सिर १३ गते मितव्ययी ढङ्गले गरिएको सचिव अमरबहादुर कार्कीले बताउनुभयो । साधारणसभा सदस्यकै अधिकार प्रयोग गर्ने थलो हो, त्यहाँ गैरसदस्य बोलाउनु अनुशासनविपरीत हुने भएकोले यसपटक विगतमा जस्तो महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोज-भतेर नगरिएको सचिव कार्कीले बताउनुभयो ।






प्रतिक्रिया