+
Search

ताजा अपडेट +

पपुलर +

एमाले केन्द्रीय सदस्यमा निर्वाचित पाण्डे र ढुंगानालाई जिल्लामा सम्मान पत्रकार र पत्रकारिता टिकाउन माग

एमाले केन्द्रीय सदस्यमा निर्वाचित पाण्डे र ढुंगानालाई जिल्लामा सम्मान पत्रकार र पत्रकारिता टिकाउन माग
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट यसपटक बागमती भूगोलतर्फ निर्वाचित केशवराज पाण्डे र विन्दा ढुंगानालाई प्रेस चौतारी नेपाल नुवाकोट शाखाले सम्मान गरेको छ । शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । शाखाका अध्यक्ष श्रीराम नेपालको अध्यक्षता एवम् चौतारी केन्द्रीय सचिव विष्णु तारुकेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाको पत्रकारिताको विकास र पत्रकारले भोगिरहेका समस्या र समाधानका विषयमा अन्तक्रियासमेत भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका पूर्वाध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन बागमती प्रदेश समितिका सदस्य श्रीराम नेपाल, पत्रकार महासङ्घ नुवाकोटका उपाध्यक्ष जगदीश खनाल, प्रेस चौतारी नेपाल नुवाकोटका संस्थापक अध्यक्ष शरणउत्सुक सापकोटा र चौतारीका निवर्तमान अध्यक्ष नवदीप श्रेष्ठले पत्रकारिता पेसाबाट गुजारा नहुने भएकाले पत्रकारहरूले अन्य पेसा पनि गर्नुपर्ने बाध्यता रहेको जनाउँदै नुवाकोटमा पत्रकारिता नाजुक अवस्थामा रहेको बताउनुभयो । उहाँहरूले जिल्लामा दुई सय पत्रकार रहे पनि क्रियाशील भने करिब १० जनाजति मात्र रहेको जनाउँदै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन तथा सङ्घीयता कार्यान्वयनमा पत्रकारले साथ दिए पनि दलहरूले तिनलाई बिर्सेको गुनासो गर्नुभयो । उहाँहरूले पत्रकार र पत्रकारितालाई टिकाउन आग्रह गर्दै प्रत्येक पालिकाले विज्ञापनका नाममा रु.पाँच लाख विनियोजन गरे पनि चाकडी, चाप्लुसी गर्ने र भजन गाउने र गैरजिल्लाका पत्रकार प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखका गोजीका पत्रकारले मात्र रकम पाउने गरेको तथा आर्थिक गतिविधि सुस्त हुँदै गरेकाले विज्ञापनको बजार पनि घट्दै गएको गुनासो गर्नुभयो ।

सो अवसरमा सम्मानित बागमतीका पूर्वमन्त्री पाण्डे र महिला नेतृ ढुङ्गानाले अन्य दलहरू बाहिर ननिस्कँदा पनि एमालेले गणतान्त्रिक व्यवस्था जोगाउनकै लागि महाधिवेशन गरेको जनाउँदै आफूहरू सशक्त पत्रकारिताका पक्षमा रहेको स्पष्ट गर्नुभयो । उहाँहरूले पत्रकारहरूलाई पत्रकार र पत्रकारिता टिक्न, टिकाउनका लागि कार्यक्रमसहित स्थानीय तहसँग अन्तक्र्रिया गर्न आग्रह गर्नुभयो । विदुर-२ का वडाध्यक्ष दीपक कायस्थले समानुपातिक सूचना र विज्ञापनको व्यवस्था गर्नका लागि नगरपालिका बोर्डमा प्रस्ताव राखिने जानकारी दिनुभयो ।

गत बिहीबार सम्पन्न दलको महाधिवेशनमा उपाध्यक्षमा नुवाकोटका डा.विन्दा पाण्डे पराजित भए पनि केन्द्रीय सदस्यमा विजयी हुनुभयो भने विष्णुप्रसाद रिमाल उपमहासचिव र केस दुवैमा पराजित हुनुभयो । त्यस्तै, पूर्वसांसद नारायणप्रसाद खतिवडा, नीलकण्ठ आचार्य र उषाकिरण तिमिल्सना पनि केसमा पराजित हुनुभएको एमाले नुवाकोटका अध्यक्ष बद्रीप्रसाद मैनालीले जानकारी दिनुभयो । यसअगाडि चितवनमा भएको १०औँ महाधिवेशनमा केसमा तिमिल्सिना, ढुङ्गाना र पाण्डे चुनिनुभएको थियो । केन्द्रीय सदस्य खुल्लामा पराजित खतिवडाले ६ सय ३० मत, आचार्यले ६ सय पाँच मत, तिमल्सिनाले एक हजार ७५ मत र विजयी भएका पाण्डेले एक हजार पाँच सय ७१ मत, ढुङ्गानाले एक हजार आठ सय एक मत प्राप्त गर्नुभएको थियो । नुवाकोटकै भए पनि काठमाडौँकेन्द्रित पार्टी राजनीति गरिरहनुभएकी डा.विन्दा पाण्डे उपाध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले उपाध्यक्षमा नौ सय २१ मत र केन्द्रीय सदस्य खुल्लामा एक हजार २१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, विष्णुप्रसाद रिमाल उपमहासचिवमा एक हजार ९१ मत र केन्द्रीय सदस्यमा ६ सय ३० मत प्राप्त गरी पराजित हुनुभएको छ । नुवाकोटकै चेली रालुकामा जन्मनुभएकी रत्न गुरुङ राजधानी विशेष महिलामा सातजना प्रत्याशीमध्ये चारजनालाई पछि पार्दै केन्द्रीय सदस्यमा एक हजार पाँच सय ६० मत प्राप्त गरी विजयी हुनुभएको छ । अब जिल्लाबाट केन्द्रीय सदस्यमा चारजनाले प्रतिनिधित्व गर्नुहुनेछ ।

महाधिवेशनले अध्यक्ष पदमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । ओली एक हजार ६ सय ६३ मतसहित विजयी हुँदा उहाँका एक मात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा पाँच सय ६४ मत प्राप्त गर्नुभएको थियो । महाधिवेशनमा दुई समूहबाट प्रतिस्पर्धा हुँदा कुल १९ सदस्यीय पदाधिकारीमा ओली समूहका १७ र पोखरेल समूहबाट दुईजना विजयी हुनुभएको छ । पोखरेल पक्षका गोकर्णराज विष्ट उपाध्यक्ष र योगेशकुमार भट्टराई उपमहासचिव पदमा विजयी हुनुभएको छ । पाँच उपाध्यक्ष पदका लागि ११, महासचिव एकका लागि दुई, उपामहासचिव चारका लागि सात तथा नौ सचिवका लागि २० जनाले चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो । त्यसैगरी तीन सय एक केन्द्रीय सदस्यका लागि ६ सय २२ जना प्रतिस्पर्धामा थिए । निर्वाचनमा दुई हजार दुई सय ६३ मतदाता रहे पनि ३६ जना मतदानमा सहभागी नभएको निर्वाचनमण्डलले जनाएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह