+
Search

ताजा अपडेट +

पपुलर +

६ महिनापछि रसुवागढी नाका बिहीबारदेखि खुला

६ महिनापछि रसुवागढी नाका बिहीबारदेखि खुला
त्रिशूली प्रवाह
९ महिना अगाडी

धुन्चे । चीन-नेपाल जोड्ने ल्हेन्दे खोलाको पक्की पुल गत असारको बाढीले बगाएसँगै करिब ६ महिनादेखि रसुवागढी नाका ठप्प हुँदा व्यापारव्यवसाय, सरकारी राजश्व र स्थानीयवासीको रोजीरोटी गुमिरहेको थियो । बाढीले पक्की पुल बगाएपछि रसुवागढी नाका गत असार २४ गतेदेखि ठप्प थियो । गत २७ भदौबाट सुरू भएको बेलिब्रिज जडानको काम पूरा भएसँगै करिब ६ महिनापछि नाका सञ्चालन हुन लागेको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बन्द नाका चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै बिहीबारदेखि खुल्न लागेको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताउनुभयो । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रू.४० अर्ब १६ करोड राजश्व सङ्कलनको लक्ष्य राखे पनि नाका ठप्प रहेकाले उक्त लक्ष्य भेट्न नसक्ने भएको छ । ‘‘पुल तयार भएपछि बाढीअघि पारि फसेका मालबाहक सवारी साधन लिन आइतबार चालकलाई त्यसतर्फ जान दिइएको छ’’, प्रजिअ पन्थीले भन्नुभयो, ‘‘पारि अनुमानित दुई सयभन्दा बढी कन्टेनर छन्, जसमा केहीमा सामान छ, केही खाली छन् ।’’ बडादसैँका मुखमा नाका बन्द हुँदा विद्युतीय गाडी, फलफुल र लत्ताकपडा आउन सकेका थिएनन् । ‘‘नाका खोल्ने विषय दुई पक्ष बसेर गरिएको निर्णय होइन’’, पन्थीले भन्नुभयो, ‘‘उताबाट जनवरी १ (१७ पुस) देखि नाका खुलाइने जानकारी मात्र आएको छ ।’’ धेरैले नाका कहिले खुल्छ भनेर जिज्ञासा राख्न थालेपछि नाका खोल्ने जानकारीसहितको सूचना जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा समेत राखिसकिएको छ ।

Suzuki New Bike & Scooter

बाढीअघि रसुवागढीबाट दिनको सय हाराहारी कन्टेनर पारि जाने र त्यति नै सङ्ख्यामा सामान लिएर वारि आउने गर्थे । लामै समय नाका बन्द हुँदा स्थानीयवासीको रोजीरोटीसमेत गुमेको गोसाइँँकुण्ड-२ का वडाध्यक्ष कामीछिरिङ तामाङले बताउनुभयो । बाढीपछि नाका सुनसान छ । सो नाकाबाट तयारी वस्तु, स्याउलगायत फलफुल आयात हुन्थ्यो । धेरैजसो विद्युतीय सवारी साधन यही नाका हुँदै भित्रिन्थे । नाका बन्द भएपछि अहिलेसम्म (पुसको सहित) करिब रू.२१ अर्ब राजस्व गुमेको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले जनाउनुभयो । नाका बन्द भएपछि अन्य नाकाबाट थोरैको सङ्ख्यामा मालबाहक सवारी नेपाल भित्रिए पनि रसुवा नाकाको राजस्व सङ्कलनमा ठुलो प्रभाव नपारेको उहाँको भनाइ छ । नाका खुलेपछि उताबाट सामान बोकेका मालबाहक सवारी रसुवा भन्सारको यार्डमा आउने छन् । त्यसपछि भन्सार जाँच पास गरेर पठाइने छ ।

‘‘बेलिब्रिज एकतर्फी र साँघुरो छ, त्यसैले कन्टेनर पनि पहिलाकै सङ्ख्यामा आउने र त्यति नै सङ्ख्यामा उता पठाउन मिल्ने छैन’’, प्रमुख भट्टराईले भन्नुभयो, ‘‘पुलका कारण भारवहन क्षमता बढी भएका सवारी साधन पनि आउने छैनन् ।’’ रसुवागढी नाकादेखि स्याफ्रुबेँसीसम्म करिब १६ किलोमिटरमा गत असारमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर लामो समय सडक अवरूद्ध थियो जसले गर्दा अहिले पनि मालबाहक सवारी साधन ओहोरदोहोर गर्न समस्या छ । ठाउँ ठाउँमा ट्राफिक प्रहरी राख्नाको विकल्प छैन । सडक साँघुरो छ । उक्त सडकखण्डको काम चीन सरकारको अनुदानमा स्तरोन्नति गरिँदै छ । अहिले तत्कालका लागि भने ओहोरदोहोरमा कठिनाइ देखिएको छ । केही केही स्थानमा अझै सडक एकतर्फी सञ्चालनमा छ । पुसमा रसुवा भन्सारको रू.तिन अर्ब आठ करोड राजश्व सङ्कलनको लक्ष्य थियो । ‘‘पुस आधा महिना बितिसकेकाले लक्ष्य पूरा नहुने निश्चित छ’’, भट्टराईले भन्नुभयोे, ‘‘त्यसमाथि नाका खोल्नासाथ सामान आइहाल्ने र राजश्व सङ्कलन भइहाल्ने होइन । अब व्यवसायीले सामान आयात गर्न प्रतीतपत्र (एसलसी) खोल्नुपर्ने, चीनतर्फ गएर सामान लोड गर्नुपर्छ । त्यसैले पुससम्म खासै राजस्व उठ्ने देखिँदैन, माघदेखि मात्र सामान आउन थाल्छ । रसुवाबाट केरूङसम्म करिब २५ किमी पर्छ, त्यहाँसम्म चीनबाट सामान आउँछ ।’’ त्यसपछि केरूङ पुगेर नेपालबाट गएका मालबाहक सवारी साधनले सामान ल्याउने छन् । बाढीले बगाएको भोटेकोसी किनारको भन्सार क्षेत्र सफा गरेर करिब दुई सय कन्टेनर अट्ने बनाइएको प्रमुख भट्टराईले जनाउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह